ओल खेती परीक्षणमा उदाहरणीय काम गर्दै कृषि अनुसन्धान केन्द्र बेलाचापी
काठमाडौं । धनुषाको बेलापाचीस्थित कृषि अनुसन्धान केन्द्रले कृषि अनुसन्धानको क्षेत्रमा उदाहरणीय काम गर्दै आएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधामबाट १७ किमिको दूरीमा रहेको केन्द्रले ओल खेती प्रविधिको प्याकेज तयार गरेको छ । बजारमा ओलको माग बढी छ ।
धार्मिक, सामाजिक, सांस्कृतिक महत्व रहेको ओल ‘एलिफ्यान्ट फूट यम’ को परीक्षण पनि केन्द्रले गर्दै आएको छ । श्राद्ध, जितिया पर्व, छठ जस्ता चाडपर्वमा ओल बाली अति नै आवश्यक हुन्छ । यस बालीलाई फागुनमा लगाई मंसिरमा काट्ने गरिन्छ ।
ओललाई खडेरी सहन सक्ने बालीको रुपमा लिइन्छ । यसमा औषधीय गुण पनि हुन्छ । ओललाई तरकारी र अचारको रुपमा खाने गरिन्छ । यसमा रोग र कीरा पनि कम लाग्ने गरेको पाइन्छ । बलौटे माटो र प्रांगारिक मलको व्यवस्था राम्रो भएमा उत्पादन राम्रो लिन सकिने केन्द्रका प्रमुख सन्तोष त्रिपाठी बताउँछन् ।
केन्द्रमा गरिएको परीक्षणमा भारतबाट ल्याइएको गजराज र धनुषा, सिरहा, महोत्तरीबाट ल्याइएका लोकल जात रहेको उनले बताए । केन्द्रमा प्रमुख त्रिपाठीसँगै अन्य कर्मचारीहरु अनुसन्धानमै लागिरहेको भेटिन्छन् ।
‘अहिले बीउ र परीक्षणका लागि लगाइएका धान काट्ने बेला भएको छ’, केन्द्र प्रमुख त्रिपाठीले भने, ‘अनुसन्धानको कुनै समय हुँदैन, यो निरन्तर चलिरहन्छ ।’
गजराजको उत्पादन २० टन प्रतिहेक्टरसम्म भएको उनले बताए । ‘लोकल जातको उत्पादन भने ४ देखि ५ टन प्रतिहेक्टरसम्म भएको छ’, उनले भने, ‘स्वादको हिसाबले धनुषामा लोकल राम्रो पाइएको छ । खाद्य तत्व आवश्यकता र व्यवस्थापन, झारपात व्यवस्थापन, दूरी, छाप्रो र बीउको विभिन्न साइजमा थप अनुसन्धान र परीक्षण भैरहेको छ ।’
उनका अनुसार लोकल जातको तुलनामा गजराज अलि कम कोक्याउँछ । गजराजको बजार मूल्य ३५ रुपैयाँ प्रतिकेजी छ । लोकल भने १०० देखि १५० रुपैयाँ प्रतिकेजी सम्म पर्छ ।
तराईका विभिन्न क्षेत्रमा ओलको व्यवसायिक खेती पनि शुरु गरिएको केन्द्र प्रमुख त्रिपाठी बताउँछन् । उनका अनुसार ओललाई माटोबाट निकालेपछि सफा गर्दा र ह्यान्डलिङ गर्दा चिलाउने भएकाले सफा गर्ने उपयुक्त मेशिनको निर्माण गर्नु जरुरी देखिन्छ । राम्रो उत्पादन देखिएका जातहरुलाई रजिस्ट्रेशन र उन्मोचनका लागि पनि अघि बढाउन जरुरी रहेको उनको भनाइ छ ।
पुरानो र लामो इतिहास बोकेको अनुसन्धान केन्द्र जनकपुर चुरोट कारखानाको अधिनमा वि.सं २०१८ मा स्थापना भएको थियो । उक्त केन्द्र वि.सं २०२८ सालमा सुर्ती विकास कम्पनीलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि २०४१ सालसम्म सूर्तीको बीउ र गुणस्तरीय पात उत्पादन गर्दै वि.सं २०५७ मा राष्ट्रिय सूर्ती विकास कार्यक्रमको रुपमा विकासपश्चात केन्द्रले बालीको अध्ययन र अनुसन्धान सुरु गरेको थियो ।
१२.६ हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्रमा दरबन्दी संख्या २५ रहेको छ । तर ९ जनामात्र कर्मचारी कार्यरत छन् । केही वर्ष अघिसम्म ५५-६० जना काम गर्ने केन्द्रमा हाल ९ जनामात्रै रहेको केन्द्र प्रमुख त्रिपाठी बताउँछन् ।
बीउ उत्पादन
केन्द्रले मुख्यगरी धान, गहुँ र धैइन्चाको बीउ उत्पादन गर्दै आएको छ । धानको बीउ वार्षिक १५-२० टन उत्पादन गर्छ । बीउ उत्पादन हुने धानका जातहरुमा चैते ५, हर्दिनाथ १ र हर्दिनाथ ६ रहेका छन् । चैते ५ र हर्दिनाथ १ चैते धानको जात हुन् भने हर्दिनाथ ६ धानको मुख्य सिजनमा लगाइने जात हुन् ।
त्यस्तै केन्द्रले गहुँको १५ टन बीउ उत्पादन गर्छ । गहुँको बीउका जातहरुमा विजय, गौतम र बोर्लग रहेका छन् । धैइन्चा भने १-२ टन हुने गरेको छ । धैइन्चालाई हरियो मलको रुपमा प्रयोग गरिन्छ र यसले माटोमा खासगरी नाइट्रोजनको मात्र बढाउँछ । यसरी उत्पादन भएका बीउहरु बीउ वासलातमा राखिएअनुसार नै नेपालभरि बिक्री वितरण हुँदै आएको छ ।
केन्द्रले ५ कट्ठामा रायोको बीउ उत्पादन पनि गर्दै आएको छ । कुनै पनि जातको आनुवंशिक गुण बचाउन र जातलाई शुद्ध बनाउन प्रयोग गरिने बाली प्रजनन प्रक्रिया अर्थात ‘मेन्टेनेन्स ब्रिडिङ’ केन्द्रले रायोको जातमा गर्दै आएको छ ।
अनुसन्धान परीक्षण
केन्द्रमा टमाटर, भन्टा, कोसेबाली, मकै, धान र गहुँखेतीका विभिन्न परीक्षण हुने गरेको छ । विभिन्न केन्द्रबाट पठाइएका बहुस्थान परीक्षण पनि केन्द्रले सञ्चालन गरिरहेको प्रमुख त्रिपाठीले जानकारी दिए ।
खासगरी बाली विशेष कार्यक्रमहरुले आफ्ना जातहरु विभिन्न केन्द्र र भौगोलिक अवस्थामा परीक्षण गर्ने प्रक्रियालाई बहुस्थान परीक्षण गरेको भनिन्छ । बहुस्थान परीक्षणको तथ्यांक बाली उन्मोचन र रजिस्ट्रेसनको लागि महत्वपूर्ण रहने उनको भनाइ छ ।