एनजी मार्केटले घरसहित १ हजार जनालाई ३ करोडको उपहार दिने
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको एनजी मार्केट कम्पनीले आफ्नो औपचारिक उद्घाटन कार्यक्रममा एक हजार जना ग्राहकलाई ३ करोडका उपहार वितरण गर्ने योजना सार्वजनिक गरेको छ ।
२ अर्ब एकल लगानी रहेको मार्केट आउँदो २०८१ बैशाख १ गते उद्घाटन गर्ने र सोही अवसरमा नियमित ग्राहकलाई गोलाप्रथामार्फत उपहार उपलब्ध गराउने गरी योजना सार्वजनिक गरिएको हो ।
गत वर्ष अनौपचारिक सञ्चालनमा आएको मार्केटले आउँदो मंसिर ७ गते उद्घाटन गर्ने गरी योजना सार्वजनिक गरेको थियो । तर, आर्थिक मन्दीका कारण २०८१ बैशाखसम्म सार्नुपरेको कम्पनीका अध्यक्ष नारायण बन्जाडेले जानकारी दिए ।
उनका अनुसार मार्केटले एक हजार जनालाई दश प्रकारका उपहार योजना ल्याएको हो । उपहार योजनामा बम्पर योजनाअन्तर्गत एक जनालाई तिलोत्तमा नगरपालिकाभित्र १० धुर जग्गामा निर्माण गरिएको १ हजार ६ सय स्क्वायर फुटको साढे २ तले घर उपलब्ध गराइने अध्यक्ष बन्जाडेले जानकारी दिए ।
उनका अनुसार बैशाख १ गते लक्की ड्र खोलिनेछ । त्यस्तै उपहार योजनाअन्तर्गत एक जनालाई किया ब्राण्ड कार, एक जनालाई रोयल एनफिल्ड ३५० सीसीको मोटरसाइकल, एक जनालाई भेस्पा स्कुटरसमेत प्रदान गरिनेछ ।
उनका १५ जनालाई एक टन क्षमताको एयर कन्डिसनर, १५ जनालाई सिंगल डोर फ्रिज, १५ जनालाई टप लोड वासिङ मेसिन, २५ जनालाई ५५ इन्चको टेलिभिजन, १२५ जनालाई राइस कुकर र ८०१ जनालाई क्लोथ आइरन गरी १ हजार जना ग्राहकलाई उपहार प्रदान गरिनेछ ।
मार्केटमा ५ हजारदेखि माथि वस्तु किनेको रेकर्डका आधारमा पुरस्कार पाइने व्यवस्था गरिएको छ । कम्पनीका प्रबन्धक आवाश बन्जाडेले उपहार योजनामा सहभागी हुन दैनिक घरायसी सामान खरिद गर्दा एनजी मार्केटको ग्राहक सदस्यता लिनुपर्ने नियम बनाइएको बताए ।