एमाले कर्णाली अध्यक्षका लागि तीनजना प्रतिस्पर्धी, पदाधिकारीमा को-को मैदानमा ? (सूचीसहित)
सुर्खेत । नेकपा एमाले कर्णालीको नेतृत्व चयनका लागि बिहान ८ बजेबाट मतदानको तयारी छ । शनिबार साँझ ६ बजेबाटै मतदान प्रक्रिया सुरू गर्ने भनिए पनि तयारी भइनसकेको भन्दै आज बिहानलाई सारिएको थियो ।
प्रदेश अध्यक्षका लागि तीनजना, उपाध्यक्षका लागि तीन, सचिवमा दुई, उपसचिवका लागि तीनजनाबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि अध्यक्ष पदका लागि पाँचजनाको उम्मेदवारी परेकोमा राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन् ।
अब अध्यक्षमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटकै मीनबहादुर शाही मैदानमा छन् । तर, यहाँ गुलाबजंग र मीनबहादुरबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।
गुलाबजङ्गलाई यामलाल कंडेलले सघाएका छन् भने मीनबहादुरलाई गोरख बोगटी र विनोदकुमार शाहको साथ छ ।
अध्यक्षका दुई दाबेदार पदाधिकारीमा प्यानलसहित नै भिड्न लागेका हुन् ।
उपाध्यक्षमा टेकराज पछाई, दानसिंह परियार र लालबहादुर महताराबीच प्रतिस्पर्धा हुँदैछ । सचिवमा ध्रुवकुमार शाही र रुद्रबहादुर शाही खडा भएका छन् ।
पछाई गुलाबजङ्ग प्यानलबाट हुन् । लालबहादुर महतरा र दानसिंह परियार मीनबहादुरतर्फबाट हुन् । सचिवमा दैलेखका रुद्रबहादुर शाही गुलाबजङ्ग प्यानलबाट र सुर्खेतका ध्रुवकुमार शाही मीनबहादुरको प्यानलका हुन् ।