नीति, निर्देशनमा दबाब नदिन अन्तर्राष्ट्रिय मुद्रा कोषसँग उद्योग परिसंघको आग्रह – Nepal Press

नीति, निर्देशनमा दबाब नदिन अन्तर्राष्ट्रिय मुद्रा कोषसँग उद्योग परिसंघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)लाई नीति निर्माणमा अनावश्यक दबाब नदिन आग्रह गरेको छ ।

कोषसँगको छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नीति, निर्देशनमा अनावश्यक दबाब नदिन कोषलाई आग्रह गरेका हुन् ।

उनले नेपालको अर्थतन्त्रको आफ्नै विशेषता रहेकाले अन्य मुलुक वा सिद्धान्तका उपाय नेपालको अर्थतन्त्रमा हुबहु लागू नहुने र अनावश्यक दबाबसमेत दिन नहुनेमा कोषको ध्यानाकर्षण गराए ।

अर्थतन्त्र सुधारमा अन्तर्राष्ट्रिय मुद्रा कोषको भूमिका, उद्योगी व्यवसायीहरुले भोगेको समस्या र अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमलगायतका विषयमा परिसंघ सचिवालयमा भएको छलफलमा अध्यक्ष अग्रवालले पेट्रोलियम पदार्थ र वस्तुहरु आयात हुँदाको असर मूल्यवृद्धिमा पर्ने हुँदा मूल्यवृद्धि नियन्त्रण गर्न ब्याज बढाउनु मात्रै उपयुक्त कदम हुन नसक्ने बताए ।

अर्थतन्त्रमा वस्तुको माग सामान्य अवस्थामा हुँदा ब्याजले खासै असर नगर्ने तर उद्योग क्षमताको ३० प्रतिशतमा सञ्चालन हुँदा धेरै असर गर्ने उनको भनाइ छ ।

अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकको नीति, निर्देशन बैंकहरुलाई संरक्षण गर्ने खालको मात्रै भएको बताए ।

राष्ट्र बैंक र कोषबीचको सम्झौतामा तरलता समस्या समाधानको लागि कर्जाको पुनर्संरचना गर्न दिने भनिएको तर राष्ट्र बैंकको पछिल्लो नीति यसको विपरीत रहेको उनको भनाइमा कोषका प्रतिनिधिहरुले समेत सहमति जनाएका छन् ।

कोषका ईसीएफ मिसन प्रमुख टिडियन किन्डा, नेपाल प्रतिनिधि टेरेसा डबान सांचेजलगायतको टोलीले चालू पूँजी कर्जा मार्गदर्शन लागू गरेपछि उद्योगी व्यवसायीहरुलाई परेको असर, सुधारका लागि परिसंघको धारणालगायतका विषयमा छलफल गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर