रासायनिक मलको बढ्दो प्रयोगले मर्दैछ कृषियोग्य माटो, कहिले खोज्ने विकल्प ? – Nepal Press

रासायनिक मलको बढ्दो प्रयोगले मर्दैछ कृषियोग्य माटो, कहिले खोज्ने विकल्प ?

चितवन । पश्चिम चितवनको शुक्रनगरमा व्यवसायिक कृषि गरिरहेका छविलाल न्यौपानेको प्रभात प्राङ्गारिक कृषि उत्पादन केन्द्रले एउटा सानो सर्वेक्षण गरेको छ । भरतपुर महानगरपालिका- २५ का ७० घरधुरीमा गरिएको सर्वेक्षण प्राङ्गारिक कृषिसम्बन्धी अति सामान्य अध्ययनमात्रै हो । उनले आफ्नो वरपरका ७० परिवार मानिसले गर्ने खेती र त्यसमा हाल्ने विषादी, मलमा केन्द्रित भएर यो अध्ययन गरेका छन् ।

अध्ययनमा सहभागीमध्ये ९१ प्रतिशत मानिस आफ्नो उपभोगको लागि मात्रै खेतीपाती गर्छन् । ९ प्रतिशतले मात्रै व्यवसायिक कृषि गरेर जीविकोपार्जन गरिरहेका छन् ।

केन्द्रको संक्षिप्त अध्ययनले आम किसानहरुमा पाइने समान प्रवृत्तिको एउटा महत्वपूर्ण पाटो खोलेको छ । ७० मा ६१ परिवार अर्थात् ८७ प्रतिशत बढीले रासायनिक मलको प्रयोगले खेतीपाती राम्रो हुने विश्वास लिएका छन् ।

सर्वेक्षणले देखाएअनुसार घरायसी मल र सँगै रासायनिक मलको प्रयोग ४६ (६५.७१ प्रतिशत) घरधुरी र रासायनिक मलमात्रै प्रयोग गर्ने २३ (३२.८५ प्रतिशत) घरधुरी रहेछन् । ७० परिवारमध्ये एउटामात्रै परिवारले आफ्नो खेतीपातीको लागि घरायसी एवं आफैंले बनाएको जैविक मल प्रयोग गरेको सर्वेक्षणमा पाइएको छ ।

राष्ट्रिय कृषि गणना २०७८ अनुसार नेपालमा ४१ लाख ३० हजार ७८९ किसानले २२ लाख १८ हजार ४१० हेक्टर जमिनमा कृषि खेती गर्छन् । यो संख्या १० वर्षअघिको गणनाको तुलनामा ११ प्रतिशतले कमी हो । २०६८ को कृषि गणनामा २५ लाख २५ हजार ६३९ हेक्टर जमिनमा ३८ लाख ३१ हजार ९३ जना किसानले खेतीपाती गर्थे ।

१० वर्षमा किसान ११ प्रतिशतले घटेका छन् । खेती गर्ने जमिन पनि घट्यो । तर, सरकारी तथ्याङ्कअनुसार रासायनिक मलको प्रयोग चाहिँ बढ्दै गएको छ । कृषि गणनाकै प्रतिवेदनअनुसार १० वर्षको बीचमा विषादी तथा रासायनिक मल प्रयोग गर्ने किसानको संख्या २९ प्रतिशतले बढेर ४४.६ प्रतिशत पुगेको छ ।

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी रासायनिक मल, हाइब्रिड बीउको बढी प्रयोगले उत्पादन घट्दो रहेको बताउँछन् । अधिकारी स्वयं किसान हुन् । उनले तारकेश्वर नगरपलिकामा रासायनिक मल, विषादी प्रयोग नगरी जैविक खेतीपाती गर्दै आएका छन् ।

आफूले गरेको जैविक खेतीबाट राम्रो उत्पादन भएको र माटोको उर्वर क्षमता पनि राम्रो भएको उनले बताए ।

अहिले नेपालको ५८ प्रतिशत बढी माटोमा अम्लीयपना रहेको कृषि अनुसन्धान केन्द्र लुम्लेका वरिष्ठ माटोविज्ञ डा. भवप्रसाद त्रिपाठीले गरेको अध्ययनले देखाएको छ । देशका सबैजस्तो भूभागको माटोको पीएच ५.५ भन्दा कम रहेको सोही अध्ययनले देखाएको छ ।

किसानले प्रयोग गर्ने मल, विषादी र हाइब्रिड प्रजातिका खेतीबालीलाई माटो कमजोर हुने कारक अध्ययनले मानेको छ । तर, सरकारले वैकल्पिक कृषि प्रणालीलाई भन्दा बढी रासायनिक मल प्रयोगमा किसानलाई उक्साइरहेको जैविक खेतीपातीको क्षेत्रमा काम गर्नेहरुले आरोप लगाएका छन् ।

१० वर्षमा रासायनिक मल प्रयोग गर्ने किसानको बढ्दो संख्याले नै यो पुष्टि गर्छ । अध्ययनमा ३ लाख ८ हजार ५१२ किसानले अनुदान पाएकामा ४६.२ प्रतिशत अर्थात् १ लाख ४२ हजार ५७२ जना किसानले रासायनिक मलमा अनुदान पाएका थिए ।

दिगो कृषिका लागि अभियान चलाइरहेका डा. कृष्णप्रसाद पौडेल सरकारले कृषि अनुदानका नाममा रासायनिक मल, विषादी बाँड्ने र मलको कारखाना खोल्न अध्ययन थालनी गर्नुलाई कृषि माटो मार्ने र शासक धनी हुने अभियान भन्छन् ।

प्राङ्गारिक कृषि तथ्याङ्क अवस्थाबारे २०१८ मा गरिएको एउटा प्रतिवेदनअनुसार नेपालमा कुल जमिनको ०.२३ प्रतिशत अर्थात् ९ हजार ७८९ हेक्टर जमिनमा कृषि खेती छ । तीमध्ये सबै साना किसान होइनन् । १ हजार ४७० उत्पादक, १६ सहकारी समूह र २५ प्राइभेट कम्पनी रहेको तथ्यांक छ । यसको मतलब निकै सानो परिणाममा मात्रै जैविक खेतीपाती हुन्छ ।

अहिले देशमा वार्षिक ३ खर्बको हाराहारीमा कृषि उपज आयात हुन्छ । तर, देशभित्रका कृषक र कृषियोग्य माटो मर्ने अवस्थामा छन् । जैविक खेतीलाई केही प्रोत्साहन गरे झैं गर्ने र रासायनिक मल अनुदानमा बाँडेर दोहोरो कृषि नीति सरकारले अपनाएको छ ।

अभियन्ता डा. पौडेल भन्छन्, ‘५० वर्षदेखि देशको कृषिले विषादी र रासायनिक मलको बाटो लियो, त्यही बेलादेखि किसान मर्ने र शासक मोटाउने खेल सुरु भयो ।’

अहिले खेती प्रणाली र पानीको चक्रसमेत नमिल्ने अवस्था आएको उनले बताए । अव्यवस्थित र शासक केन्द्रित कृषि योजनाका कारण अनियन्त्रित रोग र कीराको आक्रमणमा कृषि माटो परेको बताउँदै डा. पौडेलले किसानसँगै हरेक मानिस बाँच्न दीर्घकालीन र जैविक कृषि थाल्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

One thought on “रासायनिक मलको बढ्दो प्रयोगले मर्दैछ कृषियोग्य माटो, कहिले खोज्ने विकल्प ?

  1. Very rightly said. Integrated soil nutrient management is crucial – scientific integration of organic and chemical fertilizers in a large scale farming such as that for staple food production whereas for small scale high vaklue farming, organic can be the best solution.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर