प्रदेश प्रमुखले फिर्ता गरेको चिठ्ठा विधेयक पुनः ल्याइएपछि बागमती प्रदेशसभामा हंगामा (भिडियो)
हेटौंडा । प्रदेश प्रमुखले फिर्ता गरिदिएको चिठ्ठा विधेयक सरकारले पुनः ल्याएपछि नेकपा एमालेले बागमती प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । सरकारले जनजीविकाको विषयका विधेयकहरु ल्याउनुपर्ने समयमा प्रदेश प्रमुखले फिर्ता गरिदिएको विधेयक पुनः ल्याएको भन्दै एमालेले बैठक अबरुद्ध गरेको हो ।
सरकारको तर्फबाट आर्थिक मामिला मन्त्री बहादुर लामाले विधेयक प्रस्तुत गर्दै गर्दा एमाले सांसदहरुले रोस्टम घेराउ गर्दै नारावाजी गरेपछि बैठक अवरुद्ध भएको हो । बैठकमा ठेलाम्ठेल भएपछि सभामुख भुवन पाठकले बैठक १५ मिनेटको लागि स्थगित गरेका छन् ।
बैठक अवरुद्ध भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारले चोरबाटोबाट अनावश्यक विधेकलाइै पुनः ल्याएको बताए । अहिले प्रदेशमा चिठ्ठा बाहेकका अन्य निकै महत्वपूर्ण विधेयकहरु रहेको भन्दै सरकारले किन चिठ्ठा विधेयकलाई ल्याउन मरिहत्ते गरिरहेको छ भन्ने विषय अनौठो रहेको उनको भनाइ रहेको छ ।