शारीरिक रुपमा अंगभंग भई अशक्त सशस्त्र प्रहरी कर्मचारीको एक तह बढुवा
काठमाडौं । सशस्त्र प्रहरी बलले आफूलाई प्राप्त जिम्मेवारी बहन गर्ने क्रममा शारीरिक रुपमा अंगभंग भई अशक्त भएका सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्ति विकासलाई मध्यनजर गरी एक तह बढुवा दिने व्यवस्था गरिएको छ ।
सोअन्तर्गत सशस्त्र प्रहरी नायब उपरीक्षक अरुण ढुंगानालाई सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी निरीक्षक वामदेव पण्डित (शर्मा)लाई सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा बढुवा सिफारिस गरिएको छ ।
बढुवा भएका सशस्त्र प्रहरी कर्मचारीहरु सशस्त्र प्ररी बल नेपाल प्रधान कार्यालय मानव स्रोत विभागअन्तर्गत रहनेछन् । एक पटकको लागि मात्र एक तह पदोन्नति दिई जुनसुकै कारण सो पद रिक्त भएमा स्वतः तल्लो पदमा कायम हुने गरी विशेष पद र दरबन्दी सिर्जना गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
ढुंगाना र शर्मा द्वन्द्व कालमा विद्युतीय धरापमा परी गम्भीर घाइते भइ अंगभंग भएका अधिकृत हुन् । सशस्त्र प्रहरी बलको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० स्वीकृत भएपश्चात सो व्यवस्था लागू भएको छ ।
साथै अन्य सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनअन्तर्गत क्रमशः सम्बोधन गरिने संगठनले जनाएको छ ।