एमालेको मधेश प्रदेश अधिवेशन आजबाट, ओलीले लेखे- आइ जनकपुर मे भेंट करी
जनकपुरधाम । नेकपा एमालेको मधेश प्रदेश अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको उद्घाटन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली जनकपुरधाम आउन लागेका हुन् ।
जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति भवनमा अधिवेशनको तयारी गरिएको छ । अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली आज मध्यान्ह जनकपुरधाम आउने बुझिएको छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्-‘शभ प्रभात ! आइ जनकपुर मे भेंट करी, हम आबी रहल छी । ‘
मधेशका आठ जिल्लामा एमालेका करिब ६३ हजार सक्रिय छन् । जसमध्ये एक हजार अधिवेशन प्रतिनिधि चयन गरिएको छ । भोलीसम्म चल्ने अधिवेशनबाट एमालेले प्रदेशमा नयाँ नेतृत्व चयन गर्नेछ ।
अधिवेशनमा करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । अधिवेशनको आर्थिक श्रोत मुख्य रूपमा पार्टीको आन्तरिक श्रोतबाट नै व्यवस्थापन गरिएको छ ।
प्रतिनिधिहरूको शुल्क, पार्टी सदस्यले प्रदान गर्ने लेवि, पार्टी शुभेच्छुकको सहयोग वाट अधिवेशन व्यवस्थापन हुनेछ । सबै जिल्लाबाट आफ्नै श्रोत साधनमा कार्यकर्ताहरू जनकपुरधाम आउने एमालेले जनाएको छ ।
एमाले मधेश प्रदेश अध्यक्षका लागि अहिलेसम्म कुनै नेता खुलेका छैनन् । तर आधा दर्जन बढी नेता प्रदेश अध्यक्षका आकांक्षी छन् ।
केन्द्रीय सदस्य सञ्जीव कुमार झा (सुरज), पोलिटब्युरो सदस्य सुमन प्याकुरेल, पुरुषोत्तम पौडेल, रामदयाल मण्डल, प्रदेश उपाध्यक्ष रेवती पन्त, धनुषा अध्यक्ष राजकिशोर यादव र शिवशंकर साह (हिरा) लगायतका नेताहरु प्रदेश अध्यक्षका लागि लविङ गरिरहेका छन् ।
अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ तय गरिएको छ ।