एमाले कोशीको अधिवेशन केहीबेरबाट, ओलीले रिमोटबाट उद्घाटन गर्ने – Nepal Press

एमाले कोशीको अधिवेशन केहीबेरबाट, ओलीले रिमोटबाट उद्घाटन गर्ने

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन केहीबेरमा सुरू हुँदैछ ।

प्रदेश अधिवेशन प्रचार-प्रसार उपसमितिका संयोजक एवं प्रदेश कमिटीका उपसचिव शैलेश लामाका अनुसार शुक्रबार अध्यक्ष ओलीले रिमोट थिचेर अधिवेशनको मूल ब्यानर उद्घाटन गर्ने छन् ।

अधिवेशनमा आएका प्रतिनिधिले पार्टी कार्यालय पाञ्चालीमा चहलपहल बढेको छ । अधिवेशनमा भूगोलबाट ९९७ प्रतिनिधि चुनिएका छन् । त्यसको ५ प्रतिशत मनोनीत हुने बताइएकोमा अहिलेसम्म टुंगो लागेको छैन ।

प्रदेश अधिवेशन सम्पन्न गर्न ४८७ सदस्यीय मूल आयोजक कमिटी र अन्तरगतका विभिन्न १२ वटा उपसमिति निर्माण भएका छन् ।

प्रतिनिधिको बास व्यवस्थापनका लागि विराटनगरको अतिथि सदन, मारवाडी सेवा सदन, विष्णुमाया पुस्तकालय, रमजानकी मन्दिर धर्मशाला, आरआरएन भवन र जैन भवनलगायतमा रहेको आवास स्थल र मध्यम स्तरका होटलका कोठा बुक गरिएको छ ।

विराटनगरको होटल मनास्लु इनमा हुने अधिवेशन अवधिमा सहभागीहरूलाई बिहानको खाना, दिउँसो चिया नास्ता र बेलुकाको खानाको व्यवस्थापन गरिएको छ । प्रतिनिधिहरूलाई अधिवेशनको तोकिएको दिन एक छाक माछा मासु पनि खुवाइने लामाले बताए ।

बन्द सत्रमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य शेरधन राई, वर्तमान मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की र प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष सुबोध प्याकुरेलको समूहले कोशीको आर्थिक र सामाजिक रूपान्तरण र समृद्धिको खाका प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रदेश अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टी सचिव एवं कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठको संयोजकत्वमा अनुगमन तथा निर्देशक समिति गठन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर