गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रनवेको जग्गा दर्ता गर्नेलाई मुआब्जा दिन रोक
प्रशासनले मालपोत प्रमुखसँग माग्यो लिखित जवाफ
रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पौने ५ विगाह जग्गा आफ्नो नाममा दर्ता व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मुआब्जा वितरण गर्न रोक लगाएको छ । भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको रन वेमा पर्ने पौने ५ विगाह जग्गा आफ्नोे नाममा दर्ता गराएपछि मुआब्जाका लागि निवेदन दर्ता गरिएको थियो ।
नेपाल प्रेसले असोज ११ गते यस विषयमा सबै प्रमाण जुटाएर समाचार प्रकाशन गरेको थियो । भूमाफियाले मालपोत कार्यालय प्रमुख कुमार आचार्यसहितको कर्मचारीको सेटिङमा विमानस्थलको रनवे परेको जग्गा नै व्यक्तिको नाममा दर्ता गरिएको थियो । उक्त घटना सार्वजनिक भएपछि स्थानीयले जिल्ला प्रशासन र मालपोत कार्यालयमा धर्ना दिएका थिए ।
समाचार सार्वजनिक भएपछि विभिन्न राजनीतिक दल तथा सामाजिक संघसंस्थाले यस्तो गम्भीर अपराधमा जोडिएका व्यक्तिलाई तत्काल छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।
यससँगै विमानस्थलको मुआब्जा निर्धारण समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवेसहित विभिन्न स्थानमा रहेको ४ बिगाहा १६ कठा ७ धुर जग्गाको मुआब्जा नदिने निर्णय गरेको छ । समितिले मालपोत कार्यालयका प्रमुख आचार्यसँग विमानस्थलको जग्गा व्यक्तिको नाममा लालपुर्जा बनाउनु पर्ने विभिन्न दश आधारको लिखित जवाफसमेत मागेको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा सोमबार बसेको बैठकले विमानस्थल आयोजनाको लागि जग्गा प्राप्ति ऐनको दफा १३ बमोजिम गठित समितिको बैठकले तत्काल मुआब्जाको सबै निर्णय रोकेर छानबिन गर्ने निर्णय गरेको छ ।
बैठकमा मालपोत कार्यालयमा अधिकृत ऋषिराम पौडेल, सिनपाका प्रमुख कार्यकारी अधिकृत नवराज पौडेल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारी सहभागी थिए ।
बैठकले मुआब्जा/क्षतिपूर्ति माग गरी पेश भएको निवेदनमा उल्लेखित कित्ताका जग्गाहरु दर्ता गर्ने मालपोत कार्यालय भैरहवामा भएको निर्णयउपर जिल्ला प्रशासन, अख्तियारको समेत छानबिनमा रहेको, सरकारी जग्गा संरक्षणमा गम्भीर छानबिन र चासो रहेकाले त्यसरी व्यक्तिका नाममा दर्ता गरिएका आधार, निर्णय प्रक्रिया, अधिकार क्षेत्रको प्रया्ेग, फाइलमा संलग्न कागजात अध्ययन गरी अगाडि बढ्ने निर्णय गरेको छ ।
कसरी व्यक्तिकाे नाममा दर्ता गरियाे रनवेमा परेकाे जग्गा ?
फिल्डबुकमा कसैको पनि नाम उल्लेख नभएको विमानस्थलको रनवे परेको ४ बिगा १७ कठ्ठा ६ धुर जग्गा मालपोत कार्यालयका प्रमुख आचार्य र नायब सुब्बा अजित साहनीले २०८० वैशाख ८ गते पर्वतराज कान्त मिश्राको नाममा दर्ता गराएका थिए । त्यसपछि पर्वतराजले जग्गाको मुआब्जा पाउन गौतमबुद्ध विमानस्थल सुदृढीकरण कार्य आयोजना कार्यान्वयन इकाईमा निवेदन दिएपछि उक्त घटना बाहिर आएको थियो ।
प्राप्त कागजातअनुसार २०२१ सालमा भूमिसुधार ऐन लागू भएपछि तत्कालीन समयमा ७ नम्बर फाँटवारीमा सुर्जा मिश्राइनले ३० बिगा १४ कठ्ठा १४ धुर जग्गाको फाँटवारी भरेको देखिन्छ । यही फाँटवारीको अन्तिम महलमा हदबन्दीभन्दा बढी जग्गा भए राख्ने वा छाड्ने भन्नेमा करिब ४ बिगा जग्गा कालीजी (भगवान)लाई दान गरेको हुँदा छाड्ने उल्लेख छ ।
तत्कालीन जग्गाधनी सुर्जा मिश्राइनले कालीजीलाई दिएको ३० बिगामध्ये १३ बिगा १३ कठ्ठा ८ धुर मोहीमा परेको छ । त्यसमध्ये १० बिगा ६ कठ्ठा १९ धुर पर्वतराज कान्त मिश्राको नाममा गएको देखिन्छ । त्यसमध्ये ६ बिगा १ कठ्ठा ६ धुर जग्गा फिल्डबुकमा खाली रहेको छ ।
फिल्डबुकमा कसैको पनि नाम उल्लेख नभएको उक्त जग्गामध्ये ४ बिगा १७ कठ्ठा ६ धुर जग्गालाई मालपोत कार्यालयका प्रमुख आचार्य र नायब सुब्बा साहनीले २०८० वैशाख ८ गते पर्वतराजको नाममा दर्ता गराएका हुन् ।
मालपोत कार्यालयले पर्वतराजको नाममा दर्ता गराएको उक्त जग्गा जग्गाधनी सुर्जा मिश्राइनले कालीजीलाई दान गरेकाले कुनै पनि आधारमा व्यक्तिको हुनै नसक्ने स्थानीयको दाबी छ । सिद्धार्थनगर नगरपालिका- १० निवासी मिश्राले कालीजीलाई दान गरिएको जग्गालाई नै छुट कित्ता भन्दै मालपोत कार्यालय रुपन्देहीमा निवेदन दिएका थिए ।
मिश्राले दिएको निवेदनमा सरोकारवाला पक्षको रायसुझावविनै मालपोत कार्यालयले कालीजीलाई दान गरिएको ४ बिगा १७ कठ्ठा जग्गा उनको नाममा दर्ता गरेको थियो ।
मालपोत कार्यालय रुपन्देहीले भुजौली ९ (ख) को कित्ता नम्बर ७, ३२, ६७, ६८, ९२, ९४ र ९ (क) को कित्ता नम्बर २९ लाई मिश्राको नाममा दर्ता गरेको छ । मिश्राको नाममा रहेको ४ बिगा १७ कठ्ठाबाहेकको अन्य जग्गा विभिन्न समयमा बिक्री वितरण गरिएको छ ।
सुर्जा मिश्राइनको २०२५ साल माघ १८ गते मृत्यु भएको र उनी निःसन्तान भएका कारण उनको नजिकको हकदार को हो भन्नेमा लामो समयसम्म विवाद भएको थियो । विवाद लम्बिँदै गएपछि सर्वोच्च अदालतमा मुद्दासमेत परेको थियो । २०३६ साल जेठ १८ मा सर्वोच्चको फैसलाअनुसार नजिकको हकदारको रुपमा रमाकान्त मिश्रालाई तोकिएको थियो । जग्गा आफ्नो नाममा पार्ने पर्वतराज रमाकान्तका नाति हुन् । मिश्रा लामो समयदेखि भारतको गोरखपुरमा बस्दै आएका छन् ।
मालपोतले पर्वतराजको नाममा दर्ता गरेको जग्गाको विषयमा लामो समयदेखि अदालतमा मुद्दासमेत रहेको थियो । अदालतले यस विषयमा जग्गा पर्वतराजको नाममा दर्ता गर्नुपर्ने रायसहितको आदेश दिएको छैन ।
उच्च अदालत तुल्सीपुर, बुटवल इजलासका न्यायाधीश चन्द्रबहादुर सारु र किरण पौडेलको संयुक्त इजलासले रिट निवेदक पर्वतराज कान्त मिश्राले मिति २०७८ साल ९ महिना २५ गते दिएको निवेदनउपर कुनै निर्णय गरेको नदेखिँदा जे जो बुझ्नुपर्ने हो बुझी आवश्यक निर्णय गर्नु गराउनु भनी विपक्षी भूमिसुधार तथा मालपोत कार्यालय रुपन्देहीको नाममा परमादेश जारी गरेको थियो ।
याे पनि पढ्नुस् : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रनवेकाे जग्गा नै व्यक्तिको नाउँमा दर्ता, मुआब्जा माग्न आएपछि खुल्यो रहस्य