प्रधानमन्त्री प्रचण्डको आठ दिने चीन भ्रमणको मैजारो : के लेखे चिनियाँ मिडियाले ?
बेइजिङ । आज आठ दिने चीन भ्रमणको मौजारो गरेर स्वदेश फर्किएका छन्, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । आठ दिन अगाडि न्यूयोर्कबाट उडेर हङकङ हुँदै हाङ्चौँ आएका प्रधानमन्त्री एसियाली खेलकुदको औपचारिक उद्घाटनमा सहभागी विदेशी सरकार प्रमुखहरूमा एक थिए । त्यो अगाडि उनले राष्ट्रपति सीसँग साइडलाइन वार्ता गरेका थिए ।
चचिआङ प्रान्तमा सी भेटेका प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २५ मा गार्ड अफ अनर पाएर चिनियाँ समकक्षी लिछिआङसँगको बेइजिङमा भेट गरे । सेप्टेम्बर २५ मे १२ सम्झौता र एक ‘लेटर अफ एक्सचेन्ज’ गरेर प्रचण्डको औपचारिक भ्रमणको मुख्य काम सकिएको थियो । उनको कैलाश पर्वतदेखि सिचुआन अनि आसापासको भ्रमणको खबर चीनका मुलधारका मिडियामा आएनन् । चीनमा आगमन, सीसँगको भेटदेखि चीनसँग भएका सम्झौताका समाचार भने भित्री पेजहरूमा समाचारका खुराक बने ।
प्रधानमन्त्री प्रचण्ड हाङ्चौँपुगेको खबर सिसिटिभीले प्रशारण गरेको थियो । ५६ सेकेन्डको भिडियो बनाएको थियो सिसिटिभी भिडियो न्यूज एजेन्सीले प्रशारण गरेको थियो । यस्तै पिलुल्स डेली, चाइना डेली, सिन्हुआदेखि सिजिटिएनले पनि उक्त समाचार प्रकाशन गरेका थिए ।
एसियाली खेलकुदको उद्घाटनका दिन इस्ट टिमोरका प्रधानमन्त्रीदेखि सिरियाका राष्ट्रपति हुँदै कुवेतका राजकुमार तथाकम्बोडियाका राजालगायतका अनुहारहरुको उपस्थिति थियो । त्यो अगाडि भएको साइडलाइन भेटमा सिले सबैसँग भेट गरेका थिए । त्यसमा एक प्रचण्ड थिए ।
सी र प्रचण्डको भेटको समाचार चिनियाँ मिडियाले कभर गरेका थिए । ग्लोबल टाइम्सले सिले नेपालको बिआरआईमा आएको साथमा तारिफ गरेकोदेखि चिनियाँ सहयोगमा पोखरा विमानस्थल बनेको भन्दै भारतले जस्तो चीनले नेपालाई दबाब र हस्तक्षेप नगर्ने उल्लेख गरेको थियो । यस्तै अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा पनि ग्लोबल टाइम्सले अमेरिकाको सहयोग नेपालको हितमा नभएर चीनलाई घेर्न भएको लेखेको छ ।
ग्लोबल टाइम्सले सेप्टेम्बर २६ मा पेज ८ र ९ मा प्रचण्डको अन्तर्वाता प्रकाशन गरेको थियो । अन्तर्वातामा प्रधानमन्त्रीले नेपालले बिआरआई लगायतका पुराना सम्झौताको कार्यान्वयन देखी नेपाल चीन रेलको बारेमा बोलेका थिए । उनले आफू समाजवादी भएको भन्दै माओवाद अझै सान्दर्भिक भएको बताएका थिए ।
सोही दिन चाइना डेलीको पेज तीनमा प्रचण्ड र चिनियाँ समकक्षीको भेटदेखि भएका कृषि, पर्यटनदेखि व्यापारका सम्झौता आदिका बारेमा उल्लेख गरेको थियो । नेपाल बिआरआईमा जोडिएको र नेपालको भूपरिवेष्टित देशलाई भू जडित बनाउन चीनले सहयोग गर्ने कुरा समाचार थिए ।
सेप्टेम्बर २७ मा ग्लोबल टाइम्सले नेपाल र चीनको कृषि क्षेत्रको साझेदारी बारेमा समाचार बनाएको थियो । नेपालले वार्षिक तीन करोड अमेरिकी डलरको पशु आहार ‘हाइलेज’चीन लान सक्ने भन्दै त्यसले नेपालको निर्यात दोब्बर हुने बताइएको छ ।
ग्लोबल टाइम्सको यो समाचार सँगै चीनकामुलधारका मिडियामा आएको कभरेज अन्त्य भएको थियो । चीनका अरू प्रान्तको भ्रमण पुग्दा त्यहाँका स्थानीय तथा प्रान्तीय मिडियाहरूले भने प्रधानमन्त्रीको समाचार बनाएका थिए ।