एकदिवसीय विश्वकप इतिहासका यी ८ स्तब्धपूर्ण नतिजा
काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकपमा गत आइतबार अफगानिस्तानले साविक विजेता इङ्ल्यान्डलाई स्तब्ध बनायो । २ सय ८५ रनको लक्ष्य पाएको इङ्ल्यान्ड २ सय १५ रनमा अलआउट भएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यो नतिजालाई एकदिवसीय विश्वकपका विभिन्न ८ स्तब्धपूर्ण नतिजाको सूचीमा राखेको छ ।
भारतविरुद्ध जिम्बावे, सन् १९९९
यो खेल जिम्बावेले जितेको थियो । पहिला ब्याटिङ गरेको जिम्बावेले २ सय ५३ रनको लक्ष्य दिएको थियो । फ्लावर दाजुभाइ एन्डी र ग्रान्टले राम्रो ब्याटिङ गरेका थिए । भारतले २१ वाइड र १६ नो बल फ्याँकेको थियो । भारत जिततर्फ अग्रसर भइरहेका बेला हेनरी ओलोङ्गाले जादुमयी बलिङ गरे । भारतसँग ३ विकेट बाँकी रहेको अवस्थामा उसलाई जितका लागि सात रन चाहिएको थियो । ओभर पनि केही बाँकी थियो । तर, ओलोङ्गाले एकै ओभरमा बाँकी तीन विकेट लिएर जिम्बावेलाई रोमान्चक जित दिलाए ।
इङ्ल्यान्डविरुद्ध आयरल्यान्ड, सन् २०११
यो खेल तत्कालिन एसोसिएट टोली आयरल्यान्डले जित्दै छिमेकी इङ्ल्यान्डलाई स्तब्ध बनाएको थियो । पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले ३ य २८ रनको विशाल लक्ष्य दिएको थियो । आयरल्यान्ड १११-५ को स्थितिमा पुगेपछि इङ्ल्यान्डको जित औपचारिकरूपमा मात्र बाँकी रहेको अनुमान गरिएको थियो । तर, केभिन ओबरायन इङ्ल्यान्डमाथी भारी बने । उनले ६३ बलमा एक सय १३ रन जोडेपछि इङ्ल्यान्ड ३ विकेटले पराजित भयो ।
पाकिस्तानविरुद्ध बंगलादेश, सन् १९९९
बंगलादेशले केवल २ सय २४ रनको लक्ष्य दिएपछि पाकिस्तानले सहजै खेल जित्ने अनुमान गरिएको थियो । पाकिस्तानका स्पीनर सकलाइन मुस्ताक एक्लैले ३५ रन खर्चिएर ५ विकेट लिएका थिए । तर, पाकिस्तान स्तब्ध भयो । ४२ रन जोड्दा ५ विकेट गुमाएको पाकिस्तानलाई वासिम अक्रम र अजर महमुदले सम्हाल्ने प्रयाश गरेपनि अन्तत ६२ रनले पराजित भयो ।
वेस्ट इन्डिजविरुद्ध केन्या, सन् १९९६
एक सय ६७ रनमा अलआउट भएर पनि केन्याले यो खेल जितेको थियो । ब्रायन लारा, रिची रिचार्डसन, कर्टली एम्ब्रुज र कर्टनी वाल्ससहितको वेस्ट इन्डिज केन्यासँग घुँडा टेक्यो । वेस्ट इन्डिज ९३ रनमै अलआउट भएको थियो ।
दक्षिण अफ्रिकाविरुद्ध जिम्बावे, सन् १९९९
जिम्बावेसँग भिड्नुअघि दक्षिण अफ्रिका सेमिफाइनल नजिक देखिएको थियो । पहिला ब्याटिङ गरेको जिम्बावेले २ सय ३४ रनको लक्ष्य दिएको थियो । तर, दक्षिण अफ्रिकाका माथिल्लोक्रमका ब्याट्सम्यानले खराब प्रदर्शन गरे । सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४०-६ को स्थितिमा पुगेको थियो । अन्तत: जिम्बावेले यो खेल ४८ रनले जितेर दक्षिण अफ्रिकालाई स्तब्ध बनाएको थियो ।
भारतविरुद्ध बंगलादेश, सन् २००६
तुलानात्मकरूपमा कमजोर प्रतिद्वन्द्वी बंगलादेशसँग भारत एक सय ९२ रनमा अलआउट भएको थियो । सौरभ गांगुली एक्लैले ६६ रन जोडेका थिए । यो खेल बंगलादेशले जितेर भारतलाई पहिलो चरणबाटै बिदा गरेको थियो । तामिम इकबाल र शाहरियार नाफिजले अर्धसतक बनाएका थिए । सकिब अल हसन पहिलोपटक विश्वकप खेल्दै थिए । बंगलादेश सुपर-८ पुगेको थियो ।
श्रीलंकाविरुद्ध केन्या, सन् २००३
सन् १९९६ को विश्व विजेता श्रीलंकालाई एसोसिएट केन्याले स्तब्ध बनाएको थियो । केन्याले केवल २ सय ११ रनको मात्र लक्ष्य दिएपनि श्रीलंकाले जित हात पार्न सकेन । केन्नेडी ओटेइनो एक्लैले ६० रन जोडेका थिए । कोलिन्स ओबुयाको घातक बलिङ अघि श्रीलंका ७१-२ को अवस्थामा पुगेको थियो । तर, ओबुयाले २४ रन खर्चिएर ५ विकेट लिएपछि श्रीलंका पराजित भयो ।