कर्णालीमा एमाले अधिवेशन : अन्तिम नामावली प्रकाशित, अध्यक्ष पदमा तीन जनाबीच प्रतिस्पर्धा
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । अन्तिम नामावली प्रकाशित भएसँगै अब मतदान प्रक्रिया अगाडि बढ्ने छ ।
दिउँसो १२ः३० बजेदेखि मतदान सुरु गर्ने कार्य तालिका रहेको थियो तर नामावली प्रकाशनमा ढिलाइ भएपछि मतदान ६ बजेपछि मात्रै हुने भनिएको छ ।
नामावली अनुसार अध्यक्षका लागि तीन जना, उपाध्यक्षका लागि तीन, सचिव दुई, उपसचिवका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
शुक्रवार अध्यक्ष पदका लागि उम्मेदवारी दिएका पाँच जना मध्ये दुई जनाले फिर्ता लिएका छन् । जसमा पूर्व सभामुख राजबहादुर शाही र कालिकोटका प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन् ।
अब भने कालिकोटका मीनबहादुर शाही, कालिकोटकै प्रकाश रोकाया र सल्यानका गुलाबजङ्ग शाहबीच कडा प्रतिस्पर्धा हुन भएको छ ।
यस्तै, सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीबीच प्रतिस्पर्धा हुने भएको छ ।
यसअघि सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डण्डीप्रसाद शर्माले सचिवमा रुद्रबहादुर शाहीलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रथम अधिवेशनबाट पाँच पदाधिकारी सहित एक सय ३५ सदस्य चयन गर्नेछ ।