दक्ष युवा शक्ति विदेश पठाएर कस्तो समृद्ध राष्ट्रको कल्पना गर्दैछौं ? – Nepal Press

दक्ष युवा शक्ति विदेश पठाएर कस्तो समृद्ध राष्ट्रको कल्पना गर्दैछौं ?

पछिल्लो समय विदेशिने युवाहरुको संख्या व्यापक वृद्धि भएको छ । दिनहुँ सयौंको संख्यामा विदेशिने नेपालीहरुको भीड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन् । २०७८ साउनदेखि २०८० साउनसम्मको दुई वर्षको अवधिमा १५ लाख नेपाली युवा रोजगारका लागि विदेशिएको तथ्याङ्क छ । २०६२/६३ सालको जनआन्दोलनयता करिब ५८ लाखभन्दा बढी युवा श्रम स्वीकृति लिएर विदेश गएको सरकारको तथ्यांकमा देखिन्छ ।

यो त श्रम स्वीकृति लिएर वर्किङ भिसामा गएका युवाहरुको तथ्याङ्क हो । स्टुडेण्ट भिसामा विदेशिने युवाहरुको तथ्याङ्क पनि उस्तै चिन्ताजनक देखिन्छ । आर्थिक वर्ष २०७५/०७६ मा ६३ हजार २५१, २०७६/०७७ मा ३४ हजार ९४, २०७७/०७८ मा २७ हजार ९७८, २०७८/०७९ मा १ लाख १२ हजार ९६८ जना वैदेशिक अध्ययनको लागि विदेशिएका छन् । गत आर्थिक वर्ष २०७९/०८० मा मात्रै १ लाख १० हजार २१७ जना वैदेशिक अध्ययनको लागि विदेशिएका छन् ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि १० प्रतिशतले वृद्धि भएको देखिन्छ । यो तथ्याङ्कअनुसारको अनुपातमा विदेशिने नेपालीको संख्या बढ्दै जाने हो भने आखिर नेपालमा बस्ने चाहिँ को हो ? यो प्रश्नले राष्ट्रप्रेमीहरुको मन जलेको छ । आखिर किन यति ठूलो मात्रामा नेपालीहरु विदेशिएका छन् ? देशमा आशा जगाउने कुनै पनि क्षेत्र नभएर ? यो देश बन्ने सम्भावना नभएर ? राजनीतिक वितृष्ण ? राज्यका हरेक प्रणाली कमजोर भएर ? बेरोजगारी भएर ? सुखसयलको जीवन बिताउन वा नेपाली सुविधाभोगी भएर या ग्लोबलाइजेशनको कारणले ? प्रश्नहरु खडा भएका छन् ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि १० प्रतिशतले वृद्धि भएको देखिन्छ । यो तथ्याङ्कअनुसारको अनुपातमा विदेशिने नेपालीको संख्या बढ्दै जाने हो भने आखिर नेपालमा बस्ने चाहिँ को हो ? यो प्रश्नले राष्ट्रप्रेमीहरुको मन जलेको छ । आखिर किन यति ठूलो मात्रामा नेपालीहरु विदेशिएका छन् ?

सरकारले देशका नागरिकहरुलाई आशा जगाउन नसक्दा विदेशिनेको परिणाम बढ्दै गएको कुरालाई नकार्न सकिँदैन । समग्रमा भन्दा पर्याप्त र जीवनमुखी रोजगारीको अवसर सिर्जना नहुनु, राजनीतिक दलहरुमा नैतिकताको खडेरी पर्नु, राजनीतिक अस्थिरता र संक्रमण नटुंगिनुले देशको अवस्था बदलिने सम्भावना नागरिकहरुले देख्न छोडेका छन् । सर्वसाधारण नागरिकको जीवनस्तर सुध्रने विश्वास हराउँदै जान थालेपछि स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने सरकारको कुरा अब नेपाली युवाले पत्याउनै छोडेका छन् । जसका कारण दक्ष युवा जनशक्ति विदेशिन बाध्य हुने अवस्था आएको देखिन्छ । सरकारले युवालाई रोजगार दिने विभिन्न कार्यक्रम घोषणा गरे तापनि त्यो कार्यान्वयन नहुनु, झन्झटिलो प्रक्रिया र अपर्याप्तताका कारण युवाहरुको आकर्षण त्यसमा देखिँदैन ।

देशभित्र नियमित र राम्रो तलब आउने स्रोत नहुनु तथा रोजगारी नै नपाउने भएपछि युवा विदेश उडेका छन् । दिन प्रतिदिन देशको अवस्था कमजोर हुँदै जानु, ‘राजनितिक दलहरुले सत्ताको मात्र लडाइँ लड्नु, अर्थतन्त्रमा मन्दी छाउनु, व्यापार व्यवसाय गर्नेलाई वातारण नहुनुलगायतका कारणले पछिल्लो समय नेपाली युवाहरुमा चरम निराशा देखिएको छ । यसैको परिणाम ठूलो श्रमशक्ति तथा बौद्धिक दक्ष जनशक्ति पलायन हुन पुगेको छ । देशभित्र बसेर दैनिक जीवनयापन गर्नसमेत नसकिने अवस्था सिर्जना भएपछि विदेशिनुलाई पनि हामी अस्वाभाविक मान्नुहुँदैन होला ।

विभिन्न बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिने सरकारी कार्डलाई चुनौती दिँदै ठूलो संख्यामा युवाहरु विदेश पलायन भएका छन् । विदेशिनेको तथ्याङ्क हेर्दा गाउँका घरमात्र होइन, अब शहरबजारका घरसमेत खाली हुँदै जान थालेका छन् । अध्ययन र रोजगारीका लागि युवा जनशक्ति विदेशिँदा ग्रामीण भेगका अधिकांश स्थानहरुमा वृद्धवृद्धामात्र घर कुरेर बस्न बाध्य भएको देखिन्छ । वृद्धवृद्धा बिरामी हुँदा औषधोपचार गर्न लैजाने छोराछोरी घरमा नहुँदा धेरै बाआमाहरुले पानीसमेत खान नपाई ज्यान गुमाएका छन् । विदेशिएका छोराछोरीको पर्खाइमा नेपालमा लासले समेत हप्तौं दिन कुर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

यी यस्ता हृदयविदारक तथ्य र तथ्याङ्कले नेपाल कुन दिशामा अग्रसर भएको छ भनेर चिन्तित बनाएको छ । विशेषगरी विदेशिनेको प्रकृति हेर्दा स्टुडेण्ट वा अध्ययन भिसा र वर्किङ भिसामा नै नेपाली युवा विदेशिएका छन् । स्टुडेण्ट भिसामा जाने युवाहरुको मनस्थिति पनि नेपाल फर्कने देखिँदैन । उनीहरु उतै घरबार जमाएर परिवारसमेत उतै लैजाने सपना बोकेर विदेशिएको देखिन्छ । नेपालबाट विशेषतः स्टुडेण्ट भिसामा जानेहरु जापान, क्यानडा, अष्ट्रेलिया, अमेरिका, न्युजिल्याण्ड, युके, कोरियालगायतका देशमा गएको देखिन्छ । अध्ययनको लागि भनेर जानेहरुको पनि उद्देश्य भनेको उतै बस्ने नै देखिन्छ । नेपालबाट वैदेशिक अध्ययनको लागि सबैभन्दा बढी अष्ट्रेलिया र क्रमशः दोस्रो र तेस्रोमा जापान र क्यानडामा गएका छन् ।

विभिन्न बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिने सरकारी कार्डलाई चुनौती दिँदै ठूलो संख्यामा युवाहरु विदेश पलायन भएका छन् । विदेशिनेको तथ्याङ्क हेर्दा गाउँका घरमात्र होइन, अब शहरबजारका घरसमेत खाली हुँदै जान थालेका छन् । अध्ययन र रोजगारीका लागि युवा जनशक्ति विदेशिँदा ग्रामीण भेगका अधिकांश स्थानहरुमा वृद्धवृद्धामात्र घर कुरेर बस्न बाध्य भएको देखिन्छ ।

वर्किङ भिसामा भने अहिले मलेसिया, साउदी अरेबिया, कतार, यूएई, कुवेत, ओमान, बहराइन, दक्षिण कोरिया नेपालीका प्रमुख श्रम गन्तव्य बनेका छन् । युरोपको विकसित देशमा छिर्ने बाटो खोजिरहेका युवाहरू पोर्चुगल, क्रोएसिया, पोल्यान्ड, रोमानिया, माल्टा, हङ्गेरी जस्ता देशमा जान थालेका छन् । त्यतिमात्र होइन भिजिट भिसामा गएर सम्बन्धित देशबाटै वर्क पर्मिट लिएर काम गर्ने नेपालीहरुको संख्या पनि कम देखिँदैन । विभिन्न भिसामा विदेश गएकामध्ये ४० प्रतिशतभन्दा बढी युवाहरु सम्बन्धित देशको कार्ड पाउने आश गरेर नेपाल छोडेका छन् । यी यस्ता तथ्य र तथ्याङ्कले नेपालीको विदेशिनै पर्ने आम नियति नफेरिने संकेत गरिरहेको छ । यही अनुपातमा विदेशिने नेपालीको संख्या वृद्धि हुँदै जाने हो भने विकराल अवस्था सिर्जना नहोला भन्न सकिँदैन ।

विश्वमा सबैभन्दा महँगो संशाधन, मानव संशाधन भए पनि नेपाल भने धनी राष्ट्रहरुका लागि सस्तो मूल्यमा जनशक्ति पठाउने अखडा बन्न पुगेको छ । लाखौंको संख्यामा युवा जनशक्ति विदेशिँदा पनि सरकारी तवरबाट भने कुनै चासो र ध्यान गएको देखिँदैन । सरकारले युवाहरुलाई नेपालमै बस्ने ठोस कार्ययोजना अगाडि सार्न नसक्दा, बेरोजगारीको चरम संघर्ष गर्नुपर्दा र देशको व्यवस्थापकीय प्रणाली सुधार हुन नसक्दा आमनेपालीहरुमा वितृष्णा जागेको देखिन्छ । लाखौंको संख्यामा युवाहरु विदेश पठाएर नेताहरु भने समृद्ध राष्ट्रको कल्पना गरेर आमनागरिकमा नयाँ सपना बाड्दै हिँड्न पछि हटेका छैनन् । दक्ष जनशक्ति विदेश पठाएर आखिर हामी कस्तो समृद्ध राष्ट्रको कल्पना गरेका छौं ? सोचनीय छ ।

हाम्रो देशको समृद्धिको प्रमुख आधार हामीले भन्दै आएको पहिलो कृषि दोस्रो पर्यटन, तेस्रो ऊर्जा र उद्योग हो । तर, यिनै क्षेत्र आज रुग्ण अवस्थामा गुज्रिएका छन् । रुग्ण अवस्थामा गुज्रिएका यी क्षेत्रमा खडलैखाडल छन्, जसले गर्दा समृद्धिको दूरी बढाएको छ । अर्कोतर्फ दक्ष जनशक्ति विदेशी राष्ट्रको समृद्धिमा उपयोग हुँदा नेपालमा भने युवा र दक्ष जनशक्तिको अभावमा मुलुक अल्पविकासको दलदलमा फसेको छ । पछिल्लो समय नेपालमा देखिएका यस्ता किसिमका समस्याको अन्त्य गर्न अब सरकारले ठोस कार्ययोजना ल्याउन ढिलाइ गर्नुहुँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *