धरौटीमा छुटे पुर्पक्षका लागि कारागार चलान भएका वडाध्यक्ष विष्ट – Nepal Press

धरौटीमा छुटे पुर्पक्षका लागि कारागार चलान भएका वडाध्यक्ष विष्ट

सुर्खेत । उपभोक्ता समितिको रकम जफत गरेको आरोपमा कारागार चलान भएका वडा अध्यक्ष धरौटीमा रिहा भएका छन् । वीरेन्द्रनगर नगरपालिका- ३ का वडाध्यक्ष विनोदसिंह विष्ट बिहीबार रिहा भएका हुन् ।

उच्च अदालत सुर्खेतले वडाध्यक्ष विष्टलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको उच्च अदालत सुर्खेतका सूचना अधिकारी विनोद आचार्यले जानकारी दिए । अदालतले विष्टलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदातलको उक्त आदेशविरुद्ध विष्ट उच्च अदालत पुगेका थिए ।

यस्तै जिल्ला अदातलले पुर्पक्षका लागि कारागार चलान गरेका सुशील गुरुङ र बलिराज शाहीलाई पनि रिहा गर्न उच्चले आदेश दिएको छ । गुरूङबाट चार लाख र शाहीबाट दुई लाख रुपैयाँ धरौटी माग गरिएको थियो ।

वडाध्यक्ष विष्टसहित तीन जनालाई साउन २१ गते सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । उच्चले पुर्पक्षका लागि कारागारमा राखिराख्न आवश्यक नरहेको आदेश दिए पनि यो मुद्दाको अन्तिम फैसला भने भएको छैन ।

गत असार २४ मा वडाध्यक्ष विष्टसहित पाँच जनाको टोलीले खोर्केखोला तटबन्ध उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो । तीनै जनालाई डाँका चोरी अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा तानिएका यामराज शाही र सन्तोष थापाबाट जिल्ला अदालतले जनही दुईदुई लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *