पोर्चुगलको जितमा रोनाल्डोको दुई गोल, गोलीकाण्डपछि बेल्जियम र स्वीडेनबीचको खेल रोकियो
लन्डन । युरो कप छनोटअन्तर्गत सोमबार राती भएको खेलमा पोर्चुगलले बोस्निया एन्ड हर्जगोभिनालाई ४-० गोलले हराएको छ । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे ।
रोनाल्डोले ५ औँ मिनेटमा अग्रता दिलाएका थिए । २० औँ मिनेटमा उनैले अग्रता दोब्बर बनाएका थिए । ब्रुनो फर्नान्डेस, जोवा फेलिक्स र कान्सेलोले पनि एक एक गोल गरे ।
सिनियर अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको गोल संख्या एक सय २७ पुगेको छ । पोर्चुगल यसअघि नै युरो कपका लागि छनोट भइसकेको छ ।
सोमबार भएका अन्य खेलमा बेल्जियम र स्वीडेनबीच पहिलो हाफपछि खेल रोकिएको छ । ब्रसेल्समा दुई स्वीडिस नागरिकको गोली हानि हत्या भएपछि खेल रोकिएको हो ।
खेल सुरु हुनु अघि नै हत्या भए पनि सुरक्षाका कारणले खेल रोकिएको बताइएको छ ।