एमाले गण्डकीको अधिवेशनमा लाखे नाच, महासचिव पोख्रेललाई कुर्दै
पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन सोमबार १२ बजेका लागि तोकिएको थियो । कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष केपि शर्मा ओलीले गर्ने तालिका थियो । पोखरामा बिहानै देखि सिमसिम पानी परिरहेको थियो ।
पानी परेका कारण केही समय ढिला गरी एमाले कार्यकर्ता जम्मा हुँदै गए । तर, मौसमका कारण उडान नभएपछि पार्टी अध्यक्ष ओलीसहितका नेता काठमाडौंमै छन् ।
ओलीलाई कुरेको एमालेले साढे १ घण्टा ढिलो गरि कार्यक्रम सुरु गर्यो । कार्यक्रममा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, पद्मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारीसहितका नेताले मन्तव्य राखे ।
तर, त्यतिबेलासम्म पनि ओली कार्यक्रम स्थलमा आइपुगिसकेका छैनन् । स्टेजमा बोल्ने बाँकी कोही नहुँदा अहिले लाखे नाच, विभिन्न झाकीहरु प्रस्तुत गरिएको छ ।
‘एमाले अध्यक्ष ओली आउने नआउने निश्चित छैन । महासचिव शंकर पोख्रेल आउदै हुनुहुन्छ । उहाँ आएपछि कार्यक्रम अगाडि बढ्छ।,’एक एमाले नेताले भने ।