विश्वकप छनोटमा आज नेपालले लाओससँग खेल्दै, अन्जनलाई कीर्तिमान तोड्ने अवसर
काठमाडौं। विश्वकप फुटबलको छनोट अन्तर्गत पहिलो चरणको अवे खेलमा नेपालले मंगलबार लाओसको मैदानमा प्रतिस्पर्धा गर्दै छ।
यसअघि नेपालको मैदानमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको थियो। अवे मैदानमा हुने खेलमा नेपाल जित्नैपर्ने दबाबमा रहेको छ। होम एन्ड अवेमा बढी गोल गर्ने टोली छनोटको दोस्रो चरणमा पुग्ने छ।
अन्तर्राष्ट्रिय फुटबलमा लाओसले हालसम्म नेपाललाई हराउन सकेको छैन। तर गत साता दशरथ रंगशालामा भएको खेलमा लाओसले स्तरीय प्रदर्शन गर्दै सुरुवाती अग्रता लिएको थियो। अन्जन विष्टले नेपालका लागि बराबरी गोल गरेका थिए।
नेपालका लागि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीका रुपमा अन्जनले हरि खड्का र निराजन रायमाझीको १३ गोलको कीर्तिमान पनि बराबरी गरेका थिए। अब एक गोल गरेमा उनले उक्त संयुक्त नाममा रहेको कीर्तिमान पनि तोड्नेछन्।
विश्वकप छनोटमा नेपाल यसअघि सन् २०१४ र २०२२ मा दोस्रो चरणसम्म पुगेको थियो। नेपालले गत वर्ष आयोजित विश्वकपका लागि भएको छनोटमा दोस्रो चरणमा पुगेर अस्ट्रेलिया, जोर्डन, कुवेतजस्ता टोलीसँग खेल्ने अवसर पाएको थियो।