पार्टीहरूमा भयङ्कर समस्या र जनतामा उकुसमुकुस देख्छु: घनश्याम भुसाल – Nepal Press
नेपाल टक

पार्टीहरूमा भयङ्कर समस्या र जनतामा उकुसमुकुस देख्छु: घनश्याम भुसाल

'ओलीजी सत्तादेखि सत्तासम्म र चुनावदेखि चुनावसम्मका लागि चलखेलमात्रै गर्नुहुन्छ'

कैलाली । नेकपा एकीकृत समाजवादीले दुई साता लगाएर मेची महाकाली जागरण अभियान सम्पन्न गरेको छ । असोज १४ मा झापाको काँकडभिट्टामा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष बेदुराम भुसाल, महासचिव घनश्याम भुसाललगायत नेताले जागरण अभियान सुरु गरेका थिए । दुई सातापछि अहिले अभियान सकिएको छ ।

कस्तो रह्यो त नेकपा एकीकृत समाजवादीको मेची महाकाली जागरण अभियान ?

प्रस्तुत छ, पार्टीमा देखिएको समस्या र भावी राजनीतिबारे नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँग गरिएको कुराकानी नेपाल प्रेसको नेपाल टकमाः

– मेची-महाकाली जागरणअन्तर्गत देशभरि भ्रमण गर्दा आफ्ना नेता कार्यकर्ता र आमनागरिकहरुमा उत्साह बढी पाउनु भयो कि निराशा ?

समाजमा घोर निराशा छ । यसले असाधारण प्रश्नहरू उठेका छन् । त्यो कुरा राजनीतिमा पनि देखिएको छ । स्वयं अरू पार्टीहरूमा पनि मैले भयङ्कर समस्या देख्छु ।

पार्टीको हिसाबले ठूलो नेकपा एमालेमा राजनैतिक मुद्दामा कहीं छलफल भएन । तामझामका साथ प्रदेश अधिवेशनहरू भए । त्यसमा केवल कुन गुटका मान्छे आउँछ कि आउँदैन भन्नेमात्रै भयो । कता जानुपर्ने हो भन्ने कुरा छैन । सामान्यतया कांग्रेस सत्तामा हुँदा सन्तुष्ट हुने पार्टी हो । तर, कांग्रेसका समर्थक र जनतामा म उकुसमुकुस देख्छु ।

हाम्रो पार्टीभित्र एउटा सन्नटो धेरै ठूलो थियो । चुनावपछि हामी अप्ठेरोमा परेका थियौं । राष्ट्रिय पार्टी नबन्दा केही व्यक्तिहरूमा निराशा देखिएको थियो । एजेन्डा छैन भन्ने थियो । अहिले त्यो समस्या हल भएको छ । त्यसले गर्दा कोरा कार्यकर्ताहरूमा उत्साह जगाएको छ । हामी सम्बद्ध जनमतमा पनि अब केही हुन्छ कि भन्ने आशा जगाएको छ । सबै उत्साहित भएर पूरै हामी संगठित भएर लागेका छौं भनेर म भन्दिनँ । तर, त्यसले केही आशा भने जगाएको छ ।

– समाजमा निराशा छाइरहेको छ । तर, पार्टीहरु मिसन ८४ भन्दै आआफ्नो दाबी पेश गरिरहेका छन् । यस्तो अवस्थामा आगामी निर्वाचन दलहरुका लागि सहज छ त ?

धेरै कुरा हाम्रो जस्तो मुलुकको चारपाँच वर्षपछिको ठ्याक्कै भन्न गाह्रो हुन्छ । तर, म सामान्यतया के अनुमान गर्छु भने वाम लोकतान्त्रिक स्थिरताका साथ मुलुकले अगाडि जाने बाटो देखिएन भने अहिले भूराजनीति र यसको बढ्दो तनावले हामी धेरै अप्ठेरोमा जान सक्छौं । म त सधैंभरि के भन्छु भने वामहरू एक ठाउँमा उभिनुपर्छ र लोकतान्त्रिक भन्ने कांग्रेसलगायतका शक्तिहरू पनि एक ठाउँमा उभिनुपर्छ । त्यसरी एउटा वाम-लोकतान्त्रिक भविष्य सुनिश्चित गरिनुपर्छ ।

– तपाईंहरू वाम शक्तिहरू एक ठाउँमा उभिनुपर्छ भन्नुहुन्छ । तर, वाम पार्टीहरूले एकले अर्कोको अस्तित्व स्वीकार गर्नसक्ने अवस्था छैन । कोशीमा एमालेले विद्रोही कांग्रेससँग मिल्नुपर्ने अवस्था आयो । तपाईंहरुले भनेको वाम शक्ति त त्यहाँ देखिन सक्थ्यो नि ? किन त्यो भूमिकामा पार्टीलाई लैजान सक्नुभएन ?

वाम एक ठाउँमा उभिनुपर्छ भन्नुको अर्थ अहिले हामी यो गठबन्धन तोड्न चाहन्नौं । अहिले हामी त्यहाँ उभिने भनेको यो गठबन्धन टुट्ने हो र अर्काे प्रक्रिया सुरु हुने हो । हामीलाई विश्वास के हो भने नेकपा एमालेमा ओलीजी र उहाँको गुट प्रभावी रहेसम्म त्यसको राजनीति भनेको चलखेलको मात्रै हुन्छ । त्यहाँ विचारको राजनीति सिद्धान्त र भरपर्दो विश्वासको आधारमा हुँदैन । सँगै सुत्नसक्ने अवस्था नै हुँदैन ।

ओलीजीसँग सँगै सुतेर बिहान राजनीतिक रुपले उठ्न पाइन्छ कि पाइँदैन भन्नेमा जहिलेसुकै, जोसुकै सन्त्रासमा रहन्छन् । त्यसले गर्दा उहाँ दिशाविहीन हुनुहुन्छ । ओलीजी सत्तादेखि सत्तासम्म र चुनावदेखि चुनावसम्मका लागि चलखेलमात्रै गर्नुहुन्छ । यो कारणले गर्दा एमालेसँग त्यो प्रकारको औपचारिक गठबन्धनको सम्भावना मैले देख्दिनँ ।

– वाम तालमेलको विषयमा सबै कम्युनिष्ट नेताहरू गम्भीर देखिन्छन् । तर, सबैलाई सबैका कुनै न कुनै नीति चित्त बुझेको देखिँदैन । यहाँ नीतिमा समस्या छ कि नेतृत्वमा ?

समस्या नीतिहीन नेतृत्वमा हो । किनभने कोही पनि मान्छेलाई यसै राम्रो वा नराम्रो भन्न सक्दैनौं । आजको नीति तथा एजेन्डा के कस्ता छन् भनेर हेर्ने हो ।

– तपाईंहरूको पार्टीभित्र पनि व्यापक गुटबन्दी भइरहेको छ नि ? जागरण अभियानमै पनि रामकुमारी झाँक्री, नरेन्द्र चौधरीलगायत केही नेताहरूलाई बोल्न नदिएको आरोप छ !

यस्तो छ, यो गुटबन्दीको कुनै प्रश्न नै होइन । कसले कहाँ बोल्दा अलि उपयुक्त हुन्छ भनेरमात्रै हो । अर्काे कुरा, एजेन्डा बोल्दा कतिपय केही व्यक्तिहरू दोहोरिनुभएको हुनसक्छ । नत्रभने हामीले त्यस्तो कसैलाई विभेद गरेका छैनौं ।

– पार्टी स्थापनाको दुई वर्षमै १०औं महाधिवेशन गर्दै हुनुहुन्छ । नयाँ पुस्ताले नेतृत्व पाउने सम्भावना छ कि अहिलेकै नेतृत्वलाई फेरि ल्याउने ?

नेतृत्व कस्तो हुनुपर्छ, कति बढेको हुनुपर्छ भन्ने कुरामा मेरो कहिल्यै पनि लगाव थिएन । मेरो लगाव त आजको आवश्यकतालाई सम्बोधन गर्ने कार्यक्रम नेतृत्वसँग छ कि छैन भन्ने सबैभन्दा ठूलो कुरा हो ।

आज हाम्रो महाधिवेशनमा को नेता हुन्छ भनेर कुरा गर्ने बेला नै होइन भन्छु म । अहिले हामी हाम्रो एजेण्डालाई स्थापित गर्ने पक्षमा छौं । मुलुककै लागि हाम्रो पार्टीले उठाएका एजेन्डाहरू महत्त्वपूर्ण छन् । पहिलो, हामी एजेन्डामा छलफल गरौं । त्यसले नै भोलिको हाम्रो नेतृत्व बनाउँछौं ।

– तपाईंहरू गठबन्धन बलियो बनाउने भन्दै गर्नुहुन्छ । उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्थानीय प्रशासनलाई पनि जानकारी नगराएरै नेपाली भूमिमा घुमिरहेका छन् । सरकारले कुनै चासो दिएको छैन । सरकार यति निरीह भएको हो ?

यो नालायकी हो । सरकारमात्र होइन, यो विषयमा कोही पनि नबोल्नु विडम्बना हो । यो हामीमाथि २०७२ सालमा लगाइएको नाकाबन्दीको तातो नेपालीको धड्कनमा कति छ छैन भनेर छाम्न आएको हो । यद्यपि यहाँको सत्ता पक्ष र प्रतिपक्षको चलखेलको राजनीति सबै कुराले गर्दा अलमल गरेको हुनसक्छ । यस्ता मुद्दामा मुलुक एक ठाउँमा उभिन्छ । यसको प्रतिवाद हुन्छ भन्ने म विश्वास गर्छु ।


प्रतिक्रिया

One thought on “पार्टीहरूमा भयङ्कर समस्या र जनतामा उकुसमुकुस देख्छु: घनश्याम भुसाल

  1. गजडिको गफ । दुई पैसाको काम नभएको चरम पदलोलुप, आवारा हो यो मान्छे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर