नेपालको विकास र समृद्धिमा विदेशी लगानी अभिप्रेरित गर्न एनआरएनलाई राष्ट्रपतिको आग्रह (भिडिओ)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विकास, समृद्धि र सुशासनतर्फ लैजान एनआरएनएको रणनीतिक भूमिका र दायित्वमा जोड दिएका छन् ।
एनआरएनएको ११औँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालीमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्न आग्रह गरे ।
उनले भने, ‘तपाईँहरू बसोबास गरेको मुलुकका लगानीकर्तालाई पनि नेपालमा लगानी गर्न अभिप्रेरित गर्नुहोस् । देशको आन्तरिक क्षेत्रमा लगानी वृद्धि गरी आर्थिक विकास गर्न सकेमात्र विकास र समृद्धि हुनसक्छ । नेपाल र विदेशमा बस्ने सबै नेपालीको पनि शीर उँचो हुन्छ । नेपाल समृद्ध नहुँदासम्म नेपालीको प्रतिष्ठा बढ्न सक्दैन ।’
एनआरएनएहरूले विदेशमा विकसित नयाँ प्रविधि नेपाल भित्र्याइ योगदान गर्न सक्ने बताए । नेपालको समग्र विकासमा थप भूमिका निर्वाह गर्न आग्रह गर्दै विश्वको जुन कुनामा बसे पनि नेपाली नेपाली हुने बताए।