के मासु खानै हुँदैन, शास्त्रले के भन्छ ?
पृष्ठभूमि
सृष्टिको सुरुवातदेखि नै वा भनौं, मानव सभ्यताको सुरुवातदेखि नै मांसाहारी र शाकाहारीबीचको द्वन्द्व कायम नै छ । यो द्वन्द्वले संसारको हरेक क्षेत्र अनि धर्म र सम्प्रदायमा आघात पारेको कुरा सर्वविदितै छ । मांसाहार गर्नेहरूका आफ्नै तर्क छन् भने शाकाहार गर्नेहरूका आफ्नै । दुवै पक्षका तर्कहरू आआफ्ना स्थानमा सही होलान् । तर, यहाँ मांसाहार गर्ने प्रचलनमा नेपाली परम्परा र वैदिक शास्त्रहरूको मत के छ भन्नेबारेमा केही शास्त्रीय व्याख्या गरिनु आवश्यक देखिएकाले प्रस्तुत आलेखमा मांसाहारका शास्त्रीय प्रमाणसहितका कुरा उल्लेख गर्ने जमर्को गरिएको छ ।
मांसाहारको अर्थ
मांस र आहार दुई शब्द मिलेर मांसाहार बनेको छ । जसको सामान्य अर्थ हुन्छ- मासु खाने । त्यस्तै गरी मासु खाने तथा जीवन निर्वाहका क्रममा मासु भक्षण गर्नेलाई मांसाहारी भन्ने गरिन्छ । यसको ठीक उल्टो, मासु भक्षण नगर्ने तर सागपात आदिले जीवन निर्वाह गर्नेलाई शाकाहारी भन्न सकिन्छ ।
मांस भक्षणको परम्परा
संसारका हरेक धर्म अनि सम्प्रदायमा विभिन्न तवरले मांस भक्षण गर्ने परम्परा रहिआएको छ । धर्म, संस्कृति, रहनसहन, लोक परम्परा, शास्त्र आदिका मतले विविध पशुको मासु खाने चलन सर्वत्र छ । त्यस्तै पूर्वीय सभ्यतामा तोकिएको पशुको मात्रै वध गर्ने र त्यस पशुबाट प्राप्त हुने मासुलाई यथोचित विधिले भक्षण गर्ने परम्परा वैदिक कालदेखिकै रहेको बुझ्न सकिन्छ । कतिपय भारतीय ब्राह्मण तथा दार्शनिकहरू अनि वैष्णव आदिहरूले मासु खान हुँदैन भन्ने व्याख्या चलाएको र मासु खानु पाप हो भनेर भन्ने गरेको भए पनि त्यसलाई पूर्ण सत्य मान्न सक्ने अवस्था देखिँदैन ।
फलस्वरूप अधिकतम व्यक्तिहरू मांसाहारको विरोध गर्ने भएर निस्केका छन् भने मांसाहार गर्नेहरू पनि मांसाहार खराब हो तर, छोड्न नसकेको जस्ता अनेक तर्क गर्ने गर्छन् । वेद आदि शास्त्र हेर्दा भने मांसाहार यथोचित रहेको र मांसाहार गर्नुपर्ने जस्ता व्याख्या धेरै स्थानमा पाइन्छ । नेपाली परम्परा हेर्दासमेत विहित पशुको मासु खाने निकै लामो परम्परा रहेको छ । नेपालीहरूका कुलपूजामा विहित पशुको वध गर्ने र त्यसको मासु खाने परम्परा अझै पनि कायम छ भने कतिपय जातजातिभित्रमा श्राद्ध आदि कर्ममा समेत मासुको प्रयोग गर्ने चलन अझै पनि रहेको छ । त्यस्तै विवाहमा मासुको प्रयोग हुन्छ । बिहेपछि भोजस्वरूप जन्तेबाख्रो खुवाइने परम्परा अझै पनि छ ।
सामाजिक परम्पराका हिसाबले हेर्दा नेपाली सामाजिक, धार्मिक तथा सांस्कृतिक परम्परामा समेत मासुको प्रयोग हुने गरेको पाइन्छ । लामो समय हुने काम सकिएपछिको कामको मैजारो भनेर गरिने भोजमा समेत मासु खुवाउने चलन कायमै छ ।
पश्चिम नेपालतिर ग्रहशान्ति कर्ममा समेत बोका वा भेंडा काट्नुपर्ने चलन अद्यापि छ । श्राद्धमा पनि मासुको प्रयोग अद्यापि कतैकतै (राजधानीमै समेत) हुने गरेको पाइन्छ । श्राद्धमा मासुको प्रयोग नहुने परम्पराका क्षेत्रमा भने मासुको स्थानमा मासको प्रयोग हुने गरेको पाइन्छ । मासकै फुलौरालाई मासुको प्रतीकका रूपमा चढाउने गरिएको पनि हो । सामाजिक परम्पराका हिसाबले हेर्दा नेपाली सामाजिक, धार्मिक तथा सांस्कृतिक परम्परामा समेत मासुको प्रयोग हुने गरेको पाइन्छ । लामो समय हुने काम सकिएपछिको कामको मैजारो भनेर गरिने भोजमा समेत मासु खुवाउने चलन कायमै छ । यसरी मासुको प्रयोग नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक अनि परम्परागत हिसाबले चलिआएकै कुरा बुझ्न सकिन्छ । स्वदेशी उत्पादनले अपुग भएर मासु आयातको तथ्यांक हेर्दा पनि दिनानुदिन मांसहार गर्नेहरूको संख्या बढिरहेकै पाइन्छ ।
मांस भोजनका विषयमा वेद-वेदाङ्ग-वेदोपाङ्ग-स्मृति-पुराण-इतिहास आदिमा स्पष्ट व्यवस्थासमेत गरिएको पाइन्छ । वेद आदि शास्त्रले जे कुरालाई धर्म भन्छ, त्यही नै धर्म हो र जे कुरालाई अधर्म भनेर व्याख्या गर्छ, त्यही कुरा नै अधर्म हो भनेर वैदिक सभ्यतालाई मान्नेहरूले आत्मसात गर्ने गर्छन् । वेदले जे भने पनि त्यो राम्रो होइन र म त्यसलाई मान्नेछैन भन्ने जस्ता तर्कलाई वैदिक अनुयायीहरूले नास्तिक तर्कका रूपमा लिने गर्छन् । वेद आदि परम्परा र तदनुकूलको पुर्खाले अपनाउँदै आएको लोक परम्पराअनुसार चलिआएको हाम्रो समाजमा भक्ष्य पशुको वैध हिंसा गरेर प्राप्त भएको मासु खाने चलन छ र त्यस्ता चलनमा वेद आदि शास्त्रको सम्मति पनि रहेको बुझ्न सकिन्छ ।
वैध र अवैध हिंसा
वेद आदि शास्त्र र लोक परम्परा दुवैले सम्मति दिएको र मन्त्र संस्कारपूर्वक गरिने हिंसालाई वैध हिंसा भन्न सकिन्छ । वैध हिंसाबाट प्राप्त भएको पशु मांसलाई वैध मासु भन्न सकिन्छ भने वेद आदि शास्त्रले अनुमति नदिएको र लोक परम्पराले पनि अनुमति नदिएको, केवल स्वेच्छाले र स्वार्थपूर्तिका लागि गरिने पशुवधलाई अवैध हिंसा भनिन्छ । यस्तो अवैध तरिकाले हिंसा गरिएको पशुबाट प्राप्त भएको मासु अवैध मासु मानिन्छ । वैध हिंसा र वैध मासुका बारेमा शास्त्र आदिले वर्ण धर्मअनुसार, जाति धर्मअनुसार यथोचित मात्रामा तोकिदिएको छ । ब्राह्मणका लागि कुखुरा र सुँगुर-बंगुर आदि अभक्ष छन् भने तिनै पशुका मासु अन्य जाति वा धर्ममा ग्राह्य रहेको बुझ्न सकिन्छ ।
मांस भक्षणमा शास्त्र मत
वेदका मन्त्र संहिता, शतपथ ब्राह्मण आदि ब्राह्मणग्रन्थ र कात्यायनश्रौतसूत्र आदि श्रौतसूत्रहरूमा निरूढ़ पशुबन्ध अग्निष्टोम, सोमयाग इत्यादि यज्ञहरू गर्ने र ती यज्ञहरूमा छाग (बोका) आदि पशुको आलम्भन र विधिपूर्वक पशुका अङ्गहरू होम्ने स्पष्ट विधान नै छ । यज्ञमा याजमानले र ऋत्विकहरूले यज्ञमा हवन गरिएको त्यस्तो मासु वेदीभित्रै बसेर खानुपर्ने हुन्छ र यदि मासु नखाएमा विधिलोप हुन गई यज्ञ नै सिद्ध नहुने अवस्था आइपर्ने हुन्छ । त्यस्तै यज्ञमा उपयोग गरेर बाँकी रहेका मासु अरूले पनि खान हुन्छ भन्ने शास्त्र मत रहेको पाइन्छ । त्यस्तै गरेर प्राण संकटमा परेका बेलामा, श्राद्धमा, यज्ञमा प्रोक्षित गरिएकामा र अघ्र्य, आचार्य, अतिमित्र तथा ब्राह्मण आदिका इच्छाले तिनलाई खुवाइएमा तथा देवता र पितृलाई चढाएर मासु खाएमा दोष लाग्दैन भन्ने आशयका वचनहरू स्मृति-पुराण आदिमा पाइन्छन् ।
हिंसा र अहिंसाका सूक्ष्म विचारहरू उपनिषद् तथा महाभारत आदि ग्रन्थमा पनि पाइन्छन् । मांस भोजनका विषयमा महाभारतमा वन पर्वमा र वराह पुराणमा आएका धर्मव्याधको कथा पनि मननयोग्य नै छ । वनस्पतिहरूले पनि सुखदुःखको अनुभूति गर्ने र तिनमा पनि जीवन रहने कुरा अब विज्ञानसम्मत पनि भैसकेको अवस्था छ । आधुनिक वैज्ञानिकहरूले पनि विविध किसिमका यन्त्रहरूबाट यी कुराको प्रयोग देखाएका छन् । त्यसर्थ सर्वथा हिंसा नगरेर त प्राणीहरूको जीवन पनि निर्वाह हुन नसक्ने कुरा भागवतमा (१/१३/१६) मा पनि ‘जीवो जीवस्य जीवनम्’ भन्ने उक्तिले स्पष्ट पारेको छ ।
वैध हिंसा र वैध मासुका बारेमा शास्त्र आदिले वर्ण धर्मअनुसार, जाति धर्मअनुसार यथोचित मात्रामा तोकिदिएको छ । ब्राह्मणका लागि कुखुरा र सुँगुर-बंगुर आदि अभक्ष छन् भने तिनै पशुका मासु अन्य जाति वा धर्ममा ग्राह्य रहेको बुझ्न सकिन्छ ।
त्यस्तै गरेर मांसाहारसम्बन्धी शास्त्र मत हेर्दा मनुस्मृतिमा मांस भक्षणको प्रसङ्ग पाइन्छ ।
१) देव कार्य र पितृ कार्यमा प्रयुक्त हुने पोठिया र रोहु माछा, जुँघा भएका माछा तथा अधिक कत्लायुक्त सबै किसिमका माछा खान हुन्छ । -अध्याय ५/१७
२) पाँच नङ्ग्रा हुने प्राणीमध्येमा गोहोरो, गैंडा, शालक, दुम्सी र खरायोको मासु खान हुन्छ । त्यस्तै ऊँटलाई छाडेर मुखको अग्रभागमा एकातर्फ मात्रै दाँत हुने भेडा, बोका आदिको मासु खान हुन्छ । -५/१८
३) पालनपोषण गरिएका शास्त्रले अनुमति दिएका पशुपक्षीलाई पनि वध गरेर खान हुन्छ । परापूर्वकालमा अगस्त्य मुनिले पनि यस्तो कार्य गरेका थिए । -५/२२
४) वेदविहित यज्ञमा भक्ष्य रूपले रहेका मृगादि पशु तथा पक्षीको मासु खान हुन्छ । -५/२३
५) स्नेहयुक्त तरिकाले तयार गरिएका र विकाररहित मांस आदि भक्ष्य र भोज्य जति पनि पदार्थ छन्, ती सबै बासी भए पनि खान हुन्छ । देवतालाई अर्पण गरेर तयार गरिएको भोजन बासी भए पनि खान हुन्छ । -५/२५
६) प्रजापति ब्रह्माले सम्पूर्ण प्राणी जगतलाई प्राणको नै अन्न बनाएका छन् । स्थावर (धान, गहुँ , फलफूल आदि) र जंगम (पशुपक्षी आदि) लाई जीवको प्राणको आधार बनाइएको छ । अर्थात् ती भोज्य पदार्थ नै हुन् । -५/२८
७) चल्न सक्ने (भेंडा, बाख्रा, भैंसी आदि) प्राणीका लागि अचल प्राणी (घाँस, वृक्ष आदि) भोज्य हुन् भने नंग्रा र दाह्रा हुने (बाघ, चितुवा आदि) जीवका लागि नंग्रा र दाह्रारहित (मृग, भेंडा आदि) प्राणी भोज्य हुन् भने हात भएका (मनुष्य, बाँदर आदि) प्राणीका लागि हातरहित (पशुपक्षी, माछा तथा फलबीज आदि) भोज्य छन् भने शुरवीरका लागि भीरु जीव अन्न अर्थात् भोज्य छन् । -५/२९
८) किनेर वा स्वयंले मारेर वा कसैको दिएको मासु पनि देवतालाई अर्पण गरेर खाएमा दोष लाग्दैन । -५/३२
९) शास्त्र विधानबेगर मांस भक्षण गर्नुहुँदैन । अर्थात् शास्त्रोक्त तरिकाले मांस भक्षण गरेमा दोष लाग्दैन । -५/३३
१०) शास्त्रअनुकूल मासु नखानेले पशुयोनीमा जानुपर्ने हुन्छ । -५/३४
११) मन्त्रले संस्कार नगरिएको अर्थात् नपर्सिएको मासु कदापि खानुहुँदैन । तर, मन्त्रले संस्कार गरिएको मासु भने खानुपर्छ । -५/३६
१२) मांस भोजनमा आसक्ति रहेमा घृत पशु तथा पिष्ट पशुको मासु खानु तर यज्ञ आदिबेगर पशु हिंसाको चेष्टासम्म पनि नगर्नू । -५/३७
१३) ब्रह्माजी स्वयंले यज्ञका लागि पशुको सृष्टि गरेका हुन् । यज्ञ सम्पूर्ण जगतको कल्याणको लागि हो भने यज्ञमा हुने पशु हिंसालाई हिंसा भनिँदैन । -५/३९
१४) औषधि, पशु, वृक्ष, तिर्यक जीव तथा पक्षी पनि यज्ञका लागि मारिएमा उनीहरूको उन्नत गति हुन्छ । अर्थात् तदनन्तर उत्कृष्ट योनी प्राप्त गर्छन् । -५/४०
१५) यज्ञ, मधुपर्क, देव कर्म तथा पितृ कर्ममा पशुको हिंसा गर्नुपर्छ र कार्य सम्पन्न गर्नुपर्छ । तर, अन्य कर्ममा होइन । -५/४१
१६) जगतमा जो वेदविहित यज्ञ आदिमा विहित हिंसा छ, त्यो हिंसालाई अहिंसा नै भनिन्छ । किनकि धर्म के हो भन्ने कुरा वेदबाट नै प्रकाशित भएको छ । -५/४४
१७) निषेध नगरिएको मासु खानाले कुनै दोष हुँदैन । निषेध नगरिएको मासु खानाले पुण्यफल रुपी स्वर्ग प्राप्त हुन्छ । -५/५६
स्नेहयुक्त तरिकाले तयार गरिएका र विकाररहित मांस आदि भक्ष्य र भोज्य जति पनि पदार्थ छन्, ती सबै बासी भए पनि खान हुन्छ । देवतालाई अर्पण गरेर तयार गरिएको भोजन बासी भए पनि खान हुन्छ ।
त्यस्तै गौतम धर्मसूत्रमा पनि मांस भोजनको स्पष्ट व्यवस्था गरिएको पाइन्छ –
१) आफ्ना ठुडले ठुँगेर खाने, खुट्टाले भुईं खोस्रेर खाने, जालीदार खुट्टा नभएका पक्षीको मासु खान हुन्छ । -गौतम धर्मसूत्र, द्वितीय प्रश्न ८/३५
२) अविकृत (जसका स्वरूप बिग्रेको छैन) माछा पनि खान हुन्छ । -गौतम धर्मसूत्र, द्वितीय प्रश्न ८/३६
३) धर्म कार्यमा भक्ष्य पशुको वध गरेर सोको मासु खान हुन्छ । -गौतम धर्मसूत्र, द्वितीय प्रश्न ८/३७
४) शिकार गर्ने पशु (सिंह आदि)द्वारा मारिएका पशुपक्षी छन् र तिनमा कुनै किसिमको दोष छैन भने र वचनद्वारा पनि प्रशस्त पनि छन् भने त्यस्ता मासु पनि खान हुन्छ । -गौतम धर्मसूत्र, द्वितीय प्रश्न ८/३८
यसरी मांसाहार शास्त्रसम्मत रहनुका साथै लोक परम्परासम्मत पनि रहेको बुझ्न सकिन्छ । यति हुँदाहुँदै पनि मांसाहार गर्नेहरूलाई अनेकौं तर्क दिएर मांसाहार गर्नु अपराध नै हो, पाप कर्म नै हो भन्ने जस्तो आभास पर्न गएको देखिन्छ । त्यस्ता केही तर्क र तिनका उत्तर यहाँ दिने कोसिस गरिएको छ-
१) मासु खाने भइसकेपछि जेको मासु खाए पनि हुन्छ । यो पशुको मासु खान्छु र त्यो पशुको मासु खान्नँ भन्नु केवल ढोंगमात्रै हो ?
उत्तर: जसरी शाकाहारीले सागपात खाँदा तोकिएका सागपातमात्रै खान्छन् । कसैले पनि धतुरो साग वा नीम र बकाइनो आदिको सागपात खाने गरेको पाइँदैन । ठीक त्यसैगरी मांसाहार गर्नेहरूले पनि तोकिएको मासुमात्रै खाने हो । मासु खानुको अर्थ सर्वभक्षी हुनु होइन र सबै खाले पशुपक्षीको मासु पनि खाने गरिँदैन ।
२) वनस्पति आदि भक्षण गर्दा हिंसा हुन जाँदैन । तर, मांस भक्षण गर्दा जीव हिंसा हुन जान्छ ?
उत्तर: आध्यात्मिक तवरले हेर्दा हिंसाबेगर जीवनको निर्वाह नै सम्भव छैन । वनस्पति भक्षण गर्दा पनि हिंसा हुन जान्छ । वनस्पतिमा पनि चेतना हुने कुरा अब विज्ञानसम्मत भैसकेको छ । कसैको अङ्गछेदन गरेर भोजन गर्नु पनि हिंसा नै हुन जान्छ ।
३) सागलाई टिप्यो भने त्यो फेरि पलाउँछ । तर, प्राणीको हत्या गरेपछि फेरि पलाउन सक्दैन । के पशुको अङ्ग काट्यो भने फेरि आउँछ र ? आउँदैन नि । त्यसैले मांसाहार क्रूर कर्म हो ।
उत्तर: पलाउन त नङ र केश पनि पलाउने नै गर्छ । नङ र केशको भक्षण त कसैले पनि गर्दैन । मात्रामा थोरबहुत त अङ्ग पलाउने सबैको नै हुन्छ । शरीरका विभिन्न अङ्ग, जस्तैः नाकमा मासु पलाएको आदि त सुनिएकै हो । तर, त्यस्तो मासु पनि त खान अयोग्य नै हुन्छ । फेरि कतिपय वृक्षहरू यस्ता हुन्छन्, जो एकपटक काटेपछि पलाउँदैन । काटेपछि सबै वृक्ष पलाउने भए संसारमा वनविनाशका घटना नै हुने थिएन ।
प्रजापति ब्रह्माले सम्पूर्ण प्राणी जगतलाई प्राणको नै अन्न बनाएका छन् । स्थावर (धान, गहुँ , फलफूल आदि) र जंगम (पशुपक्षी आदि) लाई जीवको प्राणको आधार बनाइएको छ । अर्थात् ती भोज्य पदार्थ नै हुन् ।
४) एक रिपोर्टमा भनिएको छ- माछामासु नखाने हो भने अकालमा मृत्यु हुनेको संख्यामा ५१ लाख कमी आउनेछ । कार्बन उत्पादनका कारण पृथ्वीले जे असर भोगिरहेको छ, त्यसमा ७० प्रतिशतले कमी आउनेछ ।
उत्तरः माछामासु खानेहरूमात्रै अकालमा मर्छन् भन्नु केवल कुरामात्रै हो । संसारमा शुद्ध शाकाहारी रहेकाहरूले पनि अकाल मृत्युलाई प्राप्त गरेका छन् । पृथ्वीमा कार्बन उत्सर्जन केवल मासुका कारणले मात्रै भएको त छैन । कार्बन उत्सर्जन हुनुका अघि अन्य कारण पनि धेरै छन् । त्यसर्थ मासु खाँदामात्रै कार्बन उत्सर्जन हुने भन्ने कुरै रहँदैन ।
५) माछामासुमा उत्तेजन पदार्थ हुन्छ र माछामासु खाएमा मनको स्वरूप विकृत हुन्छ, जसले मनमा कुविचारहरू आउने गर्छ । त्यसैमाथि माछामासु पाक्न लामो समय लाग्छ । दीर्घपाकी भोजन पनि स्वास्थ्यका दृष्टिले हेर्दा राम्रो होइन ।
उत्तरः माछामासुमा उत्तेजन पदार्थ हुने र त्यसले मनमा विकार ल्याउने हो भने त संसारमा शाकाहारी भएका प्राणीहरूबाट कुनै पनि किसिमको विकृत विचार नआउनुपर्ने र उनीहरूबाट सुविचारै सुविचारहरूको महानदी नै बग्नुपर्ने हो । तर, त्यस्तो भएको देखिँदैन । साथै दीर्घपाकी भोजनले विकार ल्याउने हो भने कुराउनी, खीर आदि पाक्न पनि लामो समय लाग्छ । के ती खाद्यपदार्थहरू मासु जस्तै अखाद्य हुन् र ? होइनन् नि !
६) दुग्धादिको पान गर्दा त अङ्गछेदन गर्नुपर्दैन । त्यसर्थ दुग्धादिको पान गर्दा हुँदैन ।
उत्तरः दुग्धादिमा पनि अनेकौं ब्याक्टेरिया हुन्छन् । ती ब्याक्टेरियालाई हामी अग्निद्वारा मार्छौं र त्यसको पान गर्छौं । के ब्याक्टेरियाहरू चाहिं जीव होइनन् र ? उनीहरूको जीवन चाहि जीवन हुँदैन र ? अझ हावामा पनि कति धेरै कीटाणु हुन्छन् । ती कीटाणुलाई पान, भक्षण आदि गर्दा दोष लाग्दैन र ? हिंसा सर्वत्र छ र सिंगो सृष्टि नै हिंसाको आधारमा नै गुडेको छ । जीव नै जीवको आहारा हो ।
७) चेतनको मात्रा हेरेर जीवन निर्वाह गर्नुपर्छ नि ! वनस्पति आदिमा अति कम चेतन हुन्छ र तिनलाई नै खाएर जीवन निर्वाह गर्नुपर्छ ।
उत्तरः अतिकम चेतन त सुस्त मनस्थिति रहेका अन्य प्राणीमा पनि हुन्छ । त्यसो भए अतिकम चेतन भएका वा सुस्त मनस्थिति भएका सबै प्राणी भोज्य भए त ? अवश्यै भएनन् । त्यसर्थ चेतनको मात्रा कम वा बढी भएको भन्दैमा जथाभावी भक्षण गर्न त हुँदैन नै । यस्तै अवस्थाका लागि मांसाहारमा शास्त्र मत र लोक मत हेरेर गरिएको हुन्छ ।
८) मासु खाने खालको मानिसको शरीरको न संरचना छ न त उसको दाँत नै । त्यसैले मासु अभक्ष्य हो ।
उत्तरः मासु खाने खालको शरीरको संरचना नै नभएको भए आजसम्म मान्छेले कसरी मासु खाँदै आयो ? अर्को कुरा, मासु खाने खालको हाम्रो दाँत होइन भन्दैमा हामीले बिरालो वा बाघको दाँत पैंचो लिएर खाएका पनि होइनौं । त्यसर्थ, हाम्रो शरीरको संरचना उभयभोजी खालको रहेको बुझ्न सकिन्छ । मौका पर्दा हामी मासु पनि खान्छौं र मौका परेका बेलामा साग पनि खान्छौं ।
जसरी शाकाहारीले सागपात खाँदा तोकिएका सागपातमात्रै खान्छन् । कसैले पनि धतुरो साग वा नीम र बकाइनो आदिको सागपात खाने गरेको पाइँदैन । ठीक त्यसैगरी मांसाहार गर्नेहरूले पनि तोकिएको मासुमात्रै खाने हो । मासु खानुको अर्थ सर्वभक्षी हुनु होइन र सबै खाले पशुपक्षीको मासु पनि खाने गरिँदैन ।
९) हाम्रो देश त आध्यात्मिक देश हो । अहिंसा परमो धर्मः भन्ने सिद्धान्त पनि छ । त्यस हिसाबले पनि मांसाहार उचित भन्न त मिल्दैन ।
उत्तरः यही अहिंसा परमो धर्मः भन्ने सिद्धान्तले नै समस्यामा पारेको हो । अहिंसा भन्ने शब्दलाई केवल प्रत्यक्ष हिंसासँग मात्रै लगेर जोडिदिँदा समस्या भयो । वस्तुतः हिंसा कायिक (शरीर आदिमा प्रत्यक्ष हिंसा), वाचिक (वचन आदि द्वारा गरिने हिंसा) र मानसिक (मनले गरिने हिंसा) गरी तीन किसिमका हुन्छन् । तर, हिंसाका प्रकार र त्यसका व्याख्याका बारेमा जनमानसमा बुझाउन नसक्दा शाकाहारी र मांसाहारीका बीचमा द्वन्द्व बढ्न गएको हो । शास्त्र मत, लोक मत, संस्कार अनुकूल आफ्नो जीवन निर्वाह गर्न पाउनु सबैको अधिकारको कुरा हो ।
यस्ता अनेकौं तर्क हुन्छन्, जसले गर्दा मानौं, मांसाहार गर्नु पाप नै हो अथवा अपराध नै हो । तर, गहिरिएर हेर्दा, आध्यात्मिक हिसाबले पनि चिन्तन गर्दा मांसाहार र शाकाहारमा मात्राको तलमाथि भए पनि दुवैमा प्राणी हिंसा हुने गरेको पाइन्छ । आफ्नो रुचि र परम्परा अनि शास्त्रसम्मत हुने गरेर जीवन निर्वाह गर्नु सर्वोत्तम हुन्छ । कहींकतै कसैको निन्दा वा रुचि वा लोक परम्परामा आहत पर्ने हिसाबले शाकाहारमात्रै वा मांसाहारमात्रै ठीक हो भन्न मिल्दैन ।
निष्कर्ष
जस्तो खाना छ, उस्तै मन हुन्छ भन्ने पनि गरिन्छ । पक्कै पनि मनको निर्माणमा, विचारको निर्माणमा खानाको भूमिका निकै महत्त्वपूर्ण हुने गर्छ । तर, खाइएको खाना संस्कृत छ वा असंस्कृत छ ? त्यो कुरा मुख्य रूपले निर्भर रहने गर्छ । असंस्कृत अर्थात् संस्कार नपुगेको खाना छ भने त्यो खाना सात्विक वा राजस वा तामस जस्तोसुकै खालको भए पनि त्यसले मनमा विकार ल्याउने हुन्छ भने संस्कारपूर्वक तयार गरिएको र खाना खाने बेलामा पनि त्यसलाई संस्कार गरेर खान सकियो भने त्यस्तो खानाले मन सफा हुने र त्यसले विचारको निर्माणमा पनि सहयोग पुग्ने हुन्छ । जस्तोः हाम्रा ऋषिमुनिहरूले खानालाई मन्त्र संस्कार गरेर सबै प्राणीको पेटमा पुग्ने हिसाबले भोजन गर्थे । त्यही संस्कार हाम्रो परम्परामा पनि बसेको छ ।
ब्राह्मण आदिमा औसानी हालेर भोजन गर्ने संस्कारदेखि लिएर तागाधारी नरहेकामा औंलोले वा अन्य कुनै विधि गरेर भोजन गर्ने परम्परा नेपाली समाजमा अझ पनि कायम नै छ । विधिपूर्वक संस्कार गरिएको खानेकुरा खाँदा कुनै दोष लाग्दैन भन्ने शास्त्र प्रमाण छ । विधि पुग्ने गरेर संस्कार गरिएको वनस्पति-जीव आदिको भक्षण गर्दा हुन्छ । तर, संस्कार नगरिकनै वनस्पति-जीव आदिको पनि भक्षण गर्न हुँदैन र त्यस्तो भक्षण गरेमा दोष लाग्ने र प्रायश्चित्त गर्नुपर्ने शास्त्रीय विधान रहिआएको छ ।
Sahi ho gurudev
🕉️धान्यवाद 🙏🙏बहुत सुन्दर🌼🌿