लोक संस्कृतिलाई विश्व बजारीकरण गर्ने बाटोमा लागिरहेका रामप्रसाद
कैलाली ।
ग्यास डिजेल पेट्रोलको भाउ महँगो भयो
सर्वहारा जनताको चुलो निम्ने भयो
सरकारलाई त छ रङ्गी चङ्गी
जनतालाई ढाँड सेक्ने महँगी….
देशै भरी भ्रष्टाचार तथा महँगी विरुद्धमा हुने साङ्गीतिक आन्दोलनमा प्राय सुन्न पाइने गीत हो यो । सरकारले पछिल्लो पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दा काठमाडौँको माइतीघर मण्डलामा पनि निकै घन्कियो यो गीत । आन्दोलनमा सरिक भएका सबैजसो यही गीत मार्फत सरकार प्रति आक्रोश व्यक्त गरिरहेका थिए ।
सर्वहारा वर्गको समस्या र सरकारको अवस्थाबारे गीत तयार गर्ने सर्जक हुन् रामप्रसाद अवस्थी । बैतडी जिल्लाका अवस्थी अहिले काठमाडौँमा गीत सङ्गीत मार्फत सामाजिक विषयवस्तु उठान गरिरहेका छन् ।
देउवा गीत मार्फत सङ्गीत क्षेत्रमा उठाएका अवस्थी अहिले लोक देउडा सँगै नेपाली लोक भाषाका राष्ट्रिय गीतहरूमा पनि चर्चा कमाउन थालेका छन् ।
अवस्थीले २०५७ सालमा पहिलो गीति एल्बम ‘रानी चणि’ बजारमा ल्याएका थिए । बैतडीको सिगास गाउँपालिका स्थित लेकलुपुण माध्यमिक विद्यालय अध्ययनकै क्रममा उनले पहिलो गीति एल्बम सार्वजनिक गरेका हुन् ।
सामान्य आर्थिक अवस्थामा रहेको उनलाई पहिलो गीत ल्याउन सहज भने भएन । तर, विद्यालय स्तरका बिभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउँदा जनाउँदै सङ्गीत प्रतिको लगावले भने उनलाई नछोड्ने गरि छोइसकेको थियो । घरमा भारत मजदुरीको लागि जाने भन्दै १५ हजार रुपैयाँ मागेर पहिलो गीत बजारमा ल्याएको स्मरण उनको मनस्थितिमा अझै ताजै छ ।
‘गीत गाउन पैसा माग्दा दिनुहुने थिएन तर, मलाई जसरी पनि गीत गाउनु र एल्बम निकाल्छु भन्ने थियो ’ उनले भने ‘भारतको पिथौरागढ काम गर्न जान्छु भनेर पैसा मागे र त्यहि पैसाले पहिलो गीत ल्याए । ’
पहिलो गीतनै निकै राम्रो भएपछि उनलाई सबैबाट राम्रो प्रतिक्रिया आयो । त्यसपछि दोस्रो एल्बम निकाल्न त्यति समस्या भएन । २०५९ सालमा ‘मेरि इजा’, २०६१ सालमा ‘रातो सलाम’ बजारमा ल्याए । त्यसै गरी २०६८ मा ‘सुदूरपश्चिम कलेजीमा’ २०७० मा ‘सुनै फल्ने देश’ २०७२ मा ‘सुदूरकी मूल्याई’ २०७२ मा ‘छमछम पाउजु’ २०७३ मा ‘ढल्क्यो लाली जोबन’ २०७४ मा सीमासम्बन्धी राष्ट्रिय गीत ‘अत्ति भयो’ २०७५ मा‘कालो बादल’ ‘जोई नभई नहुन्या’लगायत हालसम्म दर्जनौँ गीत ल्याइसकेका छन् ।
अवस्थी अहिले सम्म आफूले गाउने गीत आफूले लेख्ने र सङ्गीत दिने गरिरहेका छन् । हाल सम्म करिब चार दर्जनको हाराहारीमा त्यस्ता गीतहरू बजारमा ल्याइसकेको उनी बताउँछन् ।
२०७७ मा पास हुन्छु कि पिरतीमा नामक एल्बम सुदूरपश्चिममा निकै चर्चित बन्यो । सुदूरपश्चिमको देउडा संस्कृतिलाई राष्ट्रिय स्तरमा एक पटक चर्चामा ल्याउने काम गरेको उनको बुझाइ छ ।
‘देउडा गीतहरू सुदूरपश्चिममा विभिन्न कार्यक्रमहरूमा गाइने भएपनि राष्ट्रिय रुपमा त्यति चर्चा कमाउन सकेको थिए पास हुन्छु कि पिरतीमा ले एक कदम माथि उठाएको मलाई लाग्छ’ उनले भने ।
केही समय अघि सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेको लोक देउडा संस्कृतिलाई अझै उजार गर्ने उद्देश्यले काठमाडौँमा सांस्कृतिक समाज नेपाल नामक संस्था स्थापना गरिएको छ । अवस्थी उक्त संस्थाको संस्थापक अध्यक्ष हुन् ।
भदौँ ४ गते सांस्कृतिक समाज नेपालले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आथित्यतामा स्रष्टा अभिनन्दन तथा देउवा सांस्कृतिक साँझको आयोजना गरेको थियो । उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा मदन पुरस्कार पाउन सफल बरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्द,आरडि प्रभास चटौत, रामानन्द आचार्य,नन्दकृष्ण जोशी, मिथिला शर्मा, यज्ञराज उपाध्याय, डिग्रादेबी गाइने, सङ्गीता रोकाया लाई सम्मान गरिएको थियो ।
पहिलो पटक लोक देउडाका सर्जकहरूलाई काठमाडौँमा सामूहिक अभिनन्दन गरिएको अवस्थीले बताए ।‘सुदूरपश्चिमको देउडालाई राष्ट्रिय स्तरमा पुराउन भूमिका खेल्नु भएका सबैलाई हामीले भव्य समारोहका बिचमा अभिनन्दन गरेका थियौ’ उनले भने ‘हाम्रो कार्यक्रमले सङ्गीत क्षेत्रमा पनि भविष्य छ भन्ने कुरा देखाएको छ। ’
अढाई दशक देखी देउडा र लोक संस्कृतिमा रमाइरहेका अवस्थी माओवादी द्धन्द्धकालमा बैतडीबाट काठमाडौँ आएका हुन् । आफू लगायत गाउँका अन्य युवाहरूलाई पनि माओवादीले जनयुद्धमा होमिन बाध्य पारेपछि त्यहाँबाट उन्मुक्ति पाएर काठमाडौँ आएको उनी बताउँछन् ।
‘माओवादीमा लाग्न निकै दबाब दिइयो । एक हप्ता सम्म बाध्य पारेर लगियो त्यसपछि बैतडी छोडेर काठमाडौँ होमिए’ उनले विगत सुनाए ।
बैतडी छोडेपछि उनको सांस्कृतिक रुचि भने छुटेन ।
‘सुरुवाती दिनमा आर्थिक अवस्थाका कारण निकै समस्या भयो त्यसपछि फेरी पुरनै रुचिमा फकिए ’ उनले भने ‘अहिले सुदूरपश्चिमको देउडा सहित लोक संस्कृतिको माध्यमबाट जनताको आवाज बोलिरहेको जस्तो लाग्छ । यसैमा मलाई गर्व छ । ’
अवस्थी अहिले सांस्कृतिक समाज नेपालको अध्यक्षसँगै लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आजीवन सदस्य, राष्ट्रिय सङ्गीतकर्मी संघ सुदूरपश्चिम इन्चार्ज, राष्ट्रिय जन साङ्गीतिक महासंघ केन्द्रीय कमिटी सदस्य तथा तत्कालीन महाकाली अञ्चल इन्चार्ज। रोयल्टी संकलन समाज लगायतका संस्थाहरूमा आबद्ध छन् ।
देश तथा विदेशमा बिभिन्न कार्यक्रमहरूमा पनि सहभागिता जनाउने अवस्थी देउडा तथा लोक संस्कृतिको माध्यमबाट चेतनामूलक विषयहरू उठान गरिरहेका छन् । सुदूरपश्चिमको लोक संस्कृतिलाई विश्व बजारीकरण गर्ने र यहाँको मौलिक भाषालाई पनि प्रवर्द्धन गर्ने उनको रहर छ ।
‘जनजीविकाका मुद्दा र युवाहरूका आवाज पनि गीत सङ्गीतको माध्यमबाट सरकार सम्म पुराउनु पर्छ’ उनी भन्छन्, ‘सरकारसम्म पुग्न नसक्नेहरूको माध्यम हामी बन्नु पर्छ । ’