भष्मे डनको टिमले पशुपति मन्दिरमा किन गर्‍याे क्षमा पूजा ? – Nepal Press

भष्मे डनको टिमले पशुपति मन्दिरमा किन गर्‍याे क्षमा पूजा ?

काठमाडाैं। चलचित्र ‘पशुपति प्रसाद २–भष्मे डन’ को निर्माण टिमले आज पशुपति मन्दिरमा क्षमा पूजा गरेको छ। दशैँको छेको पारी यहीँ फूलपाती अर्थात कार्तिक ४ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्रको टिमले  साेमबार  पशुपति मन्दिर गई भगवानसामु क्षमायाचना गरेको हो।

निर्देशक दिपेन्द्र के खनाल निर्देशित र खगेन्द्र लामिछाने निर्मित तथा लिखित चलचित्रमा आखिर त्यस्तो के भयो जसले टिमलाई मन्दिर पुगी माफी माग्न बाध्य बनायो ?

तीन अभिनेताहरु विपिन कार्की, सौगात मल्ल, रविन्द्रसिँह बाँनिया र दुई अभिनेत्रीहरु स्वस्तिमा खड्का  र वर्षा सिवाकोटी अभिनित चलचित्र ‘पशुपति प्रसाद २–भष्मे डन’ सात वर्ष अघि रिलिज भएको चलचित्र ‘पशुपति प्रसाद’ को दोस्रो संस्करण हो।

पशुपति मन्दिरबाटै चलचित्रको शभ–मूर्हुत गरिएको हो भने चलचित्रको अधिकांश छांंयाकन पनि पशुपति परिसरमै गरिएको छ। १३ दिन लगाएर ‘पशुपतिप्रसाद’को सुटिङ सिध्याएका निर्देशक खनालले दोस्रो संस्करणको छायांकन सकाउन भने ५६ दिन लगाए। सुटिङका लागि मात्रै खनालले ६९ दिन पशुपतिमा बिताए।

पशुपतिको ५६ दिनको बसाइमा जानीनजानी केही गल्ती गरेको भए सो गल्तीको माफ माग्न टिमले क्षमा पूजा राखेका दिपेन्द्र के खनालको भनाइ छ।

रिलिजपूर्व चलचित्रबारे कुराकानी गर्न आइतबार राखिएको अन्र्तर्किया कार्यक्रममा बोल्दै खनालले भने,‘हामीले थाहा पाएसम्म केही पनि गल्ती गरेका छैनौ तर ५६ दिनको बसाइमा जानी नजानी केही गल्ती हुन सक्छ। त्यसैले पुजा राखेका हौँ। नत्र सजकता त हामीले भरपुर अपनाएका छौं।’

‘पशुपति क्षेत्रमा छांयाकन गर्न गाह्रो छ। पहिला पशुपति प्रसादको समयमा टिम सानो थियो। कसैलाई छांयाकन हुँदैछ भन्ने थाहा थिएन। न त कसैले मतलव नै गर्नुहुन्थ्यो। त्यहीँ भएर अलि सजिलो थियो,’उनले थपे,‘यो पटक टिम अलि ठूलो थियो त्यहीँ माथि धेरैलाई छांयाकन हुँदैछ भन्ने थाहा पनि। सुरुको दिनमै मान्छेको भिडले हामी तर्सेका थियौ।’

५६ दिन लगाएर छांयाकन गरे पनि आफूहरुले पशुपति र त्यहाँ आउने भक्तजनहरुलाई असर पर्ने केही काम नगरेका खनालको भनाइ छ।

‘हामीले पहिलो सिरिजको छांयाकन गर्दा सजकता अपनाएका थियौं। अहिले झनै अपनाएका छौं। कसैलाई गाह्रो नपरोस् भनेर व्यक्तिगत सेक्युरिटी गार्ड राखेका थियौ,’उनले सुनाए,‘त्यहाँको सार्वजनिक शौचालय हामीले १२,१५ हजार खर्च गरेर सफा गरेका छौ। गन्ध नआओस भनेर जहिल्यै बास्ना आउने चिजहरु प्रयोग गर्थ्यौ। बरु अहिले त्यहाँको शौचालय गन्हाउँछ होला तर हामी बस्दा हामीले त्यति सफा राखेका थियौ।’

५६ दिन छांयाकन गर्दा कसैले पनि आएर आफ्नो टिमको कारणले गाह्रोे भएको गुनासो नगरको खनालले बताए।

‘किचन हामीले केही पर बनाएका थियौं। चाहेका भए हामीले माछामासु पकाएर खान सक्थ्यौ। तर एउटा आस्था भएका कारण ५६ दिनसम्म हामीले हाम्रो भान्सामा अण्डासम्म पकाएनौं। निर्माताको नजरबाट हेर्ने हो भने मासु पकाएर ख्वाउँदा धेरै सस्तो पर्थ्यो,’उनले जोडे,‘मासु ४०० रुपैया किलो थियो भने पनिर ८०० रुपैया किलो थियो। पनिर पकाउँदा त्यो सँगसँगै अरु तरकारी पनि पकाउनु पर्यो। फलफुल त्यतिकै। मासु पकाउँदा मासुले नै सबै टरिहाल्थ्यो। आस्था भएकाले हामीले नराम्रो केही गरेनौ। तर पनि केही गल्ती हुन सक्छ भनेर क्षमा पूजा राखेका हौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर