सन्दीपलाई पछि पार्दै अविनाश बने एकै खेलमा सर्वाधिक विकेट लिने नेपालका टी-२० बलर
काठमाडौं । नेपालका अविनाश बोहरा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सर्वाधिक विकेट लिने नेपाली बलर बनेका छन् ।
जारी एसियाली खेलकुदअन्तर्गत आइतबार माल्दिभ्सविरुद्ध ६ विकेट लिएर उनले सन्दीप लामिछानेको नाममा रहेको राष्ट्रिय कीर्तिमान तोडेका हुन् । सन्दीपले यसअघि ५ विकेट लिएका थिए ।
माल्दिभ्सविरुद्ध बोहराले ३.४ ओभरमा ११ रन खर्चिएका थिए । सन्दीपले यसअघि सन् २०२२ को अगस्टमा केन्याविरुद्ध चार ओभर बलिङ गर्दै ९ रन खर्चिएर ५ विकेट लिएका थिए ।
सोही वर्षको मार्चमा करन केसीले पपुआ न्युगिनीविरुद्ध ३.४ ओभरमा २१ रन खर्चिएर ५ विकेट हात पारेका थिए । पछि सन्दीपले इकोनोमीका आधारमा करनलाई पछाडि पारेका थिए ।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कम्तीमा ५ विकेट लिने यी तीनजनामात्र नेपाली बलर हुन् । अन्यले बढीमा ४ विकेटसम्म लिएका छन् । बोहराले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३८ खेल खेल्दै ४८ विकेट हात पारेका छन् । उनले यसअघि एकै खेलमा ४ विकेटसम्म लिएका थिए ।