साउन्ड डिजाइनर स्थापितको प्रश्न- पार्श्र्व संगीत ध्वनिको उपविधामात्रै हो, हाम्रा फिल्म मेकरले कहिले बुझ्ने ?
‘सिंक साउण्ड भनेको सुटिङस्पटमा लठ्ठीमा माइक्रोफोन बाँधेर डुलाउनुमात्रै होइन’
काठमाडौं । मीन भाम निर्देशित ‘कालो पोथी’देखि यही असोज २६ गते प्रदर्शनमा आउन लागेको ‘कौसीद’सम्म विपीन स्थापितले साउण्ड डिजाइनको काम गरे । क्यान्स अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको सर्ट कर्नरमा छनोट भएको ‘लभ लस्ट लाइफ’देखि बर्लिन फिल्म फेस्टिभलमा बेस्ट जुरी अवार्ड जितेको ‘जालगेडी’सम्म साउण्ड डिजाइनर बने । ६० भन्दा बढी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल घुमेको ‘काफल पाक्यो’लगायत दर्जनौं फिल्म स्थापितको साउण्ड डिजाइनको कलाले मोहरिएको छ ।
३० वर्षदेखि यस क्षेत्रमा सक्रिय छन् स्थापित । तर, करियरको अन्तिम अन्तिम संघारमा आइपुग्दा अझै पनि स्थापितलाई लाग्छ, नेपाली फिल्म क्षेत्र साउण्डको विधामा स्पष्ट भइसकेको छैन । सुन्दर साउण्ड डिजाइनको कमीले सिंगो फिल्मको मर्म नै मर्छ । फिल्मले सम्प्रेषण गर्न खोजेको कथाको उद्देश्य नै साउण्ड डिजाइनविना अधुरो रहन्छ । तर, त्यही साउण्ड डिजाइनलाई हल्काफुल्का रुपमा फिल्म मेकरहरुले लिइदिन्छन् । ।
स्थापितको गुनासो छ, ‘साउण्ड डिजाइनविना सुन्दर फिल्मको कल्पनै गर्न सकिन्न । तर, हाम्रा मेकरहरु यसलाई नजरअन्दाज गरिदिन्छन् । उनीहरुलाई लाग्छ, साउण्ड डिजाइन भनेको ब्याकग्राउण्ड म्युजिक र केही गीतका संगीतहरुमात्रै हुन् । तर, यी त साउण्ड विधाका ब्रान्चमात्रै हुन् ।’
साउण्डमा विभिन्न क्याटागोरी हुन्छन् । अनलोकेसन प्रोडक्सन साउण्ड हुन्छ । ब्याकग्राउण्ड साउन्ड हुन्छ । फोले डिपार्टमेन्टलगायत हुन्छ । अनिमात्रै म्युजिक डिपार्टमेन्ट आउँछ । साउण्डमै अनेक क्राफ्टिङ हुन्छन् । संवादहरुको क्लिन्जिङ हुन्छन् । साउण्डका यिनै यावत् कामहरुका कारण नै फिल्ममा कुनै पात्र हिँडिरहँदा खुट्टाको आवाज आउँछ । खुट्टाको आवाज पनि पात्रपिच्छे फरक आउँछ । कोही पात्र रिसले हिँडिरहेको छ र अर्को कोही पात्र खुसी भएर हिँडिरहेको छ भने ती पात्रको खुट्टाले निकाल्ने आवाज फरक हुन्छ । धनाढ्यको घरको ढोकाको ‘चुइँय..’ आवाज र गरीबको घरको ढोकाको ‘चुइँय..’ आवाज फरक हुन्छ ।
कुनै अवस्था र समय देखाउनुपर्यो भने ब्याकग्राउण्ड साउण्ड नै चाहिन्छ । मानौं, कुनै दुई पात्र १२ बजेको समयमा काठमाडौंको घण्टाघरअघि उभिएका छन् । उनीहरुको अवस्था र समय देखाउन धेरै केही गर्नैपर्दैन, घण्टाघरले १२ बजेको जनाउ दिन ‘टङ… टङ…’ गरे पुग्छ ।
यीलगायत यावत् कामहरु साउण्ड डिजाइनरको हो । अथवा फिल्ममा साउण्ड विभागको हो । तर, आफ्नो पात्रको मनस्थिति, आफ्नो पात्रको वर्ग, आफ्नो पात्रको चरित्रमाथि पहिला त मेकर स्पष्ट हुनुप¥यो । आफूले भनेको कथा कुन वर्ग, कुन समुदाय र कुन समयको हो, मेकर नै स्पष्ट हुनुप¥यो । अनिमात्रै मेकरले सोचेको कथालाई पूर्णता दिन साउण्ड डिजाइनर आवश्यक हुने स्थापित बताउँछन् ।
भन्छन्, ‘तर, हाम्रा मेकरहरुलाई यी विषयमा चासो नै हुँदैन । साउण्ड डिजाइनलाई महत्वपूर्ण विभाग नै मान्दैनन् । हाम्रो फिल्म क्षेत्रले त साउण्ड भनेको म्युजिक र ब्याकग्राउण्ड म्युजिक भनेरमात्रै बुझ्यो । अहिले सिंक साउण्ड अलिअलि बुझेका छन् । तर, सिंक साउण्ड भनेको पनि लठ्ठी ठडाउनुमात्रै हो भनेर बुझेका छन् । सिंक साउण्डको अर्थ के हो, त्यसको उपादेयता के हो, त्यो किन चाहिन्छ भनेर महत्वका साथ हेर्ने बानी नै परेको छैन ।’
नेपालमा अचेल टेलिसिरियल बहुल संख्यामा बनिरहेका छन् । ती टेलिसिरियलले समाजका विभेद, अन्यायलाई कसरी प्रस्तुत गरिरहेको छ, समीक्षाको छुट्टै पाटो भयो । ती टेलिसिरियलले भुईंमान्छे र उनीहरुको मुद्दालाई कुन रुपमा उठाइरहेको छ, त्यो पनि विमर्शको अर्कै पाटो भयो । तर, ती टेलिसिरियलले प्रायः डबिङ गर्दैनन् ।
उनीहरु सिंक साउण्ड गर्छन् । सुटिङमा एउटा माइक्रोफोन तेस्र्याउँछन् । माइक्रोफोनमा रेकर्डेड साउण्डलाई भिडियोमा समावेश गर्छन् ।
अहिले सिंक साउण्ड संसारमा चलेको विधा हो । सिंक साउण्डको अर्थ हुन्छ, अनलोकेसनमा गएर कलाकारको प्रस्तुतिसँगै उनीहरुको आवाजको प्रस्तुति पनि लिनु । स्थापितका अनुसार अहिले जति पनि सिंक साउण्ड लिइएका फिल्म, टेलिफिल्म, सर्टफिल्महरु छन्, त्यहाँ हचुवाको भरमा मात्रै लिइएका सिंक साउण्ड छन् ।
‘सिंक साउण्ड लिनलाई दक्ष प्राविधिकहरु चाहिन्छ । सिंक साउण्डमा बाहिर माइक्रोफोन राख्दा अनावश्यक आवाज पनि आउँछ । अनि प्राविधिक रुपमा त्यसलाई फाइनल मिक्सिङ गरेन भने ध्वस्तै हुन्छ । माइक्रोफोनले डाइलग त लियो, तर फोहोर लियो । अनि मेकरहरु सजिलै भनिदिन्छन्, सिंक साउण्ड लिएको छ, किन डबिङ गर्नुपर्यो ? यही ज्ञानको कमीले हाम्रा फिल्महरु कमजोर बनिरहेका छन्’, स्थापित सुनाउँछन् ।
सिंक साउण्डको सुन्दरता भनेको अभिनय सँगसँगै कलाकारको ओरिजिनल आवाज पनि आउनु हो । स्थापितका अनुसार यहाँ सिंक साउण्डका नाममा जो पनि गएर माइक ठडाइदिन्छन् । तर, माइक ठडाउने पनि तरिकाहरु हुने स्थापितको भनाइ छ । त्यतिमात्रै होइन, माइक्रोफोन छनोट गर्ने पनि तरिका हुने गर्छ ।
कुन प्रोडक्सनका लागि गएको हो ? टीभी हो कि ? फिल्म हो कि ? इनडोर हो कि ? आउटडोर हो कि ? त्यसअनुसारको साउण्डको सेटअप चाहिने स्थापित बताउँछन् ।
स्थापित भन्छन्, ‘हाम्रोमा साउण्डलाई लिएर चेत खुलिसकेको छैन । बुम तेस्र्याएपछि काम भयो भन्ठान्छन् । म्युजिक त म्युजिसियनले गरिहाल्छ भन्ठान्छन् । तर, म्युजिक साउण्डको एक पाटो हो । प्राविधिक रुपमा साउण्डमा एमएई (म्युजिक एण्ड इफेक्टस्) र डाइलग हुन्छ । फोले हुन्छ । फोले पनि तीन प्रकारका हुन्छन् । यी सबैथोकको फिल्ममा ठूलो अर्थ रहन्छ ।’
स्थापितको आरोप छ, ‘हाम्रा कतिपय मेकरहरुले साउण्डको महत्व बुझ्दाबुझ्दै पनि इग्नोर गरिरहेका छन् । कतिपयले त बुझेकै छैनन् । बुझेकाहरु पनि नेपाली बजारमा यतिकै भए पनि चलिहाल्छ भनेर गुणवत्तामा हेलचेक्र्याइँ गर्छन् ।’
साउण्डको मामलामा मेकरहरुको मात्रै हेलचेक्र्याइँ छैन । हलहरुमा पनि समस्या छ । हलहरुको प्रोपर स्टान्डर्ड छैन । ‘साउण्डलाई लिएर हलहरुको प्रोपर स्टान्डर्ड के हो ?’, स्थापितको प्रश्न छ ।
एक पटक स्थापित दुईतीन वटा हलहरुमा गए । हलमा काम गर्ने भाइहरुलाई हलको साउण्ड स्टान्डर्डबारे सोधे । उनीहरुले भने, ‘दाइ, हामी त यहाँ सुनेर गर्ने हो ।’
हलको प्रोजेक्सन लेभलमा नै एकरुपता नहुँदा कुन स्टान्डर्डको अडियो क्वालिटी बनाउने भनेरै समस्या झेलिरहेका छन् स्थापितहरु । प्रदर्शनमा आउन लागेको निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’सँगै अन्य फिल्ममा काम गरिरहेका साउण्ड डिजाइनरहरु पनि हलमा एकरुपता नहुँदा समस्या झेलिरहेका छन् ।
स्थापितको प्रश्न छ, ‘हामीले राम्रो साउण्डमा दर्शकलाई फिल्म देखायौं भने पो उनीहरुलाई बानी लाग्छ । त्यसरी काम नगरेपछि दर्शकले फिल्म झुर भयो भनेर त यसै पनि भन्छन् । फिल्मको साउण्ड विभागमा म्युजिकमा काम गरिरहेकाहरु झ्याप्प आएका छन् । उनीहरुलाई फाइनल मिक्सिङको ज्ञान छैन । संसारको स्टान्डर्ड कति हो भनेर पनि थाहा छैन । साउण्डमा त टीमवर्क नभइ हुँदै हुन्न । अर्कातिर साउण्डको ज्ञान भएकाहरुले काम गर्छु भन्दा प्रोजेक्सन गतिलो छैन । अनि कसरी राम्रो फिल्म हुन्छ ?’
यसको समाधान चलचित्र विकास बोर्डले गरिदिनु पर्ने हो । हलको स्टान्डर्ड कति हो, नियम बनाइदिनु पर्ने हो । तर, बोर्डका अध्यक्षलाई रिबन काटेर हिँड्न फुर्सद हुँदैन । सेन्सर बोर्डमा राजनीतिक नियुक्ति हुन्छ । उनीहरु फिल्मका शब्दहरुमा मात्रै कैंची लगाउन बसेका छन् ।
‘अनि यस्तो अवस्थामा हामी पलायन हुनुको विकल्प के छ ?’, स्थापित प्रश्न गर्छन् ।
स्थापित यिनै यावत् कारणले गर्दा नेपाली फिल्महरुमा कम काम गर्छन् । अफर त आउँछ । तर, कतिपय फिल्ममा उनलाई टीम चित्त बुझ्दैन । टीममा राम्रो तालमेल नभइ आउटपुट आउने कुरा पनि भएन । कतिपय फिल्ममा स्थापितलाई बजेट चित्त बुझ्दैन ।
अनि वर्षमा दुईतीन वटा सर्ट फिल्म गर्छन् । उक्त सर्ट फिल्महरु बर्लिन, बुसान जस्ता प्रतिष्ठित फिल्म फेस्टिभलहरुमा पुगेकै छन् । त्यसैले पनि आफू बाहिरको काममै रमाइरहेको बताउँछन् स्थापित ।
कतिपय अवस्थामा साउण्डमा गम्भीरताका साथ काम गरेका कारण पनि फिल्महरु ती फेस्टिभलहरुमा छनोट भएका छन् । साउण्डको विधा नै ड्यांगै बाहिर देखिने खालको हुँदैन । एनिमेसन फिल्मको कथा एनिमेसन नै हो भनेर थाहा पायो भने दर्शकले हेर्दैनन् । तर, एनिमेसन हो कि रियल हो भनेर दर्शक दोधारमा पर्यो भने राम्रोसँग फिल्मको आनन्द लिन्छन् । स्थापितको भनाइ छ, ‘साउण्ड पनि एनिमेसन जस्तै हो ।’
अर्कातिर नेपाली फिल्म क्षेत्रमा हिरोहिरोइनको पारिश्रमिक ३०-४० लाख हुन्छ । टीयुको एफिलियसनमा फिल्म पढाइने कलेजहरुमा साउण्ड विषयको पाठ्यक्रम नै निर्माण गरिदिएका स्थापित भन्छन्, ‘हिरोहिरोइनको अलावा यहाँ काम गर्न जाँदा हामीलाई तीनचार लाखभन्दा बढी दिँदैनन् । पाइलट साउण्ड जो एडिटको वेलामात्रै काम लाग्छ, त्यसका लागि स्पटब्वाइको रुपमा हाजिर दिन्छन् । उसले लठ्ठी ठड्याइदिन्छन् । सकियो । तर, साउण्डमा सिंगो टीमले काम गर्नुपर्छ र पो फिल्म बलियो हुन्छ ! स्क्रिनमा हिरोहिरोइन राम्रो देखिएरमात्रै फिल्म राम्रो बन्दैन नि !’