धर्मगुरु श्रीनिवास आचार्यलाई रिहा गर्न माग, जनकपुरमा प्रदर्शन
जनकपुरधाम । धर्मगुरु श्रीनिवास आचार्यलाई पक्राउ गरिएको विरोधमा जनकपुरधाममा आन्दोलन चर्केको छ । आचार्यको रिहाइ माग गर्दै हिन्दूवादी युवाहरुले आन्दोलन गरेका हुन् ।
जनकपुरधामको रामानन्द चोकमा उनीहरुले आज दिउँसो टायर बालेर प्रदर्शन गरेका छन् ।
गौ हत्या गर्ने र हिन्दूमाथि आक्रमण गर्नेलाई सरकारले पक्राउ नगरेको र हिन्दू धर्मको रक्षाका लागि आन्दोलन गर्दा पक्राउ गर्ने गरेकोमा सरकारमाथि हिन्दूवादीहरुले आक्रोश पोखेका छन् ।
यस्तै आचार्यलाई रिहा गर्न जनकपुरधामका साधुसन्त तथा महन्तहरुले माग गरेका छन् ।
रामानन्दीय वैष्णव संघले आज जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै धर्मगुरु आचार्यलाई रिहा गर्न माग गरेको हो । आचार्यलाई तत्कालै रिहा नगरिए आन्दोलन गर्ने संघले चेतावनीसमेत दिएको छ ।
जानकी मन्दिरका सहायक महन्त रोशन दास ‘वैष्णव’ले आत्मरक्षाका लागि दिएको अभिव्यक्तिलाई गलत व्याख्या गरी आचार्यलाई पक्राउ गरेको बताए । उनले आचार्य रिहाइका लागि भोलि जनकपुरधाममा शान्तिपूर्ण र्याली निकाल्ने घोषणासमेत गरे ।
केही दिन अगाडि गौ हत्याको विरोधमा जनकपुरधाममा गरिएको प्रदर्शनमा धर्मगुरु आचार्यले उत्तेजक अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिका कारण उनलाई हिजो सुनसरी प्रहरीले पक्राउ गरेको हो ।
सुनसरी प्रहरीले उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जनकपुरधाम पठाउने बुझिएको छ । धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले आचार्यलाई पठाएपछि मात्रै कुन मुद्दा चल्ने भन्न सकिने बताए ।