रुपन्देही उद्योग संघमा एमाले र कांग्रेसको गठबन्धन – Nepal Press

रुपन्देही उद्योग संघमा एमाले र कांग्रेसको गठबन्धन

अध्यक्षसहित मुख्य पदमा निर्विरोध, माओवादीसहितका अन्य दलले केही पदमा दिए उम्मेदवारी

रुपन्देही । रुपन्देहीका उद्योगीहरूको छाता संस्था रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि नेकपा एमाले र नेपाली कांग्रेस निकट उद्योगीहरूले गठबन्धन गरेर टीम बनाएपछि माओवादी, नेकपा एससहित अन्य दल निकट उद्योगीहरूले अलग्गै केही पदमा उम्मेदवारी दिएका छन् ।

सर्वसम्मत नेतृत्वको सहमतिका लागि प्रयास गरिए पनि केही पदमा नमिलेपछि केही पदाधिकारी तथा सदस्यहरूमा निर्वाचन हुने भएको हो । अध्यक्षसहित मुख्य पदहरूमा भने एमाले कांग्रेस निकट उद्योगीहरू निर्विरोध भएका छन् ।

एमाले निकट उद्योगीहरूको नेतृत्व निर्विरोध अध्यक्ष बनेका दिलीप सापकोटाले गरेका छन् भने नेपाली कांग्रेस निकट उद्योगीहरूको नेतृत्व निर्विरोध उपाध्यक्ष बनेका जीवकान्त काफ्लेले गरेका छन् । उद्योगीहरूको संयुक्त टिम नाम दिइएको यो प्यानललाई संघका अधिकांश पूर्व अध्यक्षहरूले साथ दिएका छन् ।

यही असोज २९ गते बुटवलमा संघको ४५ औँ वार्षिक साधारण सभा तथा २३ औँ अधिवेशन हुँदै छ । उक्त अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि सहमति हुँदा पदाधिकारीका ९ पदमध्ये ५ वटा पदमा एकल उम्मेदवारी परेको छ ।

निर्वाचन समितिका अनुसार संघको अध्यक्षमा सापकोटाको एकल उम्मेदवारी परेको छ भने उनकै प्यानलबाट । त्यसै गरी वरिष्ठ उपाध्यक्षमा कृष्ण पराजुली, प्रथम उपाध्यक्षमा जीवकान्त काफ्ले, महासचिवमा हीरामणि भट्टराई र महिला सचिवमा मञ्जु भुसालको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका छन् ।

यसै गरी कार्यसमितिका विभिन्न १० सदस्य पदहरूमा समेत सापकोटा प्यानलका उम्मेदवारहरूको मात्रै उम्मेदवारी परेको छ । सापकोटा प्यानलबाट एशोसिएट सदस्यमा प्रज्जवल थान्जु, र उमाशंकर मालपानी, आजीवन सदस्यमा माधव नेपाल, संस्थागत सदस्यमा गोविन्दप्रसाद भुसाल र बुटवल औद्योगिक क्षेत्र उद्योग संघबाट लालप्रसाद बस्यालको एकल उम्मेदवारी परेको छ ।

यसै गरी बुटवल उपमहानगरपालिका क्षेत्रबाट लालहरी पाण्डे, र राजु घिमिरे तिलोत्तमा नगरपालिका क्षेत्रबाट रमेशप्रसाद आचार्य, सैनामैना नगरपालिका क्षेत्रबाट नारायणप्रसाद ज्ञवाली, र शुद्धोधन गाउँपालिका क्षेत्रबाट टंकनारायण आचार्यको मात्रै उम्मेदवारी परेको छ ।

पदाधिकारीका द्वितीय उपाध्यक्षमा सापकोटा प्यानलबाट हरिबहादुर क्षेत्री र अर्को प्यानलबाट माया खनालको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा सापकोटा प्यानलबाट युवराज आचार्य र माओवादी केन्द्र निकट सुरेन्द्र ज्ञवालीले उम्मेदवारी दिएका छन् ।

त्यसै गरी सचिवमा सापकोटाको प्यानलबाट सुमन बस्याल अर्को कमल ज्ञवालीको उम्मेदवारी परेको छ भने सह कोषाध्यक्ष पदमा विशाल बेल्वासे र प्रेम आलेको उम्मेदवारी परेको छ ।

अधिवेशनबाट अध्यक्षसहितका पदाधिकारी तथा सदस्य गरी २९ सदस्य निर्वाचित हुनुपर्नेमा एशोसिएट सदस्य, आजीवन सदस्य, संस्थागत सदस्य, बुटवल औद्योगिक क्षेत्र तथा बुटवल, तिलोत्तमा, सैनामैना र शुद्धोधन क्षेत्रबाट समेत सापकोटा नेतृत्व साझा टिमबाटै एकल उम्मेदवारी परेको छ ।

दुई महिला सदस्य र आठ खुल्ला सदस्यमा भने विधानले निर्धारण गरेको भन्दा बढीको उम्मेदवारी परेपछि निर्वाचन हुने भएको निर्वाचन समितिले जनाएको छ ।

कुल एक हजार १३ सदस्य उद्योगी रहेको संघको अधिवेशन सोमबार हुँदै छ । बुटवल मण्डपमा हुने उक्त अधिवेशनको नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

निर्विरोध अध्यक्ष भएका सापकोटाले सहमति, एकता र सहकार्यबाट सबै पदहरू निर्विरोध गराउने प्रयास असफल भए पनि आफ्नो प्यानलमा रहेका सबै उम्मेदवारहरूले उद्योग संघ र उद्योगीहरूका पक्षमा गरेका कामको मूल्यांकनको आधारमा मतदाताहरूले मत दिएर विजयी बनाउने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर