९ वर्षअघिको त्यो दर्दनाक सडक दुर्घटना : अहिले पनि बसमा यात्रा गर्न डराउँछन् स्थानीय – Nepal Press

९ वर्षअघिको त्यो दर्दनाक सडक दुर्घटना : अहिले पनि बसमा यात्रा गर्न डराउँछन् स्थानीय

डोटी । ९ वर्षअघि डोटीको जोरायलमा भएको कहालीलाग्दो एक सडक दुर्घटना भएको थियो । दुर्घटनापछि त्यो रुटबाट बसमा स्थानीयले यात्रा गर्न मात्रै छाडेनन्, अहिले त बस पनि  लगभग चल्नै छाडे ।

९ वर्षअघि २९ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनालाई सम्झँदै डोटी जोरायल गाउँपालिका–३ का रामसिंह कठायत भन्छन् ‘त्यो बस दुर्घटना जोरायलबासीका लागि कहिल्यै निको नहुने घाउ हो ।’ उनले त्यो घटनापछि यात्रुहरू बसमा भन्दा जीपमा सुरक्षित ठान्ने गरेको बताए ।

सो दुर्घटनापछि आफूहरूलाई बसमा यात्रा गर्न डर लाग्ने गरेको बताउँछिन् जोरायल गाउँपालिका–२ की कलसी पाठक । उनी भन्छिन्, ‘हाम्रो गाउँ त दुर्घटना भएको ठाउँभन्दा यतै हो, तर पनि गाउँ नजिकै भएको दुर्घटना सम्झिँदा बस देख्ने बित्तिकै मन झस्किन्छ ।’

उनी कहिलेकाहीँ बुडरबाट धनगढी जानु पर्दा पनि सो घटनाको याद आउने गरेको बताउँछिन् ।

दुर्घटनापछि केही समयसम्म कोही पनि सो सडकमा बसमा नचढ्ने गरेको जोरायल गाउँपालिका–३ का वडाध्यक्ष नवीन ओझा बताउँछन् । ‘बरु जोरायलबाट फल्टुडेसम्म हिँडेर जान्थे, तर बसमा चढ्न मान्दैनथे’ ओझाले भने ‘त्यो घटनाले स्थानीयको मनमा त्यति त्रास बसेको रहेछ ।’

उनले अचेल जीपहरूले घरघरमै पुर्‍याईदिने भएका कारण पनि स्थानीयहरू बसमा नचढ्ने गरेको बताए ।

जोरायल गाउँपालिका–४ का वडाध्यक्ष नन्दराज भट्ट पनि ओझाकै कुरामा सहमति जनाउँछन् । ‘यहाँका बासिन्दाहरूले बसमा नचढ्नुको दुईवटा कारण छन्’ वडाध्यक्ष भट्ट भन्छन् ‘सो घटनापछि स्थानीयहरू डराएर बस चढ्न छोडे, अचेल बसको भन्दा जीपले राम्रो सेवा दिन थालेपछि जीपमै यात्रा गर्छन् ।’

यस्तो थियो जोरायल बस दुर्घटना

आजकै दिन अर्थात् ०७१ साल असोज २० गते डोटी जोरायल गाउँपालिका–२ ९साबिकको छतिवन गाविस–५० कट्पत्तेमा भएको बस दुर्घटनामा २९ जनाले अकालमै ज्यान गुमाउनु पर्‍यो । दशैंको टिकाको भोलिपल्ट जोरायलबाट धनगढी जाने क्रममा सुदूरपश्चिम यातायातको ना ३ ख ५७०७ नम्बरको बस दुर्घटना भएको थियो । दुर्घटनामा ६८ जना घाइते भएका थिए । प्रहरीका अनुसार बसमा १ सय २५ भन्दा बढी यात्रुहरू थिए । यात्रुहरू बढी भएर बसको पत्ता टुटेपछि दुर्घटना भएको थियो ।

सो दुर्घटनाले जोरायलका साथसाथै देशले सक्रिय जनशक्ति गुमायो । दुर्घटनामा घाइते भएका दुई महिलाहरू अहिले पनि अर्काको सहारामा बाँचिरहेका छन् । डडेलधुरा अमरगढी नगरपालिका–४ की कल्पना विष्टलाई सो दुर्घटनामा परी मेरुदण्ड पक्षघात भयो । सोही दुर्घटनामा श्रीमान् र छोरी गुमाएकी कल्पना आफू पनि कहिल्यै निको नहुने गरी घाइते भइन् ।

सँगै जिउने सँगै मर्ने कसम खाएर तीन वर्षअघि विवाह बन्धनमा बाँधिएकी कल्पनाको जीवनको सहारा ह्वील चियर वनेको छ । हाल उनी काभ्रेको पुनर्स्थापना केन्द्रमा परामर्शकर्ताका रूपमा काम गर्दैछन् ।

कल्पनाको जस्तै अवस्था छ, कृष्णा शाहीको पनि । कैलालीको तेघरीमा बस्दै आएको कृष्णाको परिवार दशैं मनाउनका लागि जोरायल आएको थियो । दुई छोरा र एक छोरीलाई तेघरीमै छोडेर दशैं मनाउन आएका श्रीमान्–श्रीमतीलाई उक्त घटनाले कहिल्यै मिलन नहुने गरी बिछोड गरायो ।

कृष्णाका श्रीमान् राजेन्द्र शाहीको दुर्घटनास्थलमै मृत्यु भयो । कृष्णा पनि कल्पना जस्तै मेरुदण्ड पक्षाघात भएर बाँचिरहेकी छन् । मेरुदण्ड पक्षाघात भएर दिशापिसाब भएको समेत थाह नपाउने अवस्थामा रहेकी कृष्णालाई उनका छोराछोरीहरू र भतिजा–बुहारीहरूले जिउने सहारा दिइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *