रुपन्देहीमा कांग्रेस क्षेत्रीय सभापति छान्न दुई समूह निर्वाचनमा
रुपन्देही । नेपाली कांग्रेस रुपन्देही २ को रिक्त क्षेत्रीय सभापति र सहसचिव पदका लागि पार्टीका दुई समूहबीच शनिबार मतदान सुरु भएको छ ।
पार्टीभित्र रहेको संस्थापन समूह र शेखर समूहबीच सहमतिमा नेतृत्व टुंग्याउने प्रयास असफल भएपछि दुई समूहबाट चार जना चुनावी मैदानमा गएका हुन् ।
सभापति पदका संस्थापन समूहबाट प्रजापाल गिरी र शेखर समूहबाट परशुराम ढकाल तथा सहसचिवमा बिष्णुप्रसाद चापागाई र संगिता अर्याल गौतम चुनावी मैदानमा छन् ।
बुटवलको बालमन्दिरमा जारी निर्वाचनमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख तथा नगर सभापति खेलराज पाण्डेय, सभापतिका दुई उम्मेदवारले पनि मतदान गरिसकेका छन् ।
निर्वाचन परिसरमा दुवै समूहले टेन्ट टागेर प्रचार गरिरहेका छन् ।
स्थानीय चुनावको समयमा पार्टीको १४ औं महाधिबशेनबाट निर्वाचित हरि लम्सालले पदबाट राजीनामा दिएपछि क्षेत्रीय सभापति पद रिक्त रहेको थियो ।
त्यस्तै तत्कालीन सहसचिव राजबहादुर क्षेत्री रास्वपा प्रवेश गरेपछि उक्त पद पनि रिक्त थियो ।
यसबाहेक रुपन्देहीका एउटा गाउँपालिका र ५ वटा वडामा उपनिर्वाचन हुँदैछ । रुपन्देहीको गैडहवा गाउँपालिका सभापतिको लागि पनि नै निर्वाचन हुँदैछ । त्यहाँ योगेन्द्र चौधरीको एकल उम्मेदवारी परेको छ । त्यस्तै देवदह नगरपालिकाको वडा नंं ६, ओमसतियाको ४, मायादेवीको ५, मर्चवारीको ४ नंं वडामा पनि निर्वाचन हुँदैछ ।