बलबहादुरको जाँगर- जसलाई विदेशको दुःखले गाउँमा उद्यमी बनायो
ढोरपाटन (बागलुङ) । गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ । दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दै छ ।
बागलुङको काठेखोला गाउँपालिका-२ भीमापोखराका बलबहादुर केसी भने गाउँमै भविष्य देखेर व्यावसायिक बाख्रापालनमा व्यस्त छन् । उनी झण्डै १० वर्ष विदेशमा पसिना बगाएर घर फर्किएका हुन् ।
बलबहादुर भन्छन्, ‘जीवनको ऊर्जाशील समय विदेशमा बित्यो । अहिले आफ्नै गाउँठाउँ र पाखापखेरा प्यारो लाग्न थालेको छ ।’
बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म बाख्राको स्याहारसुसारमा देखिने केसीसँग १२ वर्ष साउदी अरबमा दुःख गरेको अनुभव छ । साउदीमा साहुको भेडा चराउने काम गरेका उनी अहिले आफैँ मालिक बनेका छन् ।
अनेक आवश्यकता र पारिवारिक जिम्मेवारीले सानै उमेरमा परदेशिनुपरेको केसीले सुनाए । अहिले धेरै युवाका लागि प्रेरणाको स्रोत बनेका छन् । गाउँमै थुप्रै सम्भावना देखेर घर फर्किएको बताउँछन् उनी ।
केसी भन्छन्, ‘पशुपालन होस् या व्यावसायिक तरकारी खेती युवाका लागि प्रसस्त आयआर्जनको स्रोत यही छ ।’
चार वर्षदेखि बाख्रापालनमा लागेका उनले गाउँमा गर्ने कामले आत्मसम्मान मिलेको अनुभव बाँड्छन् । उनले अब विदेश नजाने सोच बनाएको बताए ।
‘पहिले पारिवारिक आर्थिक अवस्थाका कारण विदेश गइयो, विदेशमा गरेको दुःख अहिले सम्झिँदा पनि आँसु झर्छ, आफ्नो गाउँघरमा गाईभैँसी, भेडाबाख्राको गोठालो गर्दा, खेती किसानी गर्दा सानो मान्छे भइने, इज्जत नहुने भन्ने सोच साउदी पुगेपछि फेरियो, अहिले मलाई त्यस्तो लाग्दैन, जहाँ भए पनि काम सानो ठूलो हुँदैन भन्ने लाग्छ’, बलबहादुर भन्छन्, ‘विदेश गएर केही सीप भने सिकियो, त्यहाँ सिकेको सीपले अहिले गाउँमा बाख्रापालनमा सजिलो भएको छ, अरु युवा पनि विदेशमा सीप सिकेर यहाँ आएर केही गरे हुन्थ्यो, अहिले त गाउँ सुनसान बन्न थाल्यो ।’
आधुनिक खोर बनाएर व्यावसायिक बाख्रापालन सुरू गरेका केसीसँग अहिले स्थानीय र बोयर जातका गरी ४५ वटा बाख्रा छन् । खोर निर्माण र बाख्रा खरिद गर्दा करिब १५ लाख लगानी गरेका छन् । अहि प्रतिगोटा २० देखि ३० हजारसम्ममा वार्षिक २० वटासम्म बोका बिक्री गर्दै आएको उनले बताए ।
बलबहादुरले ‘केसी कृषि तथा पशुपालन फार्म’ दर्ता गरेर सञ्चालन गरेका छन् । खसी बोका उत्पादन गर्नसके बजारको कुनै समस्या नभएको उनी सुनाउँछन् । कुनै पनि कामलाई सम्मान गर्नसके त्यसले जीवन जिउने कला सिकाउने केसी बताउँछन् । बाख्राको मल प्रयोग गर्ने गरी उनले तरकारी, गोलभेँडा खेती पनि सुरू गरेका छन् । वडा कार्यालय र गाउँपालिका कार्यालयले ५०/५० हजार अनुदानसमेत दिइसकेको छ । बाख्राको संख्या बढाएर २ सय पुर्याउने उनको लक्ष्य छ ।
केसी थप्छन्, ‘विदेशमा यहाँको भन्दा धेरै दुःख गर्नुपर्छ, मलाई विदेशले परिश्रमको महत्व बुझायो, गाउँको माटो चिनायो, त्यहाँ जति कमाए पनि इज्जत हुँदैन, गाउँमा परिवारसँग बस्न पाइएको छ, सञ्चो विसञ्चो हुँदा तातोपानी तताएर दिने, खाने दिने मान्छे साथमै हुन्छ, विदेशमा कसैले हेर्दैन, अहिलेका युवाले गाउँमै केही गर्नुपर्छ, यहाँ लगानी र परिश्रम गर्ने हो भने विदेशमा भन्दा बढी कमाउन सकिन्छ, राज्यले पनि सोहीअनुसारको वातावरण तयार गरी दिनुपर्छ, बजारलाई व्यवस्थापन गर्न सके यहाँ धेरै सम्भावना देखेको छु ।’
-रासस