सुदूरपश्चिममा ओली : शहीद गोविन्द गौतमको सालिकमा माल्यार्पण – Nepal Press

सुदूरपश्चिममा ओली : शहीद गोविन्द गौतमको सालिकमा माल्यार्पण

कैलाली । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली धनगढी आइपुगेका छन् । एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन उद्घाटन समारोहका लागि ओली यहाँ आएका हुन् । धनगढी आएलगत्तै उनले शहीद गोविन्द गौतमको सालिकमा माल्यार्पण गरे ।

ओलीसहितका नेता कञ्चनपुर पुनर्वास नगरपालिका-४ स्थित शहीद गोविन्द गौतम पार्क पुगेका थिए । २०७३ फागुन २६ गते सीमा अतिक्रमका विरुद्ध आन्दोलनमा भरतीय सीमा सुरक्षा बल एसएसबीको गोलि लागेर गौतमको मृत्यु भएको थियो ।

को हुन् गोविन्द गौतम ?

२०७३ फागुन २६ गतेका दिन कञ्चनपुरको पुनर्वासस्थित आनन्दबजार नजिकै नेपाली भूभागमा कल्भर्ट बनाउने विषयमा भएको हिंसात्मक झडपमा भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली हानी नेपाली युवा गोविन्द गौतमको हत्या गरेको थियो । खोलापारी रहेको सीमा स्तम्भ उखेलेर गायब गरी त्यसनजिकै रहेको नेपाली भूभाग कब्जा गर्दै आएका भारतीयहरूको हेपाहा प्रवृत्ति र दमनका कारण विभिन्न समयमा भारतीय र नेपालीको द्वन्द्व भइरहने उक्त क्षेत्रमा नेपाली पक्षले आफ्नै भूमिमा कल्भर्ट निर्माण गर्दा भारतीय पक्षले अवरोध गरेपछि भएको उक्त घटनाले भने ठूलै रूप लिएको थियो ।

भारतीय पक्षसँगको विवादपछि उत्पन्न हिंसात्मक घटनामा ज्यान गुमाएका गौतमलाई नेपाल सरकारले शहीद घोषणा गरेको थियो । देशको सीमा रक्षार्थ प्राण त्यागेका गौतमको सम्मानमा उनकै परिवारको नाममा रहेको ५ कट्टा जमिनमा गौतमको अर्धकदको सालिकसहित स्मृति पार्क निर्माण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर