स्काउटको जमिन गठबन्धनवालाले कब्जा गरेको भन्दै ओलीको आक्रोश- देश बाहुबलमा चल्छ ? (भिडिओ)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लैनचौरस्थित स्काउटको जमिन गठबन्धनवालाहरूले कब्जा गरेको आरोप लगाएका छन् । उनले अदालतले हटाउँदा समेत सरकारको पहुँचमा बलजफ्ती गरिएको बताए ।
ओलीले सरकारी जग्गा कब्जा गर्न पाइन्छ कि पाइँदैन ? भन्दै प्रधानमन्त्रीको जवाफ मागे ।
‘लैनचौरको स्काउटको जमिन कार्यालय अदालतले हटाइसक्यो । हट्नुपर्छ भनिसक्यो । तपाईंहरूको सरकार छ पाखुरा देखाएर बलजफ्ती गैरकानूनी ढंगले कब्जा गरेर बसेको छ । गठबन्धनले आफ्नो पक्षका मान्छेहरूलाई कसरी प्रोटेक्सन गरेको छ ? एउटा ठेकेदारले कब्जा गरेर बसेको छ भन्ने सुन्छु । हो कि होइन ? म प्रधानमन्त्रीसँग यसको जवाफ चाहन्छु’ ओलीले मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा भने, ‘सरकारी सम्पत्ति कब्जा गर्न पाइन्छ कि पाइँदैन ? बाहुबलमा चल्ने कि कानूनमा चल्ने देश ? के मा चल्नुपर्छ देश ?’
लैनचौरस्थित नेपाल स्काउटको जग्गा करीव डेढ दशकदेखि नेपाली कांग्रेसका संखुवासभा जिल्ला सभापति तथा सांसद दिपक खड्काले कब्जा गरेर राखेका छन् ।
अदालतको आदेशपछि पनि खड्काले गुण्डा लगेर जग्गा कब्जा गरी पार्टी प्यालेस,रेष्टुरेन्टजस्ता संरचना संचालन गरेको र स्काउटका सटरहरुबाट भाडा समेत असुल गरिरहेको स्काउटले जनाएको छ ।