दीपेश कँडेलको जादुमयी बलिङ, राष्ट्रिय टीमको ढोका ढक्ढकाउँदै ‘स्पिन सेन्सेसन’ – Nepal Press

दीपेश कँडेलको जादुमयी बलिङ, राष्ट्रिय टीमको ढोका ढक्ढकाउँदै ‘स्पिन सेन्सेसन’

काठमाडौं । ९.५-६-४ । एसीसी यू-१९ प्रिमियर कपमा बहराइनविरुद्ध नेपालका स्पिनर दीपेश कँडेलको बलिङ आँकडा हो यो । उनले खर्चेको रनभन्दा बढी संख्यामा विकेट लिए ।

भलै प्रतिद्वन्द्वी बलियो थिएन । तर, कुनै पनि स्तरको क्रिकेटमा कुनै पनि बलरलाई यस्तो आँकडा विरलै प्राप्त हुन्छ । उनले खेलमा ५९ पटक बल फ्याक्दा ब्याटबाट तीन रनमात्रै बन्यो । यो एउटा ‘म्याजिकल स्पेल’ हो ।

टस हारेर पहिलो फिल्डिङमा उत्रेको नेपाल बहराइनलाई कमभन्दा कम स्कोरमा समेट्न चाहन्थ्यो । त्यसैले आज दीपेशलाई दोस्रो ओभरमै बलिङमा पठाइयो । र, उनले चाहे जस्तो नतिजा पनि दिए । आफ्नो व्यक्तिगत दोस्रो ओभरमा नेपाललाई ‘ब्रेक थ्रु’ दिलाए ।

दीपेशको लाइन र लेन्थमा गजबको कन्ट्रोल थियो । ब्याट्सम्यानले उनको बलमा हात खोल्ने अवसरै पाएनन् । दीपेशको हरेक बल ‘स्टम्प टु स्टम्प’ थिए । एउटा लेग साइडमा वाइड फ्याकेको बाहेक उनका सबै बल ‘अन टार्गेट’ रहे । विकेटका लागि कुनै पनि अतिरिक्त प्रयास गरेनन् ।

पहिलो ओभरमा १ वाइड दिएका दीपेशले त्यसपछि लगातार ८ ओभर मेडन फ्याकेका थिए । यो आफैंमा एउटा दुर्लभ कीर्तिमान हुनसक्छ । १०औं ओभरको तेस्रो बलमा मात्रै बहराइनका ब्याट्सम्यानले दीपेशलाई ‘हिट’ लगाउन सके । यही बलमा ३ रन आयो । त्यसपछिका दुई बलमा दीपेशले लगातार दुई विकेट लिएपछि बहराइन सोत्तर भयो ।

अर्को इन्डबाट दुर्गेश गुप्ताले गरेको बलिङ पनि प्रशंसा गर्न लायक थियो । फास्ट बलर दुर्गेशले ८ ओभरमा २२ रन खर्चेर अग्रपंक्तिका चार विकेट लिएपछि बाँकी दीपेशले फत्ते गरेका थिए ।

यो प्रतियोगिताका दुई खेलमा दीपेशको आँकडा आफैंमा आश्चर्यजनक छ । उनले १६.५ ओभर बलिङ गर्दा ११ मेडन राखेका छन् भने केवल ८ रन खर्चेर ९ विकेट लिइसकेका छन् । अघिल्लो खेलमा इरानविरुद्ध उनले ७ ओभर बलिङ गर्दा पाँच रन खर्चेर तीन विकेट लिएका थिए ।

अब नेपालले समूह चरणको अन्तिम खेल साउदी अरबविरुद्ध बिहीबार खेल्नेछ । साउदी अरब पनि बलियो टीम होइन । समूहमा पहिलो भएर नेपाल सेमिफाइनलका लागि छनोट हुने पक्का जस्तै छ ।

सेमिफाइनल र फाइनल (यदि पुग्यो भने) मा नेपालले सिरियस प्रतिद्वन्द्वी पाउन सक्छ । अन्य तीन समूहबाट यूएई, हङकङ र सिंगापुर सेमिफाइनलमा पुग्न सक्ने सम्भावना देखिन्छ । ती टीमहरुका लागि पनि दीपेश सबैभन्दा ठूलो त्रास बन्नेछन् ।

दीपेशले अन्डर-१९ टीमबाट जादुमयी प्रदर्शन गरेको पहिलो पटक होइन । धेरैको सम्झनामै छ कि उनले गत वर्ष फागुनमा भएको यू-१९ विश्वकप छनोटमा नेपाललाई हारको मुखबाट जोगाएका थिए र ७ वर्षपछि विश्वकपमा पुर्‍याएका थिए । यूएईविरुद्धको निर्णायक खेलमा नेपाल हारको संघारमा थियो । यूएईलाई १८ बलमा केवल ९ रन चाहिएको थियो । जीतको औपचारिकतामात्रै बाँकी रहेको अवस्थामा दीपेशले खेल उल्टाएका थिए । उनले आफ्नो अन्तिम ओभरको पछिल्ला तीन बलमा ह्याट्रिक लिँदै यूएईलाई स्तब्ध बनाए ।

सोही खेलदेखि दीपेशलाई नेपालको राष्ट्रिय टीमका भविष्यको रुपमा हेर्न थालिएको थियो । धेरैले उनलाई सन्दीप लामिछानेलाई पछ्याउन सक्ने स्पिनरका रुपमा लिइरहेका छन् । सन्दीप र दीपेशको बलिङमा धेरै अन्तर छ । र, सन्दीपको स्थानमा पुग्न दीपेशले लामो यात्रा तय गर्नुपर्ने हुन्छ । तर, उनले एउटा आशालाग्दो संकेत देखाएका छन् ।

१८ वर्षीय दीपेशसँग प्रशस्त समय छ आफूलाई प्रुफ गर्न । सबैले उनलाई अब राष्ट्रिय टीमको जर्सीमा हेर्न चाहेका छन् । नेपालसँग राष्ट्रिय टीममा नाम चलेका स्पिनरहरु भएकाले तत्काल सम्भव नहोला । तर, आगामी दिनमा उनलाई छनोटकर्ताहरुले नजरअन्दाज गर्न सक्ने छैनन् । सन्दीप र ललित राजवंशीपछि नेपालको तेस्रो स्पिनरका रुपमा दीपेश अगाडि आउन सक्छन् । उनीसँग प्लस प्वाइन्टका रुपमा हल्का ब्याटिङ गर्ने क्षमता पनि छ । उनले आफ्नो फिटनेसमा चाहीँ अलि ध्यान दिनुपर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *