दोलखामा एक सातामा बरामद ११ केजी सुन प्रकरणमा काठमाडौंमा चिनियाँसहित ३ जना पक्राउ
काठमाडौं । दोलखामा चिनियाँ नाकाबाट भित्रिएको सुन बरामद भएपछि काठमाडौंमा चीनियाँसहित तीनजना व्यक्ति पक्राउ परेका छन् ।
सीआईबी प्रवक्ता नवराज अधिकारीले दोलखामै ७ जना पक्राउ परेको र काठमाडौंमा तीनजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पठाउन लागिएको बताए ।
एक साताको अन्तरमा दोलखा प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ११ केजी सुन बरामद गरेको थियो ।
पछिल्लोपटक ४ केजी सुन ढुंगाले थिचेर राखेको अवस्थामा भेटिएको थियो । हवाई मार्गबाट कडाइ हुन थालेपछि पछिल्लो समय चीनसँग जोडिएको दोलखाको फलेक नाका हुँदै सुन तस्करी भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
एक सातामा भएका तीनवटा अप्रेसनमा ११ केजी सुन बरामद भएको थियो । काठमाडौंमा पक्राउ पर्नेमा चिनियाँ नागरिक ग्याङ रोउ तथा नेपाली नागरिकहरू लालबहादुर तामाङ र सनथ प्रधान रहेका छन् ।