एकदिवशीय विश्वकपमा अहिलेसम्मकै ठूलो लक्ष्य, तीन ब्याट्सम्यानले बनाए शतक
काठमाडौं । भारतमा जारी एकदिवशीय विश्वकप क्रिकेटअन्तर्गत शनिबार दक्षिण अफ्रिकाले श्रीलंकालाई ४ सय २८ रनको लक्ष्य दिएको छ ।
विश्वकपमा यसअघि यति धेरै रन कुनैपनि टोलीले बनाउन सकेका थिएनन् । टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४ सय २८ रन जोड्यो । दक्षिण अफ्रिकाका तीन जना ब्याट्सम्यानले सतक बनाए ।
क्विन्टन डे ककले एक सय, एडन मक्रमले एक सय ६ र रस्सी भान डर डुसेनले एक सय ८ रन बनाए। यसअघि विश्वकपको एकै खेलमा एउटै टिमका तीन ब्याट्सम्यानले सतक बनाएका थिएनन्।
एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि २ पटक एकै खेलमा एकै टिमका तीन खेलाडीले सतक बनाएको इतिहास छ।
यस्तै, सन् २०१५ मा आयोजित विश्वकपमा अस्ट्रेलियाले अफगानिस्तानविरुद्ध बनाएको ४ सय १७ रन यसअघिको कीर्तिमानी योगफल थियो। दक्षिण अफ्रिकाले अस्ट्रेलियाको सोही कीर्तिमान तोडेको हो।
दक्षिण अफ्रिकाले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ८ पटक चार सयभन्दा बढी रन बनाएको छ जुन अन्य टिमभन्दा ६ पटकले बढी हो।
दक्षिण अफ्रिकाले विश्वकपमा मात्र ३ पटक चार सयभन्दा बढी रन बनाएको छ। मक्रम ४९ बलमा सतक पुरा गर्दै विश्वकपमा सबैभन्दा कम बलमा सतक पुरा गर्ने ब्याट्सम्यान बनेका छन्।