इजरायली समकक्षीसँग संवाद गरेर नेपालीको उद्धार गर्न प्रधानमन्त्री प्रचण्डलाई एमालेको ध्यानाकर्षण (भिडिओ) – Nepal Press

इजरायली समकक्षीसँग संवाद गरेर नेपालीको उद्धार गर्न प्रधानमन्त्री प्रचण्डलाई एमालेको ध्यानाकर्षण (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले इजरायलमा हमासको आक्रमणमा परेका नेपालीलाई उद्धार गर्ने काममा एक मिनेट पनि ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

आइतबार सदनमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले सो आक्रमणमा परी बन्दी जीवन बिताइरहेका नेपालीको तत्काल उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले त्यहाँका समकक्षी बेन्जामिन नेतान्याहूसँग तत्काल संवाद गर्नुपर्ने बताए ।

आक्रमणमा घाइते नेपालीहरुको उपचार गर्ने काममा ढिलाइ नगर्न पनि उनले सरकारलाई सचेत गराए । विदेशमा रहेका नागरिकहरूको पीडालाई तत्काल सम्बोधन गर्ने दायित्व सरकारको भएकाले यो कामलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने गिरीको भनाइ छ ।

उनले भने, ‘हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनीहरू पनि त्यो घटनामा परेको र केही गम्भीर घाइते भएको, केही अहिलेसम्म हराइरहेको र केही अत्यन्तै कष्टपूर्ण स्थितिमा घर भित्र लुकेर बस्नु परेको काम गर्ने कारखाना, नर्सिङ होमलगायतका ठाउँहरुमा लुकेर बस्नुपरेको र छिटो भन्दा छिटो आफ्नो जीवन उद्धार गर्नका लागि अपील गरेका विभिन्न कुराहरु बाहिर आएका छन । एक मिनेट पनि उहाँहरूको जीवन रक्षाका निम्ति हामीले ढिलाई गर्न सक्ने अवस्था छैन । यो देशमा सरकार छ । मुलुकमा राज्य छ । ती नागरिकहरुको अभिभावक यो सरकार हो भने यसमा सरकारले अत्यन्तै प्रभावकारी ढंगले आफ्ना कदमहरुलाई अगाडि बढाउनु पर्छ भन्ने म ठान्छु । सरकारले एउटा विज्ञप्ती जारी गरेर मात्रै पुग्दैन सभामुख महोदय । सरकारले संसदमा आएर त्यहाँको घटनाको विवरण दिएर मात्रै पनि पुग्दैन सभामुख महोदय । देशको प्रधानमन्त्रीले त्यहाँका प्रधानमन्त्रीसँग फोन गर्नुपर्‍यो । हाम्रा नागरिकहरुको छिटो भन्दा छिटो जीवन रक्षा हुनु पर्‍यो । उनीहरुलाई उद्धार गर्नुपर्‍यो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर