प्रधानमन्त्री भएपछि प्रचण्डले फोक्सुण्डोका समस्या बिर्सनुभयो: निमा लामा
डोल्पा । फोक्सुण्डो तालको किनारमै एक घर छ । घरलाई होटेल पनि बनाइएको छ । सिजनको वेला ताल घुम्न जाने मान्छेहरु त्यही होटेलमा आश्रय लिन्छन् । ताल घुम्छन् । तस्वीरहरु लिन्छन् । टिकटक बनाउँछन् र फिर्छन् ।
होटेलका सञ्चालक हुन् निमा लामा ।
दुनैको सुलिगाडदेखि रेँची, छेक्पा हुँदै दुई दिन हिँडेर फोक्सुण्डो ताल पुगिन्छ । फोक्सुण्डो ताल पुग्नलाई हिँडेर जानुको विकल्प छैन । बीचमा रेँची वा छेक्पामा बास बस्नुपर्छ । अनिमात्रै ३६ सय उचाइको सुन्दर फोक्सुण्डो तालमा पुगिन्छ ।
तालको किनारमा सानो होटेल चलाएका निमा शे-फोक्सुण्डो गाउँपालिकाको वडा नं ८ का अध्यक्ष पनि हुन् । निमालाई होटेल चलाउनुभन्दा सकस आफ्ना वडाको नागरिकको प्रशासनिक काम सम्पन्न गर्नु छ ।
निमाको वडाबाट गाउँपालिकाको कार्यालय साल्दाङ पुग्नै दुई दिन लाग्छ । त्यो पनि घोडामा । फोक्सुण्डोबाट बिहानै घोडा चढ्यो भने ५२ सय मिटर उचाइको फूलबारी पास कटेर एक दिनमा बीचको शे गुम्बामा पुगिन्छ । त्यहाँबाट एक दिन हिँडेर साल्दाङ पुगिन्छ ।
निमा सुनाउँछन्, ‘जनप्रतिनिधि भएका कारण गाउँपालिकाको कार्यालय जानैपर्यो । वर्षमा दुईपटक जति कार्यालय पुग्छु । नत्र यहीबाटै जनतालाई सेवा दिने गरेको छु ।’
शे-फोक्सुण्डो गाउँपालिकाको सबैभन्दा ठूलो वडा निमाकै हो । जुन वडामा एक गाउँबाट अर्को गाउँ पुग्नै एक दिन हिँड्नुपर्छ । एक दिन हिँडेर दश वा बीस घर भएका गाउँहरुमा पुग्छन् निमा ।
वस्तीहरु पातलो भए पनि निमा आफ्नो वडामा पर्यटनको सम्भावना भने अचुक देख्छन् । एकतिर फोक्सुण्डो ताल छ, अर्कोतिर निमाको वडामा डोल्पाकै सबैभन्दा धेरै पाटनहरु छन् । जहाँ यार्चागुम्बाहरु पाइन्छन् । निमाको वडाका पेरिका पुवा, फूलबारी, सागात, सोताङ, नाउर्या, दाहिनीघाट, थेम्चा, बसुधा, चेजुङ जस्ता धेरै यार्चागुम्बा पाइने पाटनहरु हुन् ।
निमा सुनाउँछन्, ‘हामीले तालमा मात्रै पर्यटन देखिरहेका छौं । तर, यहाँका पाटनहरुमा झनै कति ठूलो पर्यटन छ । यहाँका स्थानीयसँगै यार्चा खोज्दै उचाइमा एड्भेन्चरस यात्रा गर्ने पर्यटकहरुका लागि यहाँका पाटन उपयुक्त गन्तव्य हुनसक्छ । त्यसका लागि राज्यले नै पहल चाहिँ गरिदिनुपर्छ ।’
माथिल्लो डोल्पाका अधिकांश मानिसहरु यार्चागुम्बाले नै जीविकोपार्जन गर्छन् । उनीहरु वार्षिक दुईदेखि तीन लाखको हाराहारीमा कमाउँछन् । त्यति कमाउनु भनेको उनीहरुको ६ देखि ७ महिनासम्मको खर्चको जुगाड हुनु हो ।
०००
पर्यटकका भरिया भएर १४-१५ वर्षको उमेरमै पर्यटन क्षेत्रमा प्रवेश गरेका निमाले लामो समयसम्म भाडामा याक लिएर पर्यटकहरुको सामान बोकाए । पछि आफैंले खच्चड लिए । लामो समयसम्म खच्चड पाले । अहिले पनि निमासित दुईतीन वटा खच्चड छन् ।
खच्चड व्यवसायपछि निमा यार्चा टिप्न जान थाले । यार्चाको व्यापार पनि गरे । सँगसँगै यार्चागुम्बा टिप्न जाने मान्छेहरुलाई सोलारको सहायताले फिल्महरु पनि देखाउन थाले ।
निमा ती दिन सम्झिँदै भन्छन्, ‘त्यसवेला हजारौं मान्छे यार्चा टिप्न जान्थे । उनीहरुलाई ३० रुपैयाँ लिएर फिल्म पनि देखाएँ । पछि भने अरुले पनि त्यही सिको गरेपछि मैले फिल्म देखाउन छाडें ।’
यार्चा टिप्न जानेहरु र हरेक पाटनलाई राम्रोसँग बुझेकै कारण त्यस क्षेत्रमा आफूले पर्यटनको सम्भावना प्रचुर देखेको निमा बताउँछन् । एड्भेन्चरस यात्रा गर्न चाहनेहरुले यात्रामात्रै नभएर आफूहरुको संस्कृति, जीवनशैलीलाई पनि नजिकबाट नियाल्न पाउने भएकाले पर्यटनको सम्भावना प्रचुर देख्छन् निमा । तर, पहल कसले गरिदिने ?
निमा भन्छन्, ‘नेपालमा कृषि र पर्यटनको सम्भावना धेरै भएको बताइन्छ । तर, यस्ता ठाउँहरुबारे सरकारलाई चासो नै छैन । सरकारले चासो लिने हो र लगानी गर्ने हो भने यहाँ धेरै नै सम्भावना छ ।’
सँगै निमाको वडाको अर्को आकर्षण हो, फोक्सुण्डो ताल ।
जहाँ पर्यटकहरुलाई दुईचार दिन रोक्न सकिने ठाउँहरु प्रशस्त रहे पनि राम्रोसँग प्रचार नभए जस्तो लाग्छ निमालाई । निमाहरु स्वयं तालको किनारको जग्गाको लालपुर्जा र मुआब्जालाई लिएर तनावमा छन् । राष्ट्रिय निकुञ्जले तालको दुई सय मिटर क्षेत्र लिएको छ ।
निकुञ्जले लिएको क्षेत्रको जग्गा निमालगायत रिग्मो गाउँका स्थानीयको हो । उनीहरुले २०५१ सालमै लालपुर्जा लिएका थिए । तर, अहिले निकुञ्जले लिएपछि उनीहरुले त्यहाँ खेतीसमेत गर्न पाएका छैनन् । आफूहरुलाई कि मुआब्जा वा अलि पर स्थानान्तरण गरिदिनुपर्ने उनीहरुको माग छ ।
०००
यावत समस्या र सम्भावनाका वाबजुद निमालाई फोक्सुण्डो क्षेत्रलाई लिएर दुईचार काम गर्न मन छ ।
पहिलो त सुलिगाडदेखि फोक्सुण्डोसम्मको बाटो एकदमै अप्ठ्यारो छ । जुन बाटोमा दुनैबाट आफ्नो घर साल्दाङ फिर्दै गर्दा चर्चित अभिनेता थिन्ले लोण्डुपको छेक्पामा घोडासँगै लडेर २०७३ सालमा मृत्यु भएको थियो । थिन्ले चर्चित फिल्म ‘क्याराभान’का मुख्य अभिनेता थिए ।
त्यस बाटोमा रेलिङ हाल्न मन छ निमालाई । तर, निमाले वडामा पाउने बजेटले रेलिङ हाल्न सम्भव छैन । केही समयअघि पर्यटन मन्त्रालयले ५० करोड बजेट छुट्याएको पनि थियो । तर, राष्ट्रिय निकुञ्जको क्षेत्र परेकाले ईआईए गर्नुपर्दा समस्या आइपर्यो । अन्ततः त्यो बजेट यत्तिकै फ्रिज भयो । अघिल्लो वर्ष पनि नौ करोड बजेट छुट्याएको थियो । त्यो पनि ईआईएकै कारण फ्रिज भयो ।
निमा सुनाउँछन्, ‘हाम्रो बाटो एकदमै अप्ठेरो छ । रेलिङ हाल्न पाए हुन्थ्यो । बजेट पनि छुट्टिएको थियो । तर, राष्ट्रिय निकुञ्जमा ईआईएको समस्याले बजेट रोकियो । यसबारे सबै सरोकारवालाहरुले गम्भीरताका साथ हेरिदिए कति गज्जब हुने थियो ।’
निमाहरु दुनैबाट फोक्सुण्डोसम्म सडक चाहिँ नपुर्याउने मनसायमा छन् । मुस्ताङमा सडक पुगेपछि त्यहाँको पर्यटनमा आएको सुस्ततालाई राम्रोसँग नियालेकाले आफूहरुले फोक्सुण्डोमा पर्यटनलाई जीवित राख्न सडक नल्याउने मनसाय बनाएको निमाको भनाइ छ ।
निमा भन्छन्, ‘सबैले नल्याउनु भनेर भनिरहेका छन् । पहिला यहीसम्मै ल्याउने पहल भएको थियो । तर, गाउँलेहरुकै सामूहिक निर्णयमा त्यो योजना रोकियो । किनभने सडक आएर भन्दा सडक नआएका कारण यहाँको पर्यटन झनै फैलिन्छ भनेर स्थानीय जनताले बुझिसकेका छन् ।’
बाटोमा रेलिङ लगाउनुपर्ने तड्कारो काम देखेका छन् निमाले । सँगै नेटवर्कको काम पनि फत्ते गर्न पाए धेरै पर्यटकलाई आकर्षित गर्न सकिने उनको बुझाइ छ । फोक्सुण्डोमै राम्रोसँग फोनको नेटवर्क टिप्दैन । राम्रोसँग डेटा चल्ने कुरा त अलग भयो । सुलिगाडबाट रेँचो, छेक्पा पुगेपछि त कुनै किसिमको फोन नै लाग्दैन । त्यता कतै पर्यटक बिरामी भए भने ठूलो समस्या आइपर्छ ।
निमा गुनासो गर्छन्, ‘काठमाडौंमा फोर जी चल्दै गर्दा हाम्रोमा डेटा नै नचल्नु भनेको त हामीलाई विकटका भनेर हेपेको हो । पहिला पनि भोटे जाति भनेर हेप्थे । अहिले पनि हेप्छन् ।’
केही वर्षअघि प्रधानमन्त्री प्रचण्ड, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेतलगायत फोक्सुण्डो पुगेका थिए । उनीहरु निमाकै होटेलमा पनि बसेका थिए ।
निमा सुनाउँछन्, ‘मैले बाटो र नेटवर्कको विषयमा प्रचण्डलाई भनेको थिएँ । यहाँका समस्याहरु सबै बताएको थिएँ । उहाँले हुन्छ हुन्छ पनि भन्नुभएको थियो । तर, फोक्सुण्डो छाडेपछि बिर्सनुभयो । प्रधानमन्त्री भएपछि झनै हामी जस्ताले भेट्नै गाह्रो भयो ।’