एमाले कोशी चुनावको यस्तो छ अन्तरंग कहानी–सुवासको रिक्तताले कसलाई भयो हानी ?
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, ‘अहिलेको परिस्थितिमा सहमतिमा नेतृत्व चयन गर्नुस् । सहमति हुन सकेन भने स्वस्थ प्रतिस्पर्धा गर्नुस् । गुटबन्दी गर्ने र प्यानल बनाउने छुट अहिलेलाई छैन ।’
अध्यक्ष ओलीले मात्रै होइन वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल र महासचिव शङ्कर पोख्रेलले समेत सहमतिमै नेतृत्व चुन्न जोड दिए । वरिष्ठ उपाध्यक्ष पोख्रेलले त अधिवेशनमा प्यानल बनाएर गए सह्य नहुनेसमेत बताउन भ्याए ।
नेताहरूले सहमतिमा नेतृत्व चयन गर्न जोड दिइरहँदा अधिवेशनमा सहभागी हुन भूगोलतर्फ १४ जिल्ला र जनसंगठनबाट चुनिएर आएका प्रतिनिधिहरु भने चुनावी भिडन्तमा तयार भइसकेका थिए ।
भूगोलबाट आउँदा नै गुटबन्दीबाट छानिएका प्रतिनिधिले शीर्ष नेताहरूको कुरा त सुने तर, व्यवहारमा लागू गरेनन् । अध्यक्ष ओली उद्घाटन सत्र सकेर काठमाडौं फर्किन विराटनगर एयरपोर्ट नपुग्दै अधिवेशन स्थलमा गुटबन्दी र प्यानलसहित भिडन्त निश्चित भइसकेको थियो ।
अधिवेशन उद्घाटनकै दिन अध्यक्षका चार जना प्रत्याशीमध्ये तुलसीप्रसाद न्यौपाने र टीकाराम चेम्जोङ सहमति गर्न भन्दै चुनावी मैदानबाट पछि हटेका थिए । टीकाराम निर्विरोध उपाध्यक्ष भए । तर, घनश्याम खतिवडा र विनोद ढकाल भने कुनै पनि हालतमा ब्याक नहुने अवस्थामा पुगे ।
खतिवडालाई अधिकांश स्थायी कमिटी सदस्यहरूले साथ दिएका कारण उनी आफूले चाहेर पनि ब्याक हुने अवस्थामा थिएनन् । सबैले घेराबन्दी गरेकाले कार्यकर्ताको भावनाका लागि चुनावमा जानैपर्ने बाध्यतामा रहेको तर्क ढकालले दिए ।
एक पक्षले सहमतिमा नआएर ढकालले प्रदेशमा चरम गुटबन्दी गरेको आरोप लगाए । ढकालले नेतृत्वले भनेको नमानी चरम गुटबन्दी गरेको उनीहरुको भनाइ छ ।
उनीहरुको भनाइ थियो, ‘नेतृत्वले भनेको मान्नुपर्थ्यो । नेतृत्वले भनेको नमान्नु अराजकता हो । ढकाल अराजक भएर प्रस्तुत भए ।’
खतिवडा र ढकाल पछि नहट्ने सङ्केत पाएपछि वरिष्ठ उपाध्यक्ष पोख्रेल र महासचिव पोख्रेलले विराटनगरमै बसेर सहमतिको प्रयास गरे । तर, ढकालले ब्याक हुन नमानेपछि निर्वाचन टरेन ।
ढकाल पक्षका प्रतिनिधिहरु भन्छन्, ‘वरिष्ठ उपाध्यक्ष र महासचिवले एउटा उम्मेदवारलाई गलाएर अर्को उम्मेदवारलाई अध्यक्ष बनाउन सहमतिको नाममा गुटबन्दी गरे । एउटा उम्मेदवारको पक्षमा सहमति गराउन खोज्नु आफैंमा गुटबन्दी हो ।’
उनीहरूले वरिष्ठ उपाध्यक्ष र महासचिवले नै घनश्याम खतिवडाका नाममा सहमति जुटाएर ढकाललाई गलाउन खोजेर गुटबन्दी बीउ रोपेको दाबी गरेका छन् ।
शीर्ष नेताहरूले कसैलाई अध्यक्ष बनाउन इशारा दिएका थिएनन् । अध्यक्षमा पराजित ढकाल प्रदेश अध्यक्ष बनाउन ओली कमरेडले कसैलाई इशारा नगरे पनि भूगोलमा रहेका स्थायी कमिटी सदस्यहरूले ‘ओलीको निर्देशन’ भन्दै खतिवडाको पक्षमा गुटबन्दी गरेको आरोप लगाउँछन् ।
सुवास नेम्वाङको निधनपछि एक्लिएका ढकाल
भदौ १० गते विराटनगरमा एमाले प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीभित्रका नेताहरूले भेटेकोमा असन्तुष्टि जाहेर गरेका थिए । पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउन चाहेको विषय चर्चामा आइरहेकै बेला ढकालले पनि पूर्वराष्ट्रपति भेटेका थिए ।
ओलीको सङ्केत ढकालप्रति भएको बैठकमा सहभागी नेताहरू बताउने गर्छन् । ढकालले पूर्वराष्ट्रपतिलाई भेटेको र ओलीले बैठकमा पनि विषय उठाएपछि केही मिडियाहरूले ढकाल पूर्वराष्ट्रपतिको उम्मेदवार भएको भन्दै समाचार लेखे ।
समाचारमा पूर्वराष्ट्रपतिसँग ढकाललाई स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले भेट गराएको उल्लेख थियो । यो विषय राईले भने अस्वीकार गर्दै आएका छन् ।
पूर्वमुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य राईले आफूले अध्यक्षसँग सल्लाह गरेर अघि बढौं भनेर ढकाललाई सुझाव दिएको नेपालप्रेससँग बताए । उनले भने, ‘लिडरसिपको व्यवस्थित सोचबाट पार्टी निर्माण हुन्छ । त्यही धारणाबाट पार्टी अगाडि बढ्छ । अध्यक्षसँग सल्लाह गरौं । उहाँले हुन्छ भन्नुभयो भने तपाईंलाई अध्यक्ष बनाउने कुरामा सहमति नहुने कुरै भएन ।’
उनले अध्यक्षले नयाँ नेतृत्व खोजौं भनेकाले ढकाललाई लिडरसिपको कुरा मान्नुस् भनेको तर उहाँले नमानेको बताए ।
पार्टीका उपाध्यक्ष रहेका सुवासचन्द्र नेम्वाङले ढकाललाई साथ दिने वचन दिएको ढकाल निकटहरु बताउँछन् । तर, नेम्बाङको यसबीचमा निधन भयो । नेम्वाङ भएको भए उनले ढकाललाई नै साथ दिने उनीहरुको भनाइ थियो । नेम्बाङ भएको भए शेरधनसहित ताप्लेजुङका पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वो, पाँचथरका वसन्त नेम्वाङ, धनकुटाका राजेन्द्र राईसमेत ढकालका पक्षमा उभिने थिए ।
‘सुवास कमरेड भएको भए अधिवेशनको प्रतिस्पर्धा अर्कै हुने थियो’, एक एमाले नेताले भने, ‘सुवास नेम्वाङको निधनपछि विनोदका पक्षमा उभिएका नेताहरू पनि खतिवडाको पक्षमा लागे ।’
पाँचथरबाट सचिवमा विजयी भएका राजकुमार भण्डारीका बारेमा भने नेम्वाङले लविङसमेत गरेका थिए । २०७१ सालदेखि लगातार पाँचथरको अध्यक्षको भूमिकामा रहेका भण्डारीलाई सचिव बनाउनुपर्ने भन्दै नेम्वाङले कुरा उठाएका थिए ।
अध्यक्ष केपी ओलीले राजकुमार भण्डारीलाई सचिव बनाउने सुवास नेम्वाङको चाहनाको सम्मान गरौं भन्नेबाहेक अरुको बारेमा लबिङ नगरेको नेताहरु बताउँछन् ।
भूगोलका स्थायी कमिटी सदस्य भर्सेस ढकाल
अधिवेशनको चहलपहलसँगै अधिकांश स्थायी कमिटी सदस्य ढकालको विपक्षमा देखिएका थिए । कोशी प्रदेश भूगोल भएका स्थायी कमिटी सदस्यहरू भानुभक्त ढकाल, राजेन्द्र गौतम, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री शिवमाया तुम्बाहाम्फे ढकाललाई अध्यक्ष बनाउनु हुँदैन भन्ने पक्षमा थिए । स्थायी कमिटी सदस्य अग्नि खरेल र सचिव योगेश भट्टराई सक्रिय भूमिकामा देखिएनन् ।
ढकालको पक्षमा लागेका नेता तथा कार्यकर्ताहरू स्थायी कमिटी सदस्य हिक्मत कार्कीले सत्ताको दुरुपयोग गरेको समेत आरोप लगाउँछन् । अधिवेशन नजिक आउँदै गर्दा कार्कीले विस्तार गरेको मन्त्रिपरिषद् यसैको प्रमाण भएको उनीहरूको दाबी छ ।
कार्कीले अधिवेशनको पूर्वसन्ध्यामा सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, मोरङका लीलावल्लभ अधिकारीलाई मन्त्री बनाएका थिए । यस्तै धनकुटाका निरनकुमार राई र सुनसरीका रामप्रसाद मेहतालाई राज्यमन्त्री बनाएका थिए । तेह्रथुमकी प्रदेशसभा सदस्य कमला दर्नाललाई समेत एमाले कोशी प्रदेशको सचेतकमा नियुक्त गरिएको थियो । अधिवेशनमा प्रदेशका शक्तिशाली नेताहरू लालबाबु पण्डित, विशाल भट्टराईसमेत ढकालको विपक्षमा थिए ।
प्रदेशमा रहेका ३ जना केन्द्रीय सदस्यमात्रै ढकालको पक्षमा देखिए । सुनसरीकी भगवती चौधरी ढकालको समर्थनमा थिइन् । झापाका रविन कोइराला र विराटनगरका रामलाल साहा पनि ढकालको पक्षमा देखिएका थिए । ढकालका मामा ससुरा नाता पर्ने विराटनगरका स्थायी कमिटी सदस्य गुरु बरालले भने अन्तिम समयमा आएर ढकाललाई साथ दिएको चर्चा छ । तर, सुरुमा भने बराल पनि खतिवडाकै पक्षमा देखिएका थिए ।
ढकाललाई सुनसरीका स्थायी कमिटी सदस्य भीम आचार्यले काँध थापेका थिए । आचार्यका कारण १० बुँदे सहमतिबाट एमालेमा रहेकाहरू ढकालको पक्षमा लागेको देखिन्थ्यो । उनीहरूकै बलमा ढकालले खतिवडालाई टक्कर दिएको धेरैको बुझाइ छ । १४ जिल्लाका अध्यक्षमध्ये अधिकांश खतिवडाको पक्षमा थिए ।
तयारी लिस्ट बाँडिएन !
एमाले कोशी प्रदेश अधिवेशनमा ९७७ प्रतिनिधिमध्ये ४२५ जनाले सदस्यका लागि मनोनयन दर्ता गराएका थिए । मनोनयन दर्ता गराउनुअघि पाँचथर, इलाम र सोलुखुम्बुबाट भूगोल सदस्यहरू सर्वसम्मत चयन भएका थिए ।
अन्य जिल्लामा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचनका लागि मनोनयन दर्ता भएको थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार धनकुटामा मनोनयन दर्ता भएपछि सहमति भई मनोनयन फिर्ता गरिएको थियो ।
२५१ जना प्रदेश सदस्यका लागि झन्डै दोब्बर उम्मेदवारी परेपछि नेतृत्वलाई सर्वसम्मत गराउन सकस भएको थियो । पदाधिकारीमा गुटगत र प्यानलगत उम्मेदवारी परेपछि जिल्लामा पनि प्यानलगत प्रतिस्पर्धा देखिएको थियो ।
अधिकांश जिल्ला भूगोलका सदस्यको प्यानल लिस्ट बनेको थियो । यसका लागि मतदानका बेला प्रतिनिधिलाई जिल्ला भूगोलका सदस्यको पनि प्यानल नाम बाँड्ने तयारी थियो । प्यानलमा सबैको नाम अँटाउन नसक्ने भएपछि प्यानलमा नपर्नेहरू नेतृत्वको ग्रिपमा नहुने भन्दै अन्तिम समयमा लिस्ट बाँड्न रोक लगाइएको एक जिल्ला अध्यक्षले बताए ।
‘लिस्ट बाँडेको भए नतिजै उल्टने रहेछ । धन्न नेतृत्वले रोक लगायो । घनश्याम समूहको लिस्टमा नपरेकाहरू रिसाउने नै भए । यही रिसले अध्यक्षलाई समेत भोट नहाल्ने खतरा देखियो’, ती जिल्ला अध्यक्षले भने, ‘त्यसैले अन्तिम समयमा आएर लिस्ट बाँड्नेभन्दा पनि एसएमएस गरिएको थियो ।’
आफ्नै स्वभावले घेराबन्दीमा ढकाल !
१०औं महाधिवेशनमा ढकाल केन्द्रीय सदस्यभन्दा माथि उक्लन चाहन्थे । अध्यक्ष ओलीका खास समर्थक रहेका ढकालको चाहना थियो, कम्तीमा पोलिटब्युरो सदस्य । तर, उनी केन्द्रीय सदस्यमा थन्किए । समकक्षीहरू भने स्थायी कमिटीमा पुगे ।
उनले स्थायी कमिटीमा गइसकेकाहरूलाई समेत नेता स्वीकार नगरेको आरोप लाग्ने गरेको छ । ढकालले सिनियरलाई समेत नेता स्वीकार नगर्ने र प्रदेशका मुख्यमन्त्रीलाई समेत सस्तोखाले टिप्पणी गर्ने गरेको चर्चा अधिवेशनपछि पनि भइरहेको छ ।
सङ्गठन बनाउन र आफूभन्दा जुनियरलाई संरक्षण गर्न ढकाल सिपालु छन् । तर, अरूलाई नेता नमान्ने उनको स्वभावले आफू निकटस्थहरूको घेराबन्दीमा परेको उनी निकटका नेताहरु बताउँछन् ।
उनले सबैभन्दा बढी साथ र सहयोग गरेका खेलकुद महासंघका अध्यक्ष परशुराम बस्नेतसमेत अधिवेशनका बेला उनको विपक्ष उभिए । एमाले कोशीका नेताहरूका अनुसार सार्वजनिक रूपमै नेताहरुको टिप्पणी गर्ने ढकालको बानी छ । यो बानीले पनि धेरै नेताहरू उनको पक्षमा उभिएनन् ।
कतिपय ढकाल समर्थकले गायक यश कुमारको गीत उनको राजनीतिक जीवनमा यसपटक मेल खाएको टिप्पणी समेत गरेका छन् । ‘सबैको भरमा पर्यौ तिमी,तिम्रो भरमा कोही परेनन्’ भन्ने गीतजस्तै विनोदले धेरैलाई राजनीतिक जीवनमा सघाए तर उनको पालामा कसैले सघाएनन् भन्ने ती कार्यकर्ताको टिप्पणी छ ।
भानुभक्त ढकाललाई मोरङ ३ को राजनीतिमा स्थापित गरेका विनोदले उनीबाट समेत साथ पाएनन् । यसपटक विनोदले पाएको मतबाट पार्टीका नेताहरु भने चकित परेका छन् ।
कोशी प्रदेशका ९० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुका साथै पार्टीका नेताहरुको समर्थन पाएका खतिवडासँग ढकाल जम्मा ८२मतले पराजित हुनुमा उनीप्रतिको कार्यकर्ताको सहानुभूति र नेतृत्वविरुद्धको अभिमतकारुपमा लिइएको छ ।
खतिवडाको शालीनता
प्रदेश अध्यक्षमा विजयी भएका खतिवडा भने शालीन नेताका रूपमा परिचित छन् । उनी एमाले मोरङको पाँचौं अधिवेशनमा ढकालसँग पराजित भएका थिए । मदन भण्डारीसँग काम गरेका उत्तरी मोरङ घर भएका खतिवडा कसैलाई पनि बिझाउँदैनन् ।
उनको स्वभाव निर्वाचनमा विजयी भएपछि पनि देखियो । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी कहिले फरक थिएनौं र फरक हैनौं पनि । मात्रै पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अभ्यासमा भाग लिएका हौं ।’
उनले ढकालसहितको फोटो राख्दै फेसबुकमा लेखेका छन्, ‘जबजको मार्गदर्शनमा समाजवादको यात्रामा जनता, जनजीविका, राष्ट्रिय एकता र राष्ट्रिय स्वाभीमानका लागि समृद्ध नेपाल, सुखी नेपालीको पार्टीले लिएको मूलमन्त्र बोकेर हामी सँगसँगै सहयात्रा गर्नेछौं ।’
ढकालले पनि निर्वाचन आन्तरिक प्रतिस्पर्धा रहेको र गुट, उपगुट नरहेको स्पष्ट पारेका छन् । उनले भने, ‘आन्तरिक प्रतिस्पर्धालाई गुटसँग जोड्नु राम्रो होइन । हामी एमाले हौं ।’
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अधिवेशनमा गुट नभएको बताए ।
उनले भने, ‘नेतृत्व चयनका लागि २ वटा बाटो थियो एउटा सहमति अर्को चुनाव सहमति नभएपछि चुनाव भएको हो । यसलाई गुट भनेर व्याख्या गर्नु नै गलत हो । अहिले अध्यक्ष ओलीको नेतृत्वमा एमाले भित्र एकमाना सहमति छ ।
एमाले अध्यक्षलाई धुरी मानेर गतिविधि गरिरहेको उनले बताए । गौतमले गुट र समूह बर्जित भएकाले आफुलाई चुनाव जित्न प्रतिस्पर्धाका लागि सहज होस भनेर समूह निर्माण गरेको बताए