अफगानिस्तानले अब अष्ट्रेलिया, भारत, दक्षिण अफ्रिका र न्यूजिल्यान्डलाई मात्र हराउन बाँकी ! – Nepal Press

अफगानिस्तानले अब अष्ट्रेलिया, भारत, दक्षिण अफ्रिका र न्यूजिल्यान्डलाई मात्र हराउन बाँकी !

नयाँ दिल्ली । कुनै समय एसियाका दुई बलिया एसोसिएट टोली मानिन्थे नेपाल र अफगानिस्तान । हरेक प्रतियोगितामा यी दुई टोली उपाधि दाबेदार रहन्थे ।

आपसको भिडन्त पनि प्रतिष्ठाको लडाइँजस्तै हुन्थ्यो । छोटो समयमा अफगानिस्तानले मारेको छलाङसामु सिनियर क्रिकेटमा नेपाललाई माथि उठ्न दिएन ।

गृह युद्धबाट गुज्रिएको अफगानिस्तानी जनतालाई त्यहाँको क्रिकेटले सधैँ खुसी हुने बहाना दिइरह्यो । अझ सन् २०१७ मा टेस्ट मान्यता प्राप्त गरेपछि विश्वका एक से एक टोलीसँग खेल्न पाउने बाटो उसका लागि खुल्यो । त्यसयता पनि उसले आफू टेस्ट मान्यता पाउने कारणहरू समय समयमा दिइरहेको छ ।

भारतमा जारी एकदिवशीय विश्वकपअन्तर्गत आइतबार भएको खेलमा अफगानिस्तानले साबिक विजेता इङ्गल्यान्डलाई ६९ रनले पराजित गरेर अफगानिस्तानले विश्वका एक से एक टोलीलाई हराउन सक्ने हैसियत देखाएको छ ।

एकदिवशीय विश्वकप इतिहासमा अफगानिस्तानको यो केवल दोस्रो जित हो तर बलिया टेस्ट मान्यता प्राप्त राष्ट्रलाई हराएको भने पहिलो पटक होइन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसीसीका १२ टेस्ट सदस्य राष्ट्रमध्ये अफगानिस्तानले ७ वटालाई विभिन्न फर्म्याटका सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा हराइसकेको छ ।

अफगानिस्तानले टेस्ट क्रिकेटमा बंगलादेश, आयरल्यान्ड र जिम्बावेलाई एक एक पटक हराएको छ । यस्तै एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशलाई ६ पटक, आयरल्यान्डलाई १६ पटक, श्रीलंकालाई ३ पटक र वेस्ट इन्डिजलाई ३ पटक र जिम्बावेलाई १८ पटक हराएको छ ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशलाई ६ पटक, आयरल्यान्डलाई १६ पटक, पाकिस्तानलाई ३ पटक, श्रीलंकालाई २ पटक, वेस्ट इन्डिजलाई ३ पटक र जिम्बावेलाई १४ पटक हराएको छ ।

सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा अब अफगानिस्तानले चारवटा टेस्ट राष्ट्रलाई मात्र हराउन बाँकी छ । अष्ट्रेलिया, भारत, दक्षिण अफ्रिका र न्यूजिल्यान्डले मात्र अफगानिस्तानबाट हार ब्यहोर्न बाँकी छ ।

सन् २०१४ मा टी-२० अन्तर्राष्ट्रिय र सन् २०१८ मा एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले हालसम्म टेस्ट राष्ट्रलाई हराउन सकेको छैन । यसबीचमा नेपालले भारत, पाकिस्तान, वेस्ट इन्डिज, जिम्बावे, आयरल्यान्ड, बंगलादेशजस्ता टेस्ट राष्ट्रसँग खेलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *