नेपालको खेतीपाती : पुरुषको जमिनमा कामदार महिला
चितवन । सकुन्तला घिमिरे पूर्णकालिन कृषक हुन् । चितवनमा उनको परिवारको ५ कठ्ठा जमिन छ । श्रीमान् पूजापाठ पनि गर्ने गर्छन् । तर, सकुन्तलाको पूरा दैनिकी भान्छा, खेतीपाती र भैँसीको रेखदेखमा नै बित्छ ।
उनीहरु खेतमा सिजन अनुसारको बाली लगाउँछन् । तर, बाली कुन जातको लगाउने भन्ने उनलाई उति मेसो हुँदैन । श्रीमान बाहिर हिँडिराख्नुहुन्छ, उनी भन्छिन्, बाली कुन लगाउने मलाई भन्दा उहाँलाई नै थाहा हुन्छ ।
अझ त्यो भन्दा ठूलो कुरा कहिलेकाँही जग्गा साटफेर बा बेचबिखनको कुरा आयो भने उनी कहिल्यै निर्णयमा सहभागी छैनन् । उनको सिधा जवाफ छ, — केटामान्छे बोलेको ठाउँमा हामी के प्याच्च बोल्नु !
घिमिरे दम्पत्तीको जस्तै उदाहरण नेपालको करिब ६८ प्रतिशत बढी परिवारमा छ । अर्थात् घरमूली महिला नभएको परिवारमा उनीहरु निर्णायक छलफलमा सहाभागी हुँदैनन्, वा निकै कम हुन्छन् भन्ने तथ्य नेपालको जनगणना २०७८ को तथ्याङ्कबाट पनि थाहा पाउन सकिन्छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा नेपालको कुल जमिनमध्ये २८ प्रतिशत खेतीपाती हुने जमिन छ । तिमध्ये पनि २१ प्रतिशत जमिनमा मात्रै खेतीपाती गरिएको छ । तर, यी उब्जनी हुने जमिनमाथिको स्वामत्वि भने जम्मा ९ प्रतिशत मात्रै महिलामा छ ।
नेपालमा जसको जोत उसको पोत, वर्गीय समानता जस्ता अति समाज सुधारक नारा दिएर नेकपा माओवादी जस्ता राजनीतिक दल उदाए । उनीहरुले समान वर्ग स्थापना गर्ने आश्वासन पनि जनतालाई बाँडे । सशस्त्र युद्धमार्फत देशको राजनीतिकाको मूल धारमा पनि आए । हिसाब नै गर्ने हो भने १७ वर्षयता उनीहरु कुनै न कुनै रुपमा देशको शासन सत्ताको वरिपरि नै छन् ।
पछिल्लो समय अवसर, रोजगारी जस्ता नारा लिएर नयाँ दल पनि उदाइरहेका छन् । तर, राज्यको अर्थतन्त्रको मूल आधार कृषि जस्तो क्षेत्रमा स्वामित्व र श्रम दायित्वको सन्तुलन समानतामुखी हुन सकेन । जसलाई नेपालको बसाइसराइँ र कृषिमा बढ्दै गएको महिलाको जिम्मेवारीले अझ प्रष्ट पार्न सकिन्छ ।
नेपालको राष्ट्रिय जनगणनाले नै भन्छ कि, अहिले महिला घरमूलीको संख्या बढेको छ । २०६८ मा १९ दशमलव ७ प्रतिशत महिला घरमूली थिए । अहिले ३२ दशमलव ४ प्रतिशत पुगे ।
तर, यसको असर भूस्वामित्वमाथि महिलाको पहुँचमा होइन श्रममा महिलाको जिम्मेवारीमा मात्रै थपिएको छ । अर्थ मन्त्रालय र वैदेशिक रोजगार विभागको २०७९ सालको फरक—फरक दुई उदाहरणले यो तथ्यलाई बुझाउन अझ सहयोग गर्छ ।
वैदेशिक रोजगार विभागका अनुसार अहिले नेपालबाट प्रत्यक दिन एक हजार ४ सय नेपाली रोजगारीको लागि विदेश जान्छन् । रोजगारीमा गएकामध्ये ८० प्रतिशत मानिस पुरुष छन् । भने २० प्रतिशत महिला ।
समाजमा पुरुषको संख्या घट्दै गएको छ । सहरमा हल्का सवारी लिएर हिँड्ने युवा पुरुषहरुको संख्या निकै कम देखिन्छ । कृषि, देशभित्रकै सुरुआती तहको रोजगारी लगायतका ठाउँमा युवा पुरुषको संख्या घट्दो छ ।
यी दृष्यलाई थप व्याख्या गर्न २०७८ को जनगणनाको प्रतिवेदनको एउटा तथ्य नै काफी छ । जसले भन्छ कि, कृषि पेशामा महिलाको हालको संख्या कुल महिलाको ६४ दशमलव ८ प्रतिशत छ । तर, पुरुषको कुल जनसंख्याको ५० दशमलव ६ प्रतिशत मात्रै कृषिमा छन् ।
यसलाई अझ प्रष्ट बनाउने अर्को तथ्यांक पनि राष्ट्रिय तथ्यांक विभागले निकालेको छ । जसले भन्छ, २०४८ सालको जनगणनामा नेपालका ८१ शशमलव २ प्रतिशत मानिस कृषक थिए । उनीहरुको पूर्णकालिन पेशा कृषि थियो ।
त्यही पुस्ता र त्यसपछिको पुस्ताले विस्तारै कृषिलाई छोड्दै आए । ३० वर्षको अन्तरालमा आएर ५३ दशमलव ३ प्रतिशतमा कृषिलाई मूल पेशा बनाउने मानिस भए । यो बीचमा पुरुषको संख्या निरन्तर घट्दो दरमा छ । पुरुष कम हुँदै जाँदा महिला भने कृषिको जिम्मेवारी लिने ठाउँमा पुग्दै आएका छन् ।
२०४८ सालमा ८१ प्रतिशत कृषक हुँदा ७४ दशमलव ९ प्रतिशत पुरुष किसान थिए भने २०७८ सालमा कुल किसान ५३ दशमलव ३ प्रतिशत हुँदा ५० दशमलव ६ प्रतिशतमा पुरुष किसान पुगेका छन् । जबकी महिला भने ६४ दशमलव ८ प्रतिशत छन् । र कुल संख्यामा हरेक वर्ष यो दर बढ्दो छ । यद्यपि जमिनको स्वामित्वमा भने महिलाको निर्णायक पहुँच बढ्न सकेका छैनन् ।