एसियन गेम्स क्रिकेटः नेपालको पदक सम्भावना कति ?
क्वाटरफाइनलमा टेस्ट राष्ट्रसँग खेल्दै नेपाल
काठमाडौं । एसियन गेम्सको पुरुष क्रिकेटतर्फ दुई कमजोर टीममाथि प्रभावशाली जित निकाल्दै नेपालले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । आज भएको खेलमा माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले हराउँदै नेपाल समूह विजेताका रुपमा क्वाटरफाइनल प्रवेश गरेको हो ।
पहिलो खेलमा नेपालले क्रिकेटको नवआगन्तुक मंगोलियाविरुद्ध विश्वकिर्तिमानी जित निकालेको थियो । माल्दिभ्सले भने पहिलो १२ ओभरसम्मा नेपाललाई दबाबमा राख्न सफल भयो । पछिल्ला ८ ओभरमा भने विष्फोटक ब्याटिङ गर्दै नेपालले विशाल स्कोर खडा गर्न सक्यो । बलिङतर्फ अविनाश बोहरा एक्लैले ६ विकेट लिएपछि माल्दिभ्स ७४ रनमा अलआउट भएको छ ।
क्वाटरफाइनलमा स्थान बनाए पनि सेमिफाइनल प्रवेशका लागि नेपालको प्रतिद्वन्द्वी तय भइसकेको छैन । नेपालले भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशमध्ये एउटा टीमसँग भिड्नुपर्ने हुन्छ । यी चारवटै टेस्ट मान्यताप्राप्त राष्ट्र हुन् । चारै देशले आफ्नो पहिलो रोजाइको टीम एसियन गेम्समा नपठाए तापनि बलियो टीम पठाएका छन् । त्यसैले नेपालका लागि क्वाटरफाइनलभन्दा अगाडिको यात्रा निकै चुनौतीपूर्ण छ ।
एसियन गेम्समा पुरुष क्रिकेटतर्फ १४ वटा राष्ट्र सहभागी छन् । तीमध्ये भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशलाई वरीयताका आधारमा सोझै क्वाटरफाइनलमा ल्याइएको हो । नेपालसहित ९ वटा देशलाई तीनवटा समूहमा बाँडेर प्रतिस्पर्धा गराइएको छ । समूह एमा नेपाल, मंगोलिया र माल्दिभ्स, समूह बीमा कम्बोडिया, हङकङ र जापान तथा समूह सीमा मलेसिया, सिंगापुर र थाइल्यान्ड रहेका छन् । एसियन गेम्समा अफगानिस्तान पनि सहभागी छ । अफगानिस्तानले एकैपटक क्वाटरफाइनल खेल्नेछ ।
समूह एका तीनवटै खेलहरु भइसकेपश्चात नेपाल समूह विजेता भएर क्वाटरफाइनलमा पुगेको हो । नेपालले मंगोलिया र माल्दिभ्सलाई हराएर पहिलो हुँदा माल्दिभ्सले मंगोलियालाई ९ विकेटले हराएर दोस्रो भयो ।
समूह बीको अन्तिम खेल हङकङ र जापानबीच आज हुँदैछ भने समूह सीको अन्तिम खेल थाइल्यान्ड र मलेसियाबीच भोलि हुनेछ । समूह बीबाट हङकङ र समूह सीबाट मलेसिया क्वाटरफाइनलका लागि छनोट हुने सम्भावना बलियो देखिन्छ । हङकङले पहिलो खेलमा कम्बोडियालाई ९ विकेटले पराजित गरेको थियो । यस्तै मलेसियाले पहिलो खेलमा सिंगापुरलाई ७३ रनले पराजित गरेको थियो ।
भोलि समूह चरणको सबै खेल सकिएपश्चात क्वाटरफाइनलका लागि ‘ड्र’ हुनेछ । समूह चरणबाट छनोट भएका तीन टीम र अफगानिस्तानले ड्र तानेर भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशमध्ये एक टीमसँग भिडन्त निश्चित गर्नेछन् ।
क्वाटरफाइनलको प्रतिस्पर्धा मंगलबारबाट सुरू हुनेछ । मंगलबार भारत र पाकिस्तानका दुई खेलहरु हुनेछन् भने बुधबार बंगलादेश र श्रीलंकाका खेलहरु हुनेछन् । चार खेलमा विजेता चार टिम सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनलका दुवै म्याच शुक्रबार राखिएको छ । विजयी टीमहरु स्वर्ण वा रजत पदकको सुनिश्चितता फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल शनिबार हुनेछ । यस्तै सेमिफाइलमा पराजित दुई टीमबीच शनिबारै तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । विजयी टीमले कास्य पदक प्राप्त गर्ने छ ।
नेपालले क्रिकेटमा उपाधि सुनिश्चित गर्न कम्तीमा सेमिफाइनलमा प्रवेश गर्नैपर्ने हुन्छ । क्वाटरफाइनलमा बलिया देशलाई पन्छाएर सेमिफाइनलमा स्थान बनाउनु नेपालका लागि फलामको च्यूरा हुन सक्छ । चारवटै टेस्ट राष्ट्रले पठाएका टीममा राष्ट्रिय टिमबाट खेलिसकेका थुप्रै खेलाडीहरू छन् ।