३४५ रनको लक्ष्य पुरा गर्दै पाकिस्तानले विश्वकपमा बनायो विश्व कीर्तिमान
नयाँ दिल्ली । पाकिस्तानले भारतमा जारी एकदिवशीय विश्वकपमा विश्व कीर्तिमानसहित लगातार दोस्रो जित हात पारेको छ ।
आफ्नो दोस्रो खेलमा पाकिस्तानले मङ्गलवार श्रीलंकालाई ६ विकेटले हरायो । पाकिस्तानले ३ सय ४५ रनको लक्ष्य पुरा गर्यो । विश्वकपमा यसअघि ३ सय २९ रनसम्मको लक्ष्य पुरा भएको थियो ।
पाकिस्तानको कीर्तिमानी जितमा मोहम्मद रिजवानले एक सय ३१ र अब्दुल्लाह सफिकले एक सय १३ रन बनाए । उनीहरूले तेस्रो विकेटका लागि एक सय ७६ रनको साझेदारी गरेका थिए । साउद सकिलले ३१ र इफ्तिकर अहमदले २२ रन बनाए । पाकिस्तानले २६ अतिरिक्त रन पाएको थियो ।
त्यसअघि श्रीलंकाको पालीमा कुशल मेन्डिसले एक सय २२ र सादिरा सामराविक्रमाले एक सय ८ रन बनाएका थिए । पाथुम निस्सन्काले पनि ५१ रन जोडेका थिए । विश्वकपको एकै खेलमा ४ जनाले शतक बनाएको पहिलो पटक हो ।