विश्व मुटु दिवसः मुटु रोगबाट बच्न यस्ता छन् डाक्टरका सुझाव – Nepal Press

विश्व मुटु दिवसः मुटु रोगबाट बच्न यस्ता छन् डाक्टरका सुझाव

रुपन्देही । व्यक्ति स्वयम् सचेत भएमा मात्र मुटु रोगबाट बच्न सकिने सरोकारवालाले सुझाएका छन् । विश्व मुटु दिवस-२०२३ को सन्दर्भमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले आयोजना गरेको कार्यक्रममा सहभागीहरूले खानपिन र शारीरिक व्यायाममा ध्यान दिनसकेमा मुटु रोग लाग्नबाट बच्न सकिने बताएका हुन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले सबै उमेर समूहका व्यक्तिहरूमा मुटुरोगको जोखिम भएको बताए । उनले महिलामा भन्दा पुरुषमा मुटुरोगको समस्या धेरै देखिने गरेको तथ्यांकले देखाएको बताए । उच्च रक्तचाप र मधुमेहको नियन्त्रण, शारीरिक अभ्यास, तनाव गर्ने, मोटोपन, धूमपान, मद्यपान नियन्त्रण गरी मुटु रोगबाट हुने अकाल मृत्युबाट बच्न सकिने डा. गौतमको सुझाव छ ।

नेपालमा पनि युवा अवस्थामै मुटु रोग देखापर्ने क्रम बढेकाले यसबाट हुने हृदयघात, पक्षघात तथा मिर्गौला खराब हुनबाट जोगिनका लागि दैनिक ३० मिनेटदेखि १ घण्टासम्म हिँडडुल गर्ने, हरियो सागपात, फलफूल खाने, धुवाँधुलोबाट जोगिन र धूमपान, मद्यपान प्रयोग नगर्न उनको आग्रह छ । गौतमबुद्ध मुटु अस्पतालका निर्देशक डा. गौतमले हृदयघातका बारेमा व्यापक जनचेतना जगाउन आवश्यक रहेको बताए ।

लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेयले प्रदेश सरकारले अस्पताललाई दिने अनुदान रकम तत्काल उपलबध गराउन आफूले पहल गर्ने बताए । साथै उनले तिलोत्तमामा अस्पतालको नयाँ भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन पनि पहल गर्ने प्रतिबद्धतासमेत जनाए। गृहमन्त्री पाण्डेयले मुटु अस्पताललाई थप व्यवस्थित गरी सञ्चालन गर्नका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।

लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले मुटु अस्पताललाई प्रदेशको गौरवको आयोजनाका रुपमा अघि बढाउनुपर्ने बताए । देशका अनावश्यक कानुनले गर्दा सुरु भएका आयोजनाहरु समयमा सम्पन्न हुन नसकेको उनको भनाइ थियो ।

कार्यक्रममा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले २०७० सालमा स्थापना भएको अस्पतालले स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेपनि सरकारी तहबाट आउने सहयोग रोकिएकोमा गुनासो गरे ।

अस्पतालमा ६ जना मुटुरोग विशेषज्ञ डाक्टरले सेवा दिइरहेको बताउँदै उनले काठमाडौं बाहिर यतिधेरै संख्यामा मुटुरोग विशेषज्ञ डाक्टर भएको पहिलो अस्पताल रहेको दाबी गरे । आगामी दिनमा अस्पतालको सेवालाई थप बिस्तार गर्दै गुणस्तरीय सेवा दिने प्रतिबद्धता उनले जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर