सर्पले डसेर एकै घरका दिदीबहिनीको मृत्यु, सिंगो गाउँ नै शोकमा – Nepal Press

सर्पले डसेर एकै घरका दिदीबहिनीको मृत्यु, सिंगो गाउँ नै शोकमा

रुपन्देही । कपिलवस्तुमा सर्पले डसेर एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ । मंगलबार राति सर्पले डसेर गम्भीर घाइते भएका बाणगंगा नगरपालिका वडा नं ९ भलवाडका मोतीलाल क्षेत्रीका ३ र ८ वर्षीय दुई छोरीको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल मृत्यु भएको हो ।

वाणगंगा नगरपालिका वडा नं ९ का अध्यक्ष कमल पौडेलले राती अबेरसम्म फिलिम हेरेर झुल लगाएर सुतेका दिदीबहिनीमध्ये बहिनी राती पेट दुखेर आत्तिएपछि गोरुसिंगे लगिएको र त्यहाँ उपचार हुन नसकेपछि बुटवल पठाइएकोमा उपचारका क्रममा दुई बहिनीको नै मृत्यु भएको बताए ।

कपिलवस्तुको भलवाड निवासी ३ वर्षीया रीतिका क्षेत्रीको बिहान र ८ वर्षीया इशिका क्षेत्रीको साँझ मृत्यु भएको प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. नेत्रबहादुर रानाले जानकारी दिए । ‘अस्पतालमा उपचारका लागि आउँदा नै उनीहरुको अवस्था धेरै नाजुक थियो, सर्पले टोकेको बिरामीलाई जतिसक्दो छिटो उपचारका ला िगअ स्पताल ल्याउनुपर्नेमा ढिलो भएको हो, बहिनीको त आउँदा नै अवस्था कमजोर थियो, दिदीलाई प्रयास गरेपनि बचाउन सकिएन’ उनले भने ।

एकैघरका दुबै छोरीको मृत्यु भएपछि अहिले परिवार र सिङ्गो भलवाड शोकाकुल बनेको स्थानीयले बताए ।

उनीहरुलाई गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको छिमेकीहरु बताउँछन् । बुधबार साँझमात्रै घटना भएकाले बिहीबार पोष्टमार्टम गरेपछि मात्रै अन्तेष्टिका लागि दगिने पारिवारिक स्रोतले जनाएको छ ।

वडाध्यक्ष कमल पौडेलले दुवै छोरीको एकैपटक सर्पले टोकेर मृत्यु भएपछि परिवारसहित सिंगो गाउँ नै शोकमा डुबेको बताए । ‘सारै नराम्रो घटना भयो, एकैपटक दुई जना बच्चा गुमाउँदा परिवारलाई कस्तो भयोहोला, हामी छिमेकी सबै शोकमग्न छौं’ उनले भने । मोतीलाल क्षेत्रीका तीन वटा छोरी रहेका थिए जेठी ११ वर्ष, माइली ८ र कान्छी ३ वर्षका थिए । क्षेत्री परिवारले माइली र कान्छी छोरी गुमाएर शोकमा परेको हो ।

सर्पले डसेको थाहा पाएपछि दुबैलाई बिहान ४ बजे उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि उनीहरुलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको भएपनि दुवैको मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर