कांग्रेसमा प्रचण्ड सरकारविरुद्ध बढ्दाे मोर्चाबन्दी, सम्भव होला एमाले-माओवादी जुगलबन्दी ? – Nepal Press

कांग्रेसमा प्रचण्ड सरकारविरुद्ध बढ्दाे मोर्चाबन्दी, सम्भव होला एमाले-माओवादी जुगलबन्दी ?

काठमाडौं । पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बालुवाटारबाट बालकोट फर्काउन भूमिका खेल्नेमध्येका एक हुन्- माओवादी उपमहासचिव वर्षमान पुन । प्रचण्ड बालकोट पुगेर एमालेको समर्थनमा प्रधानमन्त्री त बने तर त्यो सहकार्य लामो समयसम्म टिकेन ।

प्रचण्डले राष्ट्रिय सहमति भन्दै एमालेलाई राष्ट्रपति छाड्न तयार नभएपछि पुस १० को समीकरण भत्किएको थियो । त्यसबेला वर्षमान उपचारको क्रममा चीनमा थिए । त्यसबेला माओवादीमा वर्षमान घटक एमालेसँगको सहकार्य जोगाएर जानुपर्ने पक्षमा थियो ।

अहिले सत्ता गठबन्धनका सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसभित्र प्रचण्डको विकल्प खोज्नुपर्ने दबाब बढ्दै जाँदा उनले फेरि एमालेसँग सहकार्य हुनसक्ने प्रसंग कोट्याएका छन् । सहकार्यमात्रै नभएर फेरि पार्टी नै एकता हुनसक्ने सम्भावनासमेत वर्षमानले व्यक्त गरे । पुन: मिल्नुपर्ने अवस्था आउन सक्ने भएकाले धेरै टाढा पुगेर माओवादी आन्दोलनको योगदानलाई अवमूल्यन नगर्न एमाले अध्यक्ष ओलीलाई उनको आग्रह छ ।

‘हिजो हामीले नेकपा बनायौं । यद्यपि टिकाउन सकिएन, इतिहासले त्यसको समीक्षा गर्दै गर्ला । कम्युनिष्ट पार्टीहरू मिलेर फेरि पनि ढिलो चाँडो संयुक्त मोर्चा, पार्टी एकता, गठबन्धन या संयुक्त सरकार कुनै पनि रूपमा जाने सम्भावना छ’, पुनले शनिबार एक कार्यक्रममा भने ।

उनले केही समयअघि नेपाल प्रेससँगको अन्तर्वार्तामा ओली र प्रचण्ड दुवै जोखिम लिनसक्ने नेता भएकाले पुनः एकताको सम्भावना भएको स्वीकारेका थिए ।

नेपालको सत्ता समीकरण फेरबदलमा छिमेकी मुलुकको पनि हात हुन्छ भन्ने कुरा पछिल्लो परिदृष्यबाट लुकेको छैन । माओवादी नेता पुन चीनसँग नजिक छन् । चीनले नेपालमा कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउन प्रयास गरिरहेको छ । यसअघि नेकपाको एकता भंग हुनबाट रोक्न पनि ठूलै प्रयास गरेको थियो । तर, सफल भएन ।

अहिले प्रचण्डले कांग्रेससँग सत्ता सहकार्य गरेर अर्को छिमेकी मुलुक भारतसँग पनि सम्बन्ध स्थापित गराउन खोजेको चर्चा छ । तर, माओवादीभित्र प्रचण्डलाई आगामी निर्वाचनलाई पनि केन्द्रित गरेर कम्युनिष्ट एकताको पहल गर्नुपर्नेमा पनि सचेत गराउन थालेका छन् ।

नयाँ दलको उदयले आगामी निर्वाचनमा पुराना दललाई एक्लै चुनावमा जानसक्ने अवस्था छैन । कांग्रेसभित्र आगामी निर्वाचनमा एक्लै जान दबाब बढिरहेको छ । यही परिस्थितिमा पूर्वमाओवादीदेखि समाजवादी मोर्चासम्मको प्रयासमा सोचेअनुरूप प्रगति हुने नदेखिएपछि एमालेसहित कम्युनिष्ट एकताको पहल गर्नुपर्ने आवाज उठ्न थालेको हो ।

माओवादी नेताहरुको एकपछि अर्को गर्दै चीन भ्रमण र कम्युनिष्ट एकताको प्रयास भइरहेको बेला बर्षमानको अभिव्यक्तिलाई राजनीतिक वृत्तमा अर्थपूर्णरूपमा लिइएको छ । प्रधानमन्त्री प्रचण्ड पनि हालैमात्र एक साता लामो चीन भ्रमणबाट फर्किएका छन् ।

प्रचण्ड जानुअघि एमाले महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय टोली चीन भ्रमणमा गएको थियो । त्यसअघि माओवादीकै उपाध्यक्ष अग्निप्रसाद सापकोटा, लगत्तै महासचिव देव गुरुङ पनि चीन भ्रमणमा गएका थिए । नेपालमा कम्युनिष्ट एकताको पहल चीनले गरिरहेको छ भन्ने कुरा कहिँ लुकेको विषय होइन ।

तर, माओवादीका सचिव दिनानाथ शर्मा भन्छन्, ‘चीनले कम्युनिष्ट एकताको पहल गरेपनि त्यो मिल्ने वा नमिल्ने भन्ने कुरा बाहिरको हात हुँदैन । हामीमै जिम्मेवार रहन्छ ।’

उनले कम्युनिष्ट एकताको विषयमा नेपालकै राजनीतिक दलहरुको भूमिका हुने भएकाले प्रधानमन्त्रीको चीन भ्रमणमा त्यसबारे छलफल नभएको बताए ।

अहिले कांग्रेसमा सभापति शेरबहादुर देउवालाई इतर पक्षका नेताहरू डा. शेखर कोइराला, महामन्त्री गगन थापालगायत नेताहरूले प्रचण्ड सरकारको विकल्प खोज्नुपर्ने दबाब बढाइरहेका छन् । प्रधानमन्त्रीले अराजकतालाई मलजल गरेको भन्दै नसच्चिए सरकार छाड्न शेखरले चुनौती दिँदै आएका छन् । पार्टीभित्र प्रचण्ड सरकारविरुद्ध माहोल बनाउन लागेका छन् उनीहरू ।

तर, प्रचण्ड फेरि एमालेसँगै गएर जुनसुकै बेलामा मिल्न सक्छन् भन्नेमा देउवा सशंकित र सचेत छन् । ०७४ को निर्वाचनमा एमाले र माओवादी मिलेर २३ सीटमा खुम्चिएको अनुभव देउवासँग छ । त्यसैले अहिले पार्टीभित्रबाटै दबाब आएपनि गठबन्धनभित्र बनेको आलोपालो सहमतिअनुसार नै अघि बढ्ने देउवाको अडान छ ।

यता, एमाले गठबन्धनभित्रको अन्तरविरोधमा खेलेर जसरी भएपछि गठबन्धन भत्काउने रणनीतिमा छ । तर, प्रचण्डले गठबन्धनमा कांग्रेसलाई दबाबमै राख्न नेकपा एस, जसपा र विप्लव नेतृत्वको नेकपालाई मिलाएर समाजवादी मोर्चा बनाएका छन् ।

‘कांग्रेसको विवादलाई नियालिरहेका छौं’

तर, कांग्रेसभित्र एकमत नभएकाले प्रचण्डको विकल्प खोज्नुपर्छ भनेर कांग्रेसभित्र उठेको आवाजलाई स्वाभाविकरूपमा लिनुपर्ने माओवादी केन्द्रका सचिव गणेश साह बताउँछन् ।

उनले भने, ‘कांग्रेस आफैँमा एकमत छैन । पार्टीभित्र संस्थापन र इतर पक्ष भइराखेका छन् । संस्थापन पक्ष र सरकारको विरोध गर्ने छोड्नुपर्छ भन्नुलाई स्वाभाविकरूपमा लिएका छौं ।’

उनले पार्टीभित्रका केही नेता एमालेसँग सहकार्य गर्नुपर्छ भन्ने पक्षमा रहेको स्वीकारे ।

उनले थपे, ‘हाम्रो पार्टीका नेताहरूले पनि एमालेसँगको सहकार्यको विषयमा कुरा उठाइराख्नुभएको छ । तर, संस्थागतरूपमा कुराकानी भएको छैन । यसअघि पनि हामी एमालेसँगै सहकार्य गरेर सरकारको नेतृत्व गरेका हौं । तर, तत्काललाई एमालेसँग मिलेर केन्द्रीय सरकार बनाउने सम्भावना कम देख्छु ।’

उनले कोशी प्रदेशतर्फ संकेत गर्दै कुनै प्रदेशमा एमाले-माओवादीको सहकार्यलाई नकार्न नसकिने बताए ।

साहले भने, ‘कांग्रेसमा गगनजी र शेखरजीहरूले विरोध गरेपनि आधा कार्यकाल मोर्चालाई दिने आधा कार्यकाल कांग्रेसले चलाउने भन्ने बाहिर बसेर समर्थन गर्ने भन्ने सुनेका छौं । पार्टीभित्र साह्रो गाह्रो परेपनि संस्थापन पक्षबाट शेरबहादुरजी, माधवजी, उपेन्द्रजीहरू प्रचण्डसँगै जाने मनस्थितिमा हुनुहुन्छ । तर, त्यसैले सत्ता समीकरण परिवर्तनको सम्भावना छैन ।’

माओवादीका अर्का एक नेता भन्छन्, ‘अहिले कांग्रेसभित्रको विवादलाई हामीले नजिकबाट हेरिरहेका छौं । देउवाजी अहिलेसम्म गठबन्धनमा भएको सहमतिको विकल्प खोज्ने पक्षमा हुनुहुन्न । कांग्रेसमा उहाँकै नै निर्णय लागू हुने हो । तर, उहाँहरूले केही चलाखी गर्न खोज्नुभयो भने हामी पनि तयार नै छौं ।’

गठबन्धन भत्काउनेबारे अहिले छलफल नभएपनि एमाले नेताहरूसँग निरन्तर संवादमा रहेको ती नेताले बताए ।

‘माओवादीसँगको सहकार्य हुनसक्छ’

यता, एमाले सचेतक महेश बर्तौला अहिलेको परिस्थितिमा माओवादीसँग फेरि सहकार्य हुनसक्ने बताउँछन् ।

उनी भन्छन्, ‘माओवादीसँगको सहकार्यको सम्भावना टाढाको विषय छैन । हिजो पनि हामीले सहकार्य गरेका थियौं । तर उहाँहरूले नै धोखा दिनुभएको हो । अहिलेको परिस्थितिमा त्यो सम्भावना छैन भन्न सकिँदैन । हुनसक्छ ।’

अहिले माओवादीसँग सहकार्य हुने तहमा छलफल भइनसकेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

उनले भने, ‘अहिलेको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनका लागि हिजो पनि प्रधानमन्त्री र हाम्रो अध्यक्षबीच कुराकानी भएको हो । अहिलेको समसायिमक विषयवस्तुमा कुराकानी गर्दा अहिलेको तरल राजनीतिक अवस्थामा राष्ट्रिय मुद्दालाई सम्बोधन गर्न नसकेको विषयमा विभिन्न विकल्पमा छलफल भएका छन् । तर, सरकारको फेरबदल, गठबन्धन भत्काएर नयाँ बनाउने भन्नेबारे कुनै भएको छैन ।’

उनले राजनीति सम्भावनाको खेल भएकाले तरल राजनीति भइरहेको अवस्थामा जुनसुकै ढोका खुला रहेको बताए ।

बर्तौलाले भने, ‘उहाँले यो गठबन्धन सधैँ कायम नै रहन्छ पनि भन्न सक्नुभएको छैन । राजनीतिमा विभिन्न विकल्पहरूमा छलफलको प्रक्रिया त भइरहेको छ । तर, अहिले भइरहेको अविश्वनियता, अस्थिरता विकसित भइरहेका छन् । त्यसले नयाँ ढोका खोजिरहेको छ ।’

उनले कांग्रेसमा देउवाको निर्णय नै हावी हुने भएकाले इतर पक्षको असन्तुष्टिको धेरै महत्व नहुने बताए ।

उनले भने, ‘कांग्रेसभित्र अहिले देखिएको असन्तुष्टिमात्रै हो । कांग्रेसमा शेरबहादुर देउवाले पार्टीको औपचारिक धारणा नसारेसम्म केही हुँदैन । कांग्रेसभित्र असन्तुष्टि भएपनि अहिलेसम्म मौन छ । इतर पक्षले देखाएको असन्तुष्टिलाई नै लिएर नयाँ राजनीतिक भविष्यको गठजोड गर्नु चाहिँ चाँडो हुन्छ ।’

कांग्रेस भन्छ- माओवादी हतारिँदैन

पार्टीभित्र नेताहरूले कुरा उठाए पनि कांग्रेस अहिले प्रचण्ड सरकारको विकल्प खोज्ने पक्षमा नरहेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा बताउँछन् ।

उनले भने, ‘कांग्रेसका केही साथीहरूले पार्टीको बैठक र बाहिर पनि गठबन्धनलाई चुनौती दिनेगरी दिएका प्रतिक्रिया स्वरूप माओवादीले हामी पनि खुला छौं भनेर दिएको हुनसक्छ । तर, शीर्ष नेताहरूबीचको सहमति सहजै भत्किँदैन ।’

प्रचण्डलाई एमालेसँगको भन्दा कांग्रेससँगको सहकार्य भरपर्दो लाग्ने यसअघिको अभ्यासबाट पनि देखिसकेको उनको भनाइ छ ।

विश्वकर्माले भने, ‘एमालेसँग सहकार्य हुन्छ भनेर उहाँहरुले एक झल्लो दिइसक्नुभयो । ३२ दिन सहकार्य पनि गर्नुभएकै हो । त्यो हुनसक्दैन भन्ने भ्रममा पनि कांग्रेस छैन । र, भइहाल्छ भन्नेमा यसअघि जति छिटो जम्प गरेर कांग्रेसको साथ खोज्नुभयो । त्यसले एमालेसँगको भन्दा कांग्रेससँगको सहकार्य भरपर्दो हुन्छ भन्नेमा प्रधानमन्त्री हुनुहुन्छ ।’

शीर्ष तहमा गठबन्धन नतोडिने सहमति भएको उनको दाबी छ ।

उनले थपे, ‘माधव नेपालले गठबन्धन भत्किँदैन भनिराख्नुभएको छ । हाम्रो पार्टी सभापतिले पार्टीको बैठकमा रुलिङ नै गर्नुभयो गठबन्धनको विकल्प खोज्ने बेला भएको छैन धेरै नबोल्नुस् भनेर त्यसैले माओवादीले पनि अहिले हतारो गर्छ भन्ने लाग्दैन ।’


प्रतिक्रिया

2 thoughts on “कांग्रेसमा प्रचण्ड सरकारविरुद्ध बढ्दाे मोर्चाबन्दी, सम्भव होला एमाले-माओवादी जुगलबन्दी ?

  1. कांग्रेस र एमालेको नेतृत्वले बुझ्नुपर्छ, प्रचण्डलाई अघि लगाएर अनि उपयोगितावादलाई सघाएर न उनीहरूप्रति जनता आसावादी हुन्छन्, न लोकतान्त्रिक व्यवस्था बलियो हुन्छ न त देशको परिस्थिति नै सुध्रन सक्छ। यसर्थ कुनै विलम्ब नगरी कांग्रेसले कम्फर्टेबल गठबन्धनको नेतृत्व छोडेको सार्वजनिक घोषणामार्फत एमालेसँग सहकार्य गर्न नीति तथा कार्यक्रमको जगमा तयार हुनुपर्छ। एमालेले पनि राष्ट्रिय स्वार्थमा कांग्रेससँग सहकार्य गर्ने बाटो लिनुपर्छ।
    अहिले नेपाली कांग्रेस र नेकपा एमालेले सामु आफ्ना विगतका कमजोरीहरू सच्याउने र देशको भविष्य उज्ज्वल बनाउने संकल्पका साथ अघि बढ्ने सुवर्ण अवसर कोशी प्रदेशको संकटले ल्याइदिएको छ। इतिहासमा यस्ता अवसर बिरलै आउँछन्। विगतमा संविधान बनाउन कांग्रेस र एमालेले गरेको सहकार्य र खेलेको भूमिका जस्तै सहकार्य र नयाँ भूमिका अर्को रूपमा कोशी प्रदेशबाट सुरू गर्नुपर्ने भएको छ। आज देशको स्वार्थमा कांग्रेस र एमालेले सहकार्य गर्न सक्नैपर्छ।

  2. नेपाली कांग्रेस र माओवादीको होला तर एमाले र माओवादी त सम्झने पानी छम्कने मेरो विचारमा है।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर