सुन तस्करीपछिको पाठ : एयरपोर्ट कार्गो भवनमा ‘फ्ल्याप गेट’ राखियो
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्गो भवन प्रवेशका लागि ‘फ्ल्याप गेट’ सञ्चालनमा ल्याएको छ । अनधिकृत व्यक्तिको प्रवेश र गलत क्रियाकलाप रोक्नका लागि गेट सञ्चालनामा ल्याइएको भन्सार प्रमुख डा. टोकराज पाण्डेले बताए ।
प्रहरी रिपोर्ट र भन्सार कार्यालयको सिफारिसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणकबाट वितरण हुने ‘वाई’ पास बाहकले मात्र यो गेट पार गर्न सक्ने व्यवस्था मिलाइएको छ । गत साउन २ गते कार्गो भवन हुँदै व्रेक शुभित्र राखेर सुन तस्करीको घटना बाहिरिएपछि भन्सार कार्यालयले भन्सार यार्ड प्रवेशमा कडाइ गरेको बताएको छ ।
उक्त घटनामा सरोकारै नभएका र अनधिकृत व्यक्ति छिरेको देखिएपछि फ्ल्याप गेट सञ्चालनमा ल्याइएको भन्सार कार्यालयले जनाएको छ ।
त्रिभुवन विमानस्थल प्रवेशका लागि अंग्रेजी अल्फावेट ‘ए’ देखि ‘एल’ सम्मको पास उपलब्ध गराइन्छ । कार्गो भवन प्रवेशका लागि भने अंग्रेजी अल्फावेट ‘वाई’ पास उपलब्ध गराइएको हो । सर्वसाधारण आफ्नो मालवस्तु छुटाउन भन्सार एरियामा प्रवेश गर्नु परे भिजिटर पास लिई प्रवेश गर्न पाउने व्यवस्था गरिएको पाण्डेले जानकारी दिए ।
उनका अनुसार हाल भन्सारका कर्मचारी, भन्सार एजेन्ट र सामान लोड अनलोड गर्ने श्रमिकलाई मात्र फोटोसहितको पास उपलब्ध गराइएको छ ।
कार्यालयले यसअघि विमानस्थलको यात्रु आवागमनतर्फ बहुमूल्य सामान र विदेशी मुद्राको स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको थियो । यद्यपि पछिल्लो समय अवैध सुन तथा मालवस्तु तस्करी भने बढ्दो पाइएको छ ।