शिक्षा विधेयकमा थाती रहेका विषय नियमावलीमार्फत संशोधन गरिन्छ : मन्त्री राई – Nepal Press

शिक्षा विधेयकमा थाती रहेका विषय नियमावलीमार्फत संशोधन गरिन्छ : मन्त्री राई

काठमाडौं । शिक्षामन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयकका सन्दर्भमा आएका उपयुक्त सुझावलाई संशोधनमार्फत र केही विषयलाई नियमावलीमार्फत संशोधन गरिने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री राईले शिक्षकहरुसंग भएको सहमति र सरोकारवालाहरुको उपयुक्त सुझावलाई समावेश गरेर विधेयकलाई पूर्ण बनाइने बताएका हुन् ।

माध्यमिक तहको विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिँदा तीनै तहको अधिकारलाई पनि ध्यानमा राखिएको उनले बताए । त्यस्तै, उनले नयाँ निजी विद्यालय खोल्दा गुठीमा जानुपर्ने र भएका विद्यालयहरुले चाहेमा मात्रै गुठीमा जान सक्ने व्यवस्था गरिएको जानकारी दिए ।

मन्त्री राईले प्रदेशको मातहत रहने गरी जिल्लास्थित शिक्षा कार्यालय कायम गर्दा संविधानविपरीत नहुने दाबी गरे । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बिषयमा उठेका बहसहरुमाथि पनि थप छलफल गर्न मन्त्रालय तयार रहेको उनको भनाइ छ ।

मन्त्री राईले नेपाल शिक्षक महासङ्घ र राहत शिक्षक केन्द्रीय समितिसँग भएका सहमतिबारे बैठकलाई जानकारी गराएका थिए । बैठकले उक्त माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत समेत गरेको छ । स्वीकृत भएसंगै विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउन ७२ घण्टाको समय तोकिएको छ । उक्त विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर