एपीएफमा युनिट सरुवाको सुरूवात
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले युनिट सरुवाको सुरुवात गरेको छ । पहिलो पटक सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रेको ‘क’ गुल्म र नं. ७ गण सिरहाको ‘क’ गुल्मको गुल्म फर्मेशनमा परस्परमा सरुवा गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई वाहिनी मुख्यालय मकवानपुरअन्तर्गत काभ्रे जिल्लामा तैनाथ रहेको नं. १५ गणको ‘क’ गुल्म आश्रीत गुल्मको रूपमा सिन्धुली जिल्लामा तैनाथ थियो भने नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरी अन्तर्गत सिरहा जिल्लाको नं. ७ गणको ‘क’ गुल्म मार्डरमा रही प्रस्तावित सीमा सुरक्षा गुल्मको रुपमा मातहत ३ वटा बिओपी सहित तैनाथ थियो ।
एपीएफभित्र बाहिनी, गण, गुल्म र प्लाटुन लगायतका संरचना रहेको छ । हाल काभ्रे र सिरहाका गण मातहत गुल्म तहको परस्पर सरुवा गरेता पनि भविष्यमा गण तहका इकाईहरुको समेत सरुवा गरिने योजना रहेको प्रवक्ता सशस्त्र प्रहरी वरिस्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए ।
इकाइगतरूपमा सरूवा गर्दा सो इकाईमा कार्यरत कर्मचारीमा एकता, भ्रातृत्व तथा भागिनत्व प्रगाढ हुने, एक अर्काको बारेमा सम्पूर्ण जानकारी अध्यावधिक हुने, आदेशको श्रृखंला अझ प्रभावकारी रुपमा विकास हुने तथा इकाइप्रतिको अपनत्व अभिवृद्धि भई सकारात्मक सोच र सहयोगात्मक भावनाको विकास हुने तथा इकाई सरुवा गर्दा फौजी अनुशासन र आचरणको समेत पालना हुने संगठनको विश्वास रहेको उनले बताए ।
एपीएफले यसअघि काजलाई निरुत्साहित गर्दै नयाँ मापदण्ड बनाइसकेो छ । मापदण्ड अनुसार वास्तविक समस्या भएका सशस्त्र प्रहरी कर्मचारीहरुले अधिकतम ६ महिना अवधिको लागि आफूलाई पायक पर्ने कार्यालयमा काजमा कार्यरत रहन निवेदन दिनसक्ने र उक्त समस्यालाई मध्यनजर गरी विभागले ६ महिना अवधिसम्म मात्र काज स्वीकृत गर्नेछ ।