लुम्बिनी जाने दुई पुल ९ वर्षसम्म अलपत्र, ठेकेदार फेरिए काम फेरिएन – Nepal Press

लुम्बिनी जाने दुई पुल ९ वर्षसम्म अलपत्र, ठेकेदार फेरिए काम फेरिएन

रुपन्देही । देशकै मुख्य पर्यटकीय स्थल लुम्बिनी जाने मुख्य सडक भैरहवा-लुम्बिनी सडकको तिनाउ र दानव नदीमा निर्माणाधीन पुल ९ वर्षसम्म पनि अलपत्र अवस्थामा छन् ।

ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण दुई वर्षमा पूरा हुने गरी ठेक्का सम्झौता भएको ९ वर्ष बितिसक्दा पनि ९० मिटरका दुई वटा पुल अहिलेसम्म अलपत्र पर्दा पर्यटन व्यवसायी निराश छन् भने सेवाग्राही हैरान छन् ।

मुख्य सडकमा रहेका साँघुरा र जीर्ण पुलका कारण यात्रु तथा पर्यटकहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको र पर्यटकमा नकारात्मक सन्देश गइरहेको लुम्बिनीका पर्यटन व्यवसायी मिथुनमान श्रेष्ठ बताउँछन् ।

लुम्बिनी विकास कोषका अनुसार ९० प्रतिशत पर्यटकहरू भैरहवा–लुम्बिनी रोडका तीनै जीर्ण पुल हुँदै लुम्बिनी आउँछन् । जीर्ण र साँघुरा भएका एकतर्फी पुलका कारण जाममा परेको र यात्रा दिक्क लाग्दो भएको गुनासो अधिकांश पर्यटकले गर्ने गरेको विकास कोषका अधिकारीहरू बताउँछन् ।

पर्यटकीय मार्गका पुल लामो समय अलपत्र हुँदा स्थानीय,यातायात व्यवसायी,यात्रुसँगै बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकले सास्ती भोग्नुपरेको छ । हुलाकी राजमार्गमा पर्ने यी दुई पुल निर्माणमा सुरुदेखि नै भइरहेको लापरबाही र ढिलासुस्तीको नकारात्मक प्रभाव लुम्बिनीको पर्यटनमा परिरहेको छ ।

भैरहवा–लुम्बिनी सडक चारलेनमा स्तरोन्नति भइसके पनिसो खण्डमा पर्ने तिनाउ र दानव नदीमा रहेका पुराना पुल साँघुरा र जीर्ण छन् । जहाँ मालवाहक गाडीहरू सँगै पर्यटकका गाडीहरूको लामो समय जाम लाग्छ ।

भैरहवा–लुम्बिनी सडक खण्ड अन्तर्गत वनगाईस्थित बेथरी पुल निर्माणको लागि २०७१ सालमा ठेक्का लगाइएको हो । ०७३ सालसम्म निर्माण सम्पन्न गर्न निर्माण कम्पनी पप्पु बागमती जेभी कन्स्ट्रक्सनले ०७१ असार २५ गते सम्झौता गरेको थियो ।

तर पटक–पटक ठेकेदार कम्पनीलाई निर्देशन दिइए पनि बेवास्ता गरेपछि गत वर्ष उक्त ठेक्का तोडेर नयाँ ठेकेदार कम्पनी रमण रियल होम इन्फोटेक जेभी ललितपुरलाई दिएको हो ।

पुरानो ठेकेदारले गर्न नसेकेको बाँकी काम गर्नको लागि करिब १० करोड रुपैयाँमा ठेक्का दिए पनि अझै पूरा भएको छैन ।

पुल निर्माणको काम पूरा नभएपछि लुम्बिनी रोड फोर लेनको भए पनि उक्त पुल साँघुरो भएकाले सवारी साधन दोहोरो सञ्चालन हुन सक्दैनन् । जसले गर्दा सधैँ सवारी जाम हुने गरेको छ भने प्रहरीलाई गाडी पास गराउन सास्ती हुने गरेको छ ।

त्यहाँ रहका दुई वटा पुलको तिनाउ र डण्डा नदीको पुलको काम गर्ने ठेक्का पाएको रमण रियल होम इन्फोटेक जेभीले पाएको पुल हेर्ने जिम्मा विभागबाट पाएको हुलाकी सडक आयोजना कपिलवस्तुका प्रमुख विष्णुबाबु पाण्डेले बताए ।

उनले राष्ट्रिय महत्वको पुल भएकोले छिटो सम्पन्न गर्नको लागि आफूहरू आग्रह गरिरहेको बताए । उनले भने–‘छिटो सम्पन्न गर्नको लागि आग्रह गरेका छौं । यो वर्षभित्र तिनाउ पुल गर्ने त्यसपछि अर्को पुलको काम गर्ने ठेकेदार प्रतिबद्धता गरेको छ ।’

अहिले तिनाउ पुलको जग बसाल्ने र केही रडहरू खसाल्ने काम भएको छ । विगतको ठेकेदारको तुलनामा भने काम यो वाट धेरै भएको उनले बताए ।

भैरहवाबाट लुम्बिनी जाने सडक विस्तारसँगै पुल पनि निर्माण गर्नुपर्ने हो तर पुलको निर्माणको काम वर्षौँदेखि भएन । जसले गर्दा सडक विस्तारको प्रतिफलसमेत अनुभूति हुन सकेको नसको लुम्बिनीका होटेल व्यवसायी अक्रम खाँले बताए । उनले भने यो पुल हुँदै पर्यटन आउने गर्दछन् तर त्यही जाम हुने तथा अन्य समस्या हुने पर्यटकहरू सुरुमै नकारात्मक प्रभाव गर्ने बताए ।

उनले आफूहरूले सडक निर्माण भएपछि पुल छिटो बनाउनको पटक–पटक आग्रह गरे पनि नसुनेको बताए । लुम्बिनी विकास कोषका सूचना अधिकारी डा. हरिध्वज राई विमानस्थल हुँदै लुम्बिनी आउने पर्यटकहरू सडक बने पनि पुल समय नबन्दा जाम हुने, दिक्क लाग्ने गरेको गुनासो सुनाउने गरेको बताए ।

उनले यही रोड हुँदै लुम्बिनी आउने झन्डै ८० प्रतिशत पर्यटन आउने भएको छिटो समय बनाएको लागि सबैले दबाब दिनुपर्ने बताए ।

यी दुई पुल निर्माणका लागि २०७१ मा पप्पु/बाम्ती जेभीले ठेक्का पाएर सम्झौता अनुरूप २०७३ को असारमै पुल बनिसक्नु पर्ने भएपनि ६ वर्षसम्म अलपत्र पारेपछि ठेक्का सम्झौता रद्द गरिएको थियो ।

ती पुलका लागि २०७७ मा पुन, टेन्डर आव्हान गरियो । पप्पुले अलपत्र पारेका पुलको ठेक्का रमण जेभीले हात पार्यो । तर उसले पनि पप्पुकै जस्तो कार्यशैली देखाउँदै पुल निर्माणमा ढिलासुस्ती गरिरहेको छ । यी दुई पुलका लागि रमणसँग २०७८/९/२७ गते ठेक्का सम्झौता भएको हो ।

२०८०/९/२६ गते पुल निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । पप्पुले छोडेको बाँकी कामका लागि रमणले १० करोड ३० लाख ९६ हजारमा दुई वटा पुल निर्माणको जिम्मा पाएको हो । तर उसले पनि पुल निर्माणको काममा ढिलासुस्ती र लापरबाही गर्दा निर्माणले गति लिन सकेको छैन ।

सम्झौता अनुरूप यही वर्षको पुससम्ममा दुवै पुल तयार भई सञ्चालनमा आउनुपर्ने हो । तर हिउँदभर निर्माणको काम असरल्ल छोडेर गायब भएको ठेकेदार आर्थिक वर्ष सकिने बेलामा काममा फर्किएको थियो । झरी सुरु भएपछि बेथरीस्थित तिनाउ पुलको स्ल्याब ढलाइ गरेको हो । यसमा पनि एउटा स्याल ढलाइ गर्न बाँकी छ ।

ठेक्का हात पारेपछि झण्डै एक वर्ष कामै नगरेको रमणले पप्पुकै जस्तो कार्यशैली देखाएको आयोजनाका अधिकारीहरू बताउँछन् ।

पर्यटकीय महत्वको सडक त्यसमा पनि पुराना पुल जीर्ण र जोखिमयुक्त भएकाले यी दुई पुल तोकिएको समयमै सम्पन्न गर्न ताकेता गरिरहेको तर ठेकेदारको लापरबाहीले ढिलाइ भइरहेको हुलाकी सडक आयोजना कार्यालय कपिलवस्तुका सूचना अधिकृत ई.सुशील पौडेलले बताए ।

दानव नदीको पुल भने ‘अहिले पनि अलपत्र अवस्थामै छ । ठेक्का सम्झौता भएको दुई वर्ष सकिनै लाग्दा उसले दानव नदीको पुलका लागि दुई वटा पायलिङ मात्रै गरेको छ ।’

गत आर्थिक वर्षको अन्त्यतिर छिटपुट काम गरेर रकम निकासा लगेपछि लामो समय सम्पर्कविहीन भएको ठेकेदारलाई हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुले पटक–पटक चेतावनीसहितको पत्र काटेपनि अटेरी गरेपछि गत फागुनमा ठेक्का रद्द गर्ने चेतावनीसहितको पत्र काटेपछि बल्ल काममा फर्किएको थियो ।

‘पछिल्लो समय काम भएको छ, तिनाउमा लगातार काम भए अब एउटा स्लाब ढलान गर्न बाँकी छ, दशैंसम्म गाडी गुडाउन सकिन्छ कि भन्ने छ, पुससम्म म्याद छ, लगातार काम भए त दानवमा पनि सकिनुपर्ने हो, तर ठेकेदारमा भर पर्छ, पुससम्म नसकिए पनि यो आर्थिक मसान्तसम्म सकिएला’ इ. पौडेलले नेपाल प्रेससँग भने ।

खोला नदीमा पुलको ठेक्का लिएका ठेकेदारहरूले हिउँदमा कामै नगर्ने तर आर्थिक वर्षको अन्त्यतिर झरिमै भए पनि काम देखाएर भुक्तानी लिने प्रवृत्ति बढ्दै गएको जानकारहरू बताउँछन् ।

राजनीतिक संरक्षणकै कारण ठूला भनिएका निर्माण कम्पनीहरूमा जबाफदेहिता हराउँदै गएको र ठेकेदारको मनोमानी बढ्दा विकास निर्माणमा ढिलासुस्ती भइरहेको सम्बन्धित आयोजना कार्यालयका अधिकारीहरूको गुनासो छ ।


प्रतिक्रिया

One thought on “लुम्बिनी जाने दुई पुल ९ वर्षसम्म अलपत्र, ठेकेदार फेरिए काम फेरिएन

  1. ठेकेदारभन्दा पनि फटाहा कर्मचारी र नेता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर