पोखरामा केपी ओली कप क्रिकेट प्रतियोगिता हुँदै, विजेतालाई ५ लाख
पोखरा । पोखरामा केपी ओली कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोटर्स एकेडेमी केन्द्रीय कमिटीको आयोजनामा मंसिर ६ देखि १६ गतेसम्म पोखरा रंगशालामा क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
आयोजक मदन भण्डारी स्पोटर्स एकेडेमीले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता हुन लागेको जानकारी गराएको हो । प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको एक गरी ११ टिमको सहभागिता हुने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।
प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । आइसिसीको नियम अनुसार खेलाइने प्रतियोगितामा ७७ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
२०६६ मा स्थापना भएको एकेडेमीले खेल पर्यटनलाई आधार बनाई उत्पादन रोजगार र समृद्धिको यात्रामा जोड दिएको उनले सुनाए । एकेडेमीका संरक्षकको रुपमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली छन् । प्रतियोगितामा अन्डर १९ लाई प्राथमिकता दिइने एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले जानकारी दिए । ‘नयाँ पुस्ता र राष्ट्रिय स्तरमा प्लेटफर्म नपाएका खेलाडीलाई प्राथमिकता दिन्छौँ’, उनले भने ।